तिब्बत केन्द्रविन्दू भएको भूकम्पबाट नेपालमा कति भयो क्षति ?
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २३ मंगलबार
760
Shares
काठमाडौँ । चीनको तिब्बतस्थित सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान गएको भूकम्पको धक्का काठमाडौँसहित नेपालको पूर्वी भेगमा समेत महसुस गरिएको छ । हालसम्म प्राप्त विवरणअनुसार भूकम्पबाट सामान्य बाहेक ठूलो क्षति नभएको पाइएको छ ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले भूकम्पका कारण ठूलो क्षति नभएको जानकारी दिए । “सेनाको संयन्त्रबाट प्राप्त सूचनाअनुसार मुलुकभर ठूलो धनजनको क्षति नभएको सूचना प्राप्त भएको छ,” उनले भने ।
यस्तै सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले भूकम्पका कारण सामान्य क्षति भएको बताए । “केही ठाउँमा माटोले बनेका केही घरको गारो चर्किएको पाइएको छ,” उनले भने, “यद्यपि क्षतिको विस्तृत विवरण आउन भने बाँकी छ ।”
नेपाल प्रहरीका प्रवक्ता विश्व अधिकारीले भूकम्पबाट हालसम्म मानवीय क्षति भएको कुनै पनि सूचना प्राप्त नभएको जानकारी दिए ।
चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्गयी काउन्टी केन्द्र भएर आज बिहान ६ बजेर ५० मिनेट जाँदा ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।
नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल–चीन सीमामा पर्ने उक्त स्थानमा ७ रेक्टर स्केलको भूकम्प गएको हो ।