संविधान संशोधन समावेशितालाई थप सुदृढ गर्नका लागि - गृहमन्त्री लेखक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष ९ मंगलबार
458
Shares
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ गर्नका लागि हुने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधान संशोधनको विषय छलफलमा अघि बढाउन प्रारम्भ गरेको जानकारी दिए । उनले संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर मात्रै संविधान संशोधन हुने बताए ।
उनले संविधानमा समसामयिक रूपले परिमार्जन गर्ने तर संविधानको संशोधन कुनै एउटा पार्टी वा दुई वटा पार्टीको निर्णयले नहुने बताए । उनले केही दिनपछि नै नेपाली कांग्रेस र नेकपा एमालेले संयन्त्र बनाइ संविधान संशोधनको पहल शुरु गर्ने बताए । सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गरी विषयवस्तुहरूमा सहमति गरेर अनि मात्रै संविधान संशोधन हुने बताए ।
उनले भने, ‘हामीले संविधान संशोधनको विषयलाई छलफलमा अघि बढाउन प्रारम्भ गरिसकेका छौँ । हामी संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्नेछौँ । संविधानमा समसामयिक रूपले परिमार्जन गर्नेछौँ । तर संविधानको संशोधन कुनै एउटा पार्टी वा दुई वटा पार्टीको निर्णयले हुँदैन । हामी तत्कालै केही दिनपछि नेपाली कांग्रेस र नेकपा एमालेको जो दुई ठूला पार्टी सरकारमा छौँ । दुवैको एउटा संयुक्त, कार्यदल बनाएर पनि संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्दैछौँ । तर नेपाली कांग्रेस र नेकपा एमालेले मात्रै संविधान संशोधन गरेर संविधान संशोधन हुँदैन । दुई वटै पार्टी मिलेर गरेर पनि हुँदैन । हामी छलफल प्रारम्भ गर्दछौँ, संविधानको समीक्षा गर्छौँ । विषयवस्तुहरूको पहिचान गर्दछौँ । हामी चरणबद्ध रूपमा यसलाई अघि बढाउँछौँ । सबैभन्दा पहिला संविधानको १० वर्षको अभ्यासको समीक्षा गर्छौँ । विषयहरूको पहिचान गर्छौँ । अर्को चरणमा सबै राजनीतिक दलहरूसँग वार्ता र संवाद गर्छौँ । त्यसपछि विषयवस्तुहरूमा सहमति गरेर अनि मात्रै संविधान संशोधन हुन्छ । त्यसमा समय लाग्छ । भोलिको पर्सि संविधान संशोधन हुने होइन । संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होइन, थप सुदृढ बनाउने हो ।’
गृहमन्त्री लेखकले सरकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्नेकुरामा प्रतिबद्ध रहेको बताए । उनले संविधानको भावनाअनुसार दलितहरूका हक, अधिकारलाई सुनिश्चित गर्ने बताए ।