कुमारी बैङ्कको अगुवाइमा ९० मेगावाटको मर्स्याङ्दी नदी जलविद्युत्मा लगानी जुट्यो
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २० आइतबार
702
Shares
काठमाडौँ। गोरखा जिल्लाको पालुङ टार नगरपालिका, लमजुङ जिल्लाको राईनास नगरपालिका र तनहुँ जिल्लाको भानु नगरपालिका भएर बग्ने मर्स्याङ्दी नदीमा एमए पावर प्रालिले निर्माण गर्ने ९० मेगावाटको मर्स्याङ्दी नदी अर्ध जलाशययुक्त जलविद्युत् आयोजनामा कुमारी बैक लिमिटेडको अगुवाइमा २०८१ माघ १८ गते लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ।
लगानी सम्झौता एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्य र कुमारी बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालको उपस्थितिमा कुमारी बैक लिमिटेड, प्रभु बैक लिमिटेड, सिद्धार्थ बैक लिमिटेड, कृषि विकास बैक लिमिटेड लगायतका विभिन्न बैङ्क तथा वित्तीय संस्थाहरूको रु. १५ अर्ब १८ करोड ७५ लाखको संयुक्त लगानीमा आयोजना निर्माण हुने गरी ऋण सम्झौता सम्पन्न भएको छ।
स्वपुँजी लगानी तर्फ अनुप आचार्य, हरिबाबु न्यौपाने र दीपक बरालको हुनेछ। साथै डोल्मा इम्पाक्ट फण्डले पनि कम्पनीमा ४९ प्रतिशत सम्म स्वपुँजी लगानी गर्न पूर्व आवश्यक उचित परिश्रम अध्ययन अगाडी बढाएको कम्पनीका अध्यक्षले बताएका छन्। यही समूहबाट हाल सेती खोला हाइड्रोपावर लिमिटेड मार्फत सेती खोला जलविद्युत आयोजना २२ मेवा निर्माण कार्य अन्तिम चरणमा रहेको छ।
आयोजनाको नेपाल बिद्युत् प्राधिकरण सँग २०८० साल कार्तिक ०१ गते बिद्युत् खरिद बिक्री सम्झौता सम्पन्न भई व्यापारिक उत्पादन सुरु गर्नु पर्ने मिति (आरसीओडी) २०८६ साल वैशाख २२ रहेको छ।
आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (ईआईए) स्वीकृतिका लागी सम्बन्धित निकायमा पेस भएको कम्पनीका अध्यक्षले बताएका छन्।
आयोजनाबाट उत्पादित विद्युत् विद्युत् गृहदेखि २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत ११.६ किलोमिटर दूरीमा नेपाल बिद्युत् प्राधिकरणको मार्किचोक सब–स्टेसनमा २२०-१३२ केभी मा जोडिने छ।