स्वास्थ्य बीमालाई व्यवस्थित बनाउँदैछौँ - मन्त्री पौडेल [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष १९ शुक्रबार
565
Shares
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य बीमाले स्वास्थ्य क्षेत्रमा राहत, सुविधा उपलब्ध गराएको भए पनि व्यवस्थित नरहेको बताएका छन् । शुक्रबार मन्त्रालयमा स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि मन्त्रालयद्वारा गठित सुधार समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै उनले वर्तमान बीमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिए पनि आवश्यकताअनुसार नभएको बताए ।
उनले आंशिक सुविधा मात्रैले नपुग्ने भएकाले मन्त्रालयले बीमाका बारेमा कार्यदल गठन गरी अध्ययन गरेको बताए । उनले लक्षित समूहले पूर्ण रूपमा लाभ लिने गरी स्वास्थ्य बीमा अघि बढाउन जरुरी रहेको बताए । स्वास्थ्य बीमालाई व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताए । नेपालको बीमा प्रणालीलाई व्यवस्थित गर्ने विषयगत डकुमेन्ट प्राप्त भएको उल्लेख गर्दै सबै क्षेत्र समेटिने विषय प्रतिवेदनमा रहेको विश्वास व्यक्त गरे ।
स्वास्थ्य मन्त्री पौडेलले भने, ‘खास गरी नेपालको स्वास्थ्य बीमाका बारेमा धेरै खाले विषयहरू हामीले देखिरहेका छौँ । खास गरी अहिलेको वर्तमान बीमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत, सुविधा उपलब्ध गराएको छ तर यो आंशिक मात्रै छ । आवश्यकताअनुसारको छैन । व्यवस्थित छैन । यो लक्षित समूहले पूर्ण रूपमा लाभ लिने गरी यो अघि बढ्न सकेको छैन । यिनै कुरालाई महसुस गरेर हामीले आम नागरिकलाई स्वास्थ्य क्षेत्रमा सुविधा उपलब्ध हुने गरी नागरिकको खल्तीबाट जुन खर्च भएको छ, त्यो खर्च नहुने स्थिति निर्माण गर्न स्वास्थ्य क्षेत्रमा सबैको पहुँच, युनिभर्सल कभरेजको नीतिअनुसार यसलाई व्यवस्थित गर्नको लागि हामीले काम अघि बढाउन खोजिरहेका थियौँ । त्यस सन्दर्भमा कस्ता नीति अवलम्बन गर्न, कसरी व्यवस्थित गर्न जरुरी छ, भन्नेबारेमा हामीलाई त्यसको पूर्ण विषयहरूको दस्ताबेज आवश्यक परेको थियो । त्यही आवश्यकताअनुसार यो कार्यदल बनाएर अब नेपालको बीमा प्रणालीलाई व्यवस्थित गर्ने विषयगत डकुमेन्ट प्राप्त गरेका छौँ । सबै क्षेत्र समेटिएको छ, यसभित्र भन्ने विश्वास छ । नागरिकलाई सुविधा हुने गरी कसरी विस्तार गर्न सकिन्छ भन्ने बारेमा हामी लाग्नेछौँ ।’