हर सहरभरि
छायो कस्तो कहर
भयो के है विधाता....!
किन स्थिर देखिन्छन्
प्रत्येक रूखका पातहरू
के भैरहेछ यहाँ हे पिता
कागजका आयातित फूलहरू
घरघरमा सजाइएको देखिन थाल्यो
सायद चित्त दुख्यो वाटिकाका फूलहरूको
अब उनीहरूले पनि
आफ्ना रूप फेर्न चाहे
रूखहरू आफैँ चराचुरूङ्गी
बन्न मन पराउँछन्
प्रत्येक घरका तन्नेरी जमात जस्तै
मुग्लान प्यारो.....!
माटोका बोटविरूवाहरूले पनि
आफैँ भन्न थालेका छन्
हिमाल, पहाड, उपत्यका
प्रत्येक कान्ला कान्ला
कोही पनि केही बोल्दैनन्
सायद सूर्य देवता आफैँ रथ हाँकेर
अन्जान टापु मै बस्न
मन पराउन थालेका छन् ।