त्रिविका उपप्राध्यापक चलाउनेले दुई वर्ष आफू 'बेड रिडन'मा रहेको भन्दै अदालतलाई ढाँटेको खुलासा
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ७ आइतबार
1.3k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले दुई वर्ष आफू 'बेड रिडन'मा रहेको भन्दै झूटको खेती गरेको खुलेको छ । उनले काठमाडौँ जिल्ला अदालतमा आफू दुई वर्ष बेड रिडनमा रहेको तथा सो क्रममा असहाय हुँदा सहयोगी राखेको दाबी गर्दै सो बापत पनि क्षतिपूर्ति माग गरेका थिए ।
अदालतले चलाउनेको दाबी अनुसार आदेश गरे पनि विश्वविद्यालयमा रहेको तथ्यले भने उनको दाबी झूटो रहेको देखिएको छ । आफू दुई वर्ष मेडिसिटी अस्पतालको बेड रिडनमा रहेको दाबी गरे पनि विश्वविद्यालयमा उनी कार्यरत समाजशास्त्र विभागले उपलब्ध गराएको हाजिरीमा भने उनले घटना भएको समयमा नौ दिनमात्र बिदा लिएको देखिन्छ ।
समाजशास्त्र विभागले उपलब्ध गराएको विवरणअनुसार चलाउनेले ०७७ असोज २० देखि ३० गतेसम्म बिदा लिएको देखिन्छ । यही अवधिमा एक दिन सार्वजनिक बिदा परेको थियो ।
त्यसपछि उनले नियमित विश्वविद्यालयमा हाजिर भएर अध्यापन गर्दै तलब लिइरहेको देखिन्छ । ०७७ असोज २० गते चलाउनेमाथि आक्रमण भएको थियो । उनले कीर्तिपुरबाट नियमित मेडिसिटी १० दिन नै गएको भए पनि केही हजार ट्याक्सी खर्च लाग्ने देखिन्छ । तर एक लाख ८३ हजार रुपैयाँको ट्याक्सी चढेको, दुई वर्ष सहयोगी राखेको भनी क्षतिपूर्ति मागेका छन् ।
उसो त आफ्नो खुट्टा भाँचिएको दाबी गरेका चलाउनेले सोही दिन कीर्तिपुर प्रहरी परिसरमा आफैँ उपस्थित भएर जाहेरी दरखास्त दिएको देखिन्छ । तर उनले आफू जस्तो गम्भीर घाइते भएको दाबी गरेका छन् त्यसलाई उनकै कामले भने झूटो सावित गरेको छ ।
जुन जुन पक्षसँग त्रिवि परिसरमा घटना भए पनि त्यसको जिम्मेवार विश्वविद्यालय पदाधिकारी नै हुने भन्दै चलाउनेले विश्वविद्यालयसँग उपचार खर्च माग गरेका थिए । उनको मागअनुसार त्रिवि सभाले स्वीकृत गरेर ०७७ पुस २९ गते ३ लाख २९ हजार ८३२ रूपैयाँ ८१ पैसा चलाउनेलाई दिइसकेको छ ।
तर चलाउनेले काठमाडौँ जिल्ला अदालतमा भने उपचार खर्चबापत २८ लाख १७ हजार ५ सय ९३ रूपैयाँ दाबी गरे । जिल्ला अदालतले चलाउनेको दाबीअनुसार ठहर गरेपछि सो फैसलाविरूद्द चलाउने घटनामा संलग्न भनिएका विद्यार्थीहरू आफूहरूमाथि अन्याय भएको भन्दै उच्च अदालत गएका छन् ।
ती मध्येका एकले भने,'घटनाको १० दिनपछि विश्वविद्यालय गएको प्रष्ट छ । तर २ वर्ष बेड रिडन भनेर उनले अदालतलाई गुमराहमा राख्न खोजेका छन् । उपचारमा लागेको भन्दा बढी फर्जी बिल बनाएर दुःख दिने ढँगले चलाउने सर हिँडिरहनुभएको छ । उच्च अदालतबाट न्याय पाउनेमा आशावादी छौँ ।'
नेपालकै सुविधासम्पन्न अस्पताल मेडिसिटीमा उपचार गर्दा चलाउनेको खर्च ३ लाख २९ हजार ८ सय ३२ रुपैयाँ लागेको थियो । उनले दोस्रो सर्जरीका लागि ६० हजार ४०, ओपीडी फलोअपका नाममा २ लाख ८१ हजार १ सय ३६, तेस्रो सर्जरी गर्नुपर्ने भन्दै ११ लाख ५ सय ८५,उपचारमा सहयोगी खर्च ४ लाख ३२ हजार, सम्भावित अरू आम्दानी ४ लाख र ट्याक्सी खर्च १ लाख ८३ हजार लाग्ने दाबी गरेका छन् ।
तर उनको दोस्रो सर्जरी,तेस्रो सर्जरी घटनाको ५ वर्षसम्म पनि गर्नुपरेको छैन । उनको उपचारमा संलग्न चिकित्सकले दिएको बयानमा नै चलाउनेको स्वास्थ्य ठीक भएकाले कुनै सर्जरी गर्न आवश्यक नरहेको प्रष्ट उल्लेख छ ।
चलाउनेले पेश गरेको खर्चकोो कागजात र पेश गरेको तस्बिरमा पनि पीडक भनिएको पक्षले नक्कली भएको भन्दै त्यसमाथि छानबिन हुनुपर्ने माग गरेका छन् ।
उनले घटनाका कारण विश्वविद्यालयभन्दा बाहिर पाएको काम वापतको ४ लाख गुमाएको दाबी गरेका छन् । तर विश्वविद्यालय नियमावली २०५० अनुसार त्रिविका उपप्राध्यापकहरूले विश्वविद्यालय बाहिर काम गर्न पाउँदैनन् । यो दाबीले त उनीमाथि उल्टै विश्वविद्यालयले कारबाही गर्नुपर्ने हो ।
त्रिविकै एक पदाधिकारीले चलाउनेले गरेको झूटो दाबी देखेर आफू आश्चर्यमा परेको बताए । `निरन्तर उहाँ विश्वविद्यालय आइरहनुभएको छ । तर २ वर्ष असहाय भएँ भनेर सहयोगीसम्म राखेको दाबी सुन्दा उपप्राध्यापक पदको प्राज्ञिक व्यक्तित्वमाथि नै प्रश्न उठेको छ', उनले भने ।
चलाउनेका गतिविधि पहिलेबाटै प्राज्ञिक भन्दा पनि कार्यकर्ताजस्तै देखिने गरेको ती पदाधिकारीले सुनाए । चलाउने कुनै प्रतिस्पर्धाबाट नभई ०६५ सालमा माओवादीका हिमाल शर्मा त्रिविको स्ववियु सभापति हुँदा उनको सिफारिसमा पार्ट टाइम, करार हुँदै स्वत: स्थायी भएका उपप्राध्यापक हुन् ।
उसो त चलाउनेको मुद्दा उच्च अदालतमा विचाराधीन छ । तर उनी आफै अदालतमा रहेको मुद्दामा मिडियाबाजी गर्दै हिँडेका छन् ।