कुमारी बैंक र एनएचसीएलबीच अन्तरदेशीय भुक्तानी सहकार्य
हाम्रा कुरा
प्रकाशित २०८१ पुष २७ शनिबार
498
Shares
काठमाडौँ । कुमारी बैंक लिमिटेडले नयाँ डिजिटल सेवाको थालनी गरेको छ । यस बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनएचसीएल) सँगको साझेदारीमा एलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुका लागि नेपाल पे क्यूआर मार्फत भुक्तानी गर्न सक्ने सुविधा ल्याएको छ ।
यो सेवा मार्फत एलिपे प्लस प्रयोगकर्ताले कुमारी बैंकको नेपाल पे क्यूआर रहेका व्यवसायहरूमा सहज र सुरक्षित रूपमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।
एलिपे प्लस नेटवर्कमा आबद्ध प्रयोगकर्ताहरुलाई लक्षित गर्दै यो सेवा सुरक्षित र सहज क्रस–बोर्डर भुक्तानीको रूपमा स्थापित हुने बिश्वास बैंकले लिएको छ ।
यस सम्झौतासँगै नेपालमा उपलब्ध नेपाल पे क्यूआर र यसको इन्टरअपरेबल क्यूआरलाई एलिपे प्लस नेटवर्कका सदस्यहरूले सजिलै स्क्यान गरेर अन्तरदेशीय भुक्तानी गर्न सक्नेछन् ।
यो सुविधाले चीन, हङकङ, इन्डोनेसिया, इटाली, मलेसिया, फिलिपिन्स, मंगोलिया, थाइल्यान्ड, दक्षिण कोरिया, स्वीडेन र सिंगापुर लगायतका विभिन्न देशबाट नेपाल भ्रमणमा आएका पर्यटकलाई आफ्नो स्थानीय मोबाइल वालेट वा भुक्तानी प्रणालीमार्फत नेपालभर नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सजिलो बनाउनेछ भने, नेपाल पे क्यूआर मार्फत व्यवसायीहरूले १४ अन्तर्राष्ट्रिय ई–वालेट र मोबाइल बैंकिङ एप्स जस्तै एलिपे, एलिपे एचके, तिनाबा, एमपे, टच’एन गो वालेट, माइपीबी, हाइपे, जीक्यास, चाङ्गी पे, ओसीबीसी डिजिटल, काकाओ नभेर पे, टस पे र ट्रु मनिबाट भुक्तानी स्वीकार गर्न सक्नेछन् ।
साथै बैंकले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सशक्त बनाउने र आधुनिक बैंकिङ्गको अनुभव प्रदान गर्ने उद्देश्यले यस किसिमका नवीन पहलहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ इकाइहरुमार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको जनाएको छ ।
आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जानेसमेत बैंकले प्रतिबद्धता जनाएको छ ।