काठमाडौँ । माघमा गरिने श्रीस्वस्थानी व्रत र पूजा आराधनाको विशेष महत्व छ । श्रीस्वस्थानी भनेको को हो भन्ने प्रश्न पनि उठ्ने गरेकामा गौरीमाताकै अर्को स्वरूप भएको धर्मशास्त्रविद्ले बताएका छन् । स्वस्थानीमा वर्णन गरिएका तीर्थस्थल नेपालकै छन् ।
धर्मशास्त्रविद् तोयराज नेपाल स्वस्थानी परमेश्वरी भनेकी पनि भगवती गौरीमाताको नै एउटा स्वरूप भएको बताउँछन् । त्यसैकारण सदाशिवका साथमा स्वस्थानीको पूजा गर्नु भनेको शिवपार्वतीकै पूजा गरेको भनी विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको जानकारी उनले दिए ।
वेद, शिवपुराण, देवीपुराण, देवीभागवत, महाभारत आदि विभिन्न ग्रन्थमा दक्षपुत्री सतीदेवी नै शिवकी प्रथम पत्नी भन्ने बताइएको छ । कालिकापुराण, बृहद्धर्मपुराण, त्रिपुरारहस्य आदि ग्रन्थका अनुसार सृष्टिका आदिमा ज्ञानस्वरूप परमेश्वर एकमात्र थिए । परमेश्वरलाई क्रीडा गर्ने इच्छाशक्ति प्रकट भएपछि परमेश्वरकी पराशक्ति प्रकृति अलग भइन् ।
परमपुरूष शिव र प्रकृतिस्वरूपिणी भगवती गौरी सर्वप्रथम स्वयं दिव्यरूपमा उत्पन्न भएका थिए । अनि गौरी नै शिवकी प्रथम शक्तिका रूपमा शिवका साथमा रही विभिन्न लीला गर्दै रहेकी थिइन् । कालान्तरमा दक्षप्रजापतिले भगवती गौरीको तपस्या आराधना गर्न लागे । त्यसैबेला परमपुरूष शिव अन्तर्धान भए । अनि भगवती गौरीले सबैतिर खोज्दा शिवलाई नभेटी दुःखित भएर गौरीले पनि आफ्नो स्वरूप लुप्त गरेर आकाशस्वरूपिणी भएर रहिन् । यस विषयलाई शास्त्रीय ग्रन्थमा यसरी उल्लेख गरिएको छ–
दक्षप्रजापतिले भगवती गौरीको धेरै दिनसम्म ठूलो तपस्या गरे । तपस्याबाट खुसी भएकी गगनस्वरूपा गौरीले वर माग भन्दा दक्षले हजुर मेरी छोरी भएर मेरा घरमा जन्म लिइदिनुहोस् भन्ने अनुरोध गरे । गौरीले तथास्तु भनी वरदान दिए । गौरी दक्षका घरमा सतीदेवी नामले जन्म लिएर शिवसँग विवाह गरेको हुँदा शिवकी दोस्री पत्नी भएर केही समय विहार गरिन् ।
दक्षले शिवनिन्दा गरेको सहन नसकी यज्ञकुण्डमा हाम्फाली सतीदेवीले प्रामण त्याग गरिन् । आफ्ना पतिको निन्दा सहन नसकी पतिप्रति अत्यन्त श्रद्धाभाव राखेर पतिका लागि सतीदेवीले प्राण त्याग गरेको हुँदा सती शब्द पतिप्रति श्रद्धा एवं भक्ति गर्ने पतिव्रता महिलामा रूढ भएर अहिलेसम्म पनि पतिव्रता नारीलाई सती भन्ने परम्परा प्रचलित बनेको धर्मशास्त्रविद् नेपाल बताउँछन् ।
सती जानु भनेको पनि पतिको वियोग सहन नसकी प्राण त्याग गर्नु हो । यसरी यज्ञकुण्डमा प्राण त्याग गरेपछि हिमालयकी छोरी पार्वती भएर जन्म लिइन र शिवकी तेस्री श्रीमतीका रूपमा शिवसँग विवाह गरिन् । परमपुरूष शिव र शिवकी शक्तिरूपा उनै गौरी नै विभिन्न समयमा विभिन्न रूपले जन्म लिएर कहिले मधुकैटभ विनाशकारिणी, काहिले योगमाया, कहिले महिषासुरमर्दिनी, कहिले शुम्भनिशुम्भविनाशिनी आदि विभिन्न रूप लिएर लोककल्याणका लागि विभिन्न लीला गरेको विषय विभिन्न पुराणमा उल्लेख गरिएको छ ।
श्रीस्वस्थानीको नाममन्त्रले श्रद्धा एवं भक्तिपूर्वक पूजा गर्दा मनुष्यका विभिन्न पापनाश भई सम्पूर्ण मनोकामना पूर्ण हुने व्याख्या पनि शास्त्रीय ग्रन्थमा गरिएको छ । सबैले आफ्ना शक्तिअनुसार स्वस्थानीको व्रत गरी पूजा आराधना गर्दा सबैको कल्याण हुने विषय पनि धर्मशास्त्रमा उल्लेख गरिएको छ ।