साहित्य पर्वमा अभि सुवेदीको प्रवचनदेखि सरुभक्तसँग भरत कोइरालाको भलाकुसारीसम्म
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २१ आइतबार
354
Shares
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १३ ले आयोजना गरेको साहित्य पर्व २०८१ विभिन्न साहित्यिक गतिविधि गर्दै सकिएको छ ।
साहित्य र संस्कृतिलाई प्रोत्साहन गर्न गरिएको कार्यक्रममा साहित्य संवाद, कविता, गीत, चित्रकला प्रदर्शनी गर्दैै सकिएको हो ।
डा अभि सुवेदीले वर्तमानले देखेको र भविष्यले खोजेको शीर्षकमा विद्वत् प्रवचन दिएर सुरु भएको साहित्य पर्व बाबा राणाको गीतसँगै सकिएको थियो ।
‘सबै शब्दहरु जीवनका रंगहरु बन्छन्’ नारासहित शुरु भएको पर्वमा प्रमुख वक्ता डा. अभि सुवेदीले पोखरा १३ मा जन्मिएका मियाँ र कास्कीका पहिलो पत्रकार जगन्नाथ सिग्देललगायतलाई सम्बोधनमै सम्झिएका थिए ।
डा. सुवेदीले राणाकालीन समयको साहित्य र भविष्यमा हुन सक्ने आर्टिफिसियल इन्टेलिजेन्ससम्मका विषय उठान गरे ।
पछिल्लो समय साहित्य र नेपाली राजनीतिको कुनै आकार नभएको विषय पनि डा. सुवेदीले उठाएका थिए । राजनीतिक भविष्यले पनि साहित्यलाई सिधैं असर पार्ने उनको तर्क थियो । भविष्यले चूनौति र समस्या दिने भएकाले त्यसलाई चिरेर अघि बढनु अर्को चूनौति रहेको उनले बताए । ‘राजनीतिज्ञहरुमा साहित्य प्रतिको चाख बढि भयो भने त्यो खतरनाक हुन्छ’, उनले भने ।
कार्यक्रमको पहिलो सेसनमा ‘समाज रुपान्तरणमा साहित्यको भूमिका’ विषयमा साहित्यकार सरुभक्तसँग पत्रकार भरत कोइरालाले भलाकुसारी गरेका थिए ।
उनीहरुले समाज परिवर्तनका लागि गीत, गजल, कविता, कथा जस्ता साहित्यका विधाले खेल्ने भूमिकाका बारेमा चर्चा गरेका थिए ।
‘वडा नम्बर १३ इतिहास, वर्तमान र भविष्य’ विषयमा पत्रकार प्रकाश ढकाल र विश्व सिग्देलले छलफल गरेका थिए ।
नारी स्वरहरुको सेसन साहित्यकार सरस्वती श्रेष्ठले सञ्चालन गरेकी थिइन् । जसमा काजल पराजुली, रजनी परियारलगायतले कविता वाचन र गायिका सलोमी गुरुङले गीत प्रस्तुत गरेकी थिइन् ।
‘लोककवि अलिमियाँका लोकगीत तथा तीर्थ श्रेष्ठका केही कविता’ शिर्षकमा पत्रकार शोभाकान्त सिग्देलले तीर्थ श्रेष्ठसँग बसेर स्व. मियाँलाई सम्झेका थिए । भने, अन्तिम सेसनमा पत्रकार दुर्गा अधिकारीले बाबा राणासँग ‘बाबा राणाको सांगितिक जीवनको यात्राँसँगको संवाद गरेका गरेकी थिइन् ।
कार्यक्रममा साहित्यिक गतिविधीसँगै र्याप गीत, लोकगीतसमेत समेटिएको थियो । कार्यक्रमस्थल नजिकै वडाभित्रका कलाकारहरुको चित्रकला प्रदर्शनी पनि गरिएको थियो ।
पोखरा १३ का वडाध्यक्ष किरण बरालले आफ्नो पूर्ववत घोषणा र प्रतिवद्धता अनुरुप साहित्य पर्व गर्न गरिएको सुनाए । अर्को वर्ष यस कार्यक्रमलाई अझ राम्रो ढंगबाट निरन्तरता दिने उनले बताए ।