राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम हुनुपर्छ - प्रचण्ड [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २० शनिबार
889
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक तहमा स्वच्छता कायम हुन जरुरी रहेको बताएका छन् । उनले देशको स्थिति अलि गम्भीर र जटिल अवस्थामा रहेको बताए । उनले देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम हुनुपर्ने बताए । उनले राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्ने उल्लेख गरे । उनले राजनीति नीतिहरूको राजा भएकाले राजनीति सफा हुनुपर्ने बताए । सुशासन, सामाजिक न्याय र आर्थिक विकासको निम्ति सहकार्य गर्न आफू तयार रहेको बताए ।
उनले भने, ‘स्थिति अलिकति गम्भीर र जटिल छ भन्ने कुरा हो । देशमा राजनीतिक तहमा सबैभन्दा पहिला स्वच्छता कायम भएन, राजनीतिमा राम्रो नियत र निष्ठाका साथ काम गर्ने संस्कार बसेन भने सबैतिर त्यसको नकारात्मक असर पर्छ । राजनीति नीतिहरूको राजा हो भनिन्छ । त्यसकारण राजनीति सफा भएन, राजनीति सही नियतअनुसार अघि बढेन भने त्यसको नकारात्मक प्रभाव चौतर्फी पर्छ नै । हामीले त्यसको सफाइ गर्नपर्छ । त्यो सफाइ गर्नकै लागि नै मैले राजनीतिक नेतृत्व तहमा पनि लगातार संवाद नगरेको होइन, के सत्ता पक्ष, के प्रतिपक्ष । तपाईँहरूले रेकर्ड हेर्नुभयो भने यति धेरै सत्ता पक्ष र प्रतिपक्षका बैठक भएका छन् । यति धेरै सहमतिको प्रयास गरिएको छ । तर दुर्भाग्य अहिले सत्ता पक्ष र प्रतिपक्षको बीचमा त्यस खालको संवाद रोकिएको छ । त्यसलाई अगाडि बढाउने भन्दा प्रतिपक्ष कहिले कहिले भन्ने गरिन्छ । सत्तामा हुँदा एउटा र प्रतिपक्षमा हुँदा अर्को कुरा । हामी विगतदेखि यो कुरा देखेकै कुरा हो । सुशासन, सामाजिक न्याय र आर्थिक विकासको निम्ति म प्रधानमन्त्री हुँदा पनि त्यही कुरा भनेको थिएँ, सबै सेटिङ भत्काएर विकासको पहल गरेको थिएँ, अहिले प्रतिपक्षमा हुँदा पनि त्यही कुरा भनेको छु ।’
प्रचण्डले साना तथा मझौला उद्योगी, व्यवसायीहरूलाई स्थानीय सरकारको सिफारिसमा बिना धितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउनुपर्ने, व्यवसाय दर्ता प्रणाली एकद्वार प्रणालीबाट हुनुपर्ने, भन्सार दर समय सापेक्ष परिमार्जन गर्नुपर्ने, शहरी क्षेत्रमा उद्योग व्यापार व्यवसाय गर्नका लागि वैज्ञानिक घर भाडा कर लागू गर्नुपर्ने, खाता विवरणहरूको आधारमा कर कार्यालयबाट कर चुक्ता प्रमाणपत्र प्रदान गरेपश्चात् पुनरावलोकन हुन नहुने लगायतका महासङ्घका एजेन्डा समय सान्दर्भिक रहेको बताए ।