जनतालाई सुखी र खुशी बनाउन तीन तहकै सरकारले काम गरिरहेका छन् : राष्ट्रपति
हाम्रा कुरा
प्रकाशित २०८१ माघ १६ बुधबार
491
Shares
तनहुँ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली जनतालाई खुशी र सुखी बनाउन तीन तहकै सरकारले काम गरिरहेको बताएका छन् ।
तनहुँको व्यास नगरपालिका-८ पुलिमराङस्थित शहीद पार्कमा आयोजित कार्यक्रममा राष्ट्रपतिले सङ्घीय, प्रदेश र स्थानीय सरकार जनताको खुसीका लागि विकासको काममा जुटेको उल्लेख गरे ।
नेपाल चाँडै उन्नतिको बाटोमा अगाडि बढ्ने बताउँदै राष्ट्रपतिले भने, “अरू मुलुक जस्तै नेपालको पनि अब प्रगति हुन्छ, नेपालमा केही भएन भनेर निराशा व्यक्त गर्ने होइन, अब सबै मिलेर नेपाल बनाउने बेला आएको छ ।”
उनले कृषि क्रान्ति गरेर उद्योग व्यवसाय स्थापना गरी गाउँमा नै रोजगारी र आम्दानी गराउनेतर्फ सरकार लागिपरेको उल्लेख गरे ।
राष्ट्रपतिले शहीदको बलिदानीका कारण नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएकाले सहिदले देखाएको बाटो भुल्न नहुने बताए ।
नेपाली जनताको स्वतन्त्रता र प्रजातन्त्र स्थापनाका लागि शहीदको भूमिका अतुलनीय रहेको उनको भनाइ थियो ।
उनले भने, “प्रजातन्त्र स्थापनाका लागि पुलिमराङको पनि महत्त्वपूर्ण भूमिका छ, विसं २००७ को क्रान्ति होस् या २०१८ सालको क्रान्तिमा यहाँका शहीदको बलिदानी महत्त्वपूर्ण रह्यो, पुलिमराङ शहीदको भूमि हो ।”
राष्ट्रपतिले पुलिमराङसम्म आउने बाटो छिट्टै कालोपत्र हुने बताए ।