पुस्तक अंशः मृत्युलाई देख्नेले लेखेका छैनन्, लेख्नेले देखेका छैनन्
साहित्यमा मृत्यु चिन्तनका विविध पक्ष
बद्रीप्रसाद ढकाल,
प्रकाशित २०८१ माघ २६ शनिबार
563
Shares
यस्य ब्रह्म च क्षत्रं च उभे भवत ओदानः।
मृत्र्युस्योपसेचनं क इत्था वेद यत्र सः ।।
दैनिक रूपमा गरिएको भोजन झैं मृत्युलाई पनि मान्छेले सजिलै खान्छ अर्थात् भोग्दछ ।
आत्मतत्व बुझिसकेपछि विषयभोग रहन्न तर अल्पज्ञ हुँदा सांसारिक विषयभोग र काममा निरन्तर लागिरहन्छ । जसले केही बुझ्दैन ती मृत्युको पाशोमा पर्दछन् ।
यदेवेह तदमुत्र यदमुत्र तदन्विह
मृत्योः स मृत्युमाप्नोति य इह नानेव पश्यति ।।
तत्वज्ञानबाट परलोकको ज्ञान हुन्छ । जुन तत्व बाह्य जगत्मा छ आन्तरिक जगत्मा त्यही छ ।
जसले आत्मालाई बुझ्दैन त्यसले मृत्युबाट मृत्यु प्राप्त गर्दछ । अर्थात् जन्ममृत्युको दुश्चक्रमा परेर घुमिरहन्छ । ब्रह्मज्ञानबाट मृत्युबोध भएपछि सबै सामान्य बन्दछन् । आत्मा र शरीरको भेदबाट मृत्युमाथि विजय हुन्छ । अर्थात् जन्म मृत्युको ज्ञान हुन्छ ।
मृत्यु भनेको मर्नु, कालले लानु एउटै कुरो हो । यसलाई कोशकारहरूले यसरी अर्थ गरेका छन् । काल, यम, मृत्युका देवता, मरण, नियति, देहावसान, निधन, मरण, आँखा पल्टाउनु, यमराज, मृति, सास जानु, प्राण जानु, खुस्कनु, खस्नु, मास बेसाउन जानु, जिब्रो चपाउनु, स्वर्गे हुनु, सुइँकनु, बित्नु, ब्रह्मलीन हुनु, नरहनु, जानु, खुत्रुक्क हुनु, माये खानु, ब्रह्मा, विष्णु, माया, काली, चपरीमुनिको बास हुनु, खरानी बन्नु, हावा खानु, परलोक जानु, यमराजको पाहुना हुनु, जिब्रो टोक्नु, पिण्ड खानु, परमात्माको संहारकारी रूप, सृष्टि संहारक रुद्र–कृतान्त, महाकाल, शनि आदि मृत्युका पर्याय हुन् ।
अमरकोषले मृत्यु (मर्ना) को दश नाम दिएको छ– पञ्चतत्व, कालधर्म, दिष्टान्त, प्रलय, अत्यय, अन्त, नाश, मृत्यु, मरण र निधन । (द्वितीय काण्ड, क्षत्रिय वर्ग ८) हलायुधकोशले ‘मृत्युः’ को अर्थ यसरी दिएको छ– पुं–क्ली (म्रियते अस्मादिति । मृ+भुजिमृद्भ्यां युक्त्युकौ इति त्युक्) प्राणवियोगः; मरण; मृतम् मृति; नैधनम्; संस्था; कालः; परलोकगमनं; दीर्घनिद्रा; निमीलनम्; अस्तम्; अवसानं, भूमिलाभः; नियातः; विलयः; आत्ययिकम्; अप्ययः । क्षीणस्य यस्य क्षुत्तृष्णे हृद्यैर्मिष्टैर्हितैस्तथा ।
न शाम्यतोऽन्नपानैश्च तस्य मृत्युरूपस्थितः ।।
प्रवाहिका शिरः शूलः कोष्ठशूलं च दारुणम् ।
पिपासा बलहानिश्च तस्य मृत्यरूपस्थितः ।। (सुश्रुत)
सुश्रुतले मृत्यु के हो भन्ने कुरा त बताएनन् तर मृत्यु नजिकै आएको मुमूर्षमाण (मर्न लागेको मान्छे) को अवस्था, स्थिति, लक्षण कस्तो हुन्छ भन्ने कुराको जानकारी दिएका छन् ।
मृत्युको नजिक पुगेको मानिसको अवस्थालाई यसरी प्रस्तुत गरिएको छः
तिर्खा लाग्दैन, भोक लाग्दैन आदि र कपाल, पेट आदि ज्यादा दुख्छ, शरीर लत्रक्क भएर गल्छ– यस्ता लक्षण भए मृत्यु नजिक आएछ भनेर जान्नुपर्छ इत्यादि । तमेव विदित्वाति मृत्युमेति
(शुक्लयजुर्वेद ३१।१८, श्वेताश्वतरोपनिषद् ३।८, ६।१५)
(त्यो ब्रह्मवस्तुलाई जानेपछि मात्र मृत्युलाई उल्लङ्घन गर्न सकिन्छ ।) मृत्योःस मृत्युमाप्नोति य इह नानेव पश्यति (कठोपनिषद् २।१।१०)
(ब्रह्ममा नानात्वको कल्पना गर्ने व्यक्ति मृत्युबाट मृत्युमा जान्छ ।) भीषास्माद्वातः पवते । भीषोदेति सूर्यः । भीषास्मादग्निश्चन्द्रश्च । मृत्युर्धावति पञ्चम इति । (तैत्तिरीयोपनिषद् २।८।१)
(त्यही परब्रह्म परमेश्वरका डरले सूर्य उदाउँछन्, इन्द्र, अग्नि र पाँचौँ मृत्यु उनकै डरले आ–आफ्ना कार्यमा प्रवृत्त
हुन्छन् ।) प्रमादं वै मृत्युः (सनत्सुजातीय १।४) प्रमाद नै मृत्यु हो । मृत्योः पदं योपयन्त एतद्राघीय आयुः प्रतरं दधानाः ।
आसीना मृत्यु नुदता सधस्थेऽथ जीवासो विदथमा वदेम ।।३०।।
(अथर्ववेद संहिता, काण्ड १२, सूक्त २, यक्ष्मारोगनाशनसूक्त)
मृत्युबाट छुटकारा पाउन मृत्युबोध अर्थात् विद्या प्राप्त गरेरमात्र सम्भव छ ।
(मृत्युको विनाशकारी चरणक्रमलाई रोकेर धेरै लामो र श्रेष्ठ आयुलाई धारण गरौं । यस क्रममा बसेर मृत्युलाई पछाडि धकेलिदिऔं । यस्तो जीवन बाँच्यौँ भने आफ्नो शरीर, घर या क्षेत्ररूपी आवासस्थलमा विशिष्ट प्रयोग (यज्ञादि) को कुरा भन्न सक्तछौँ ।)
ऋग्वेद तथा अन्य वेद एवं पुराण आदि धार्मिक र आध्यात्मिक शास्त्रमा मृत्युका विषयमा व्यापक चर्चा पाइन्छ । मृत्युलाई त हटाउन सकिँदैन तर मृत्युको भयलाई निर्मूल पार्न भने सकिन्छ ।
वैदिक साहित्यमा एक सय एक प्रकारका मृत्यु र त्यसबाट हुने डरको वयान गरिएको छ । वृद्धावस्था, रुग्णावस्था, दरिद्रावस्था, अज्ञानावस्था, पराजितावस्था, पद–प्रतिष्ठा आदिबाट च्युत भएको अवस्था, शत्रुको घेराभित्र परेको अवस्था, शारीरिक, आर्थिक, मानसिक, नैतिक, धार्मिक आदि विविध कारणले भएको चिन्तितावस्थाले पनि मानिसलाई मृत्युको नजिक पुर्याएको हुन्छ ।
मृत्यु भनेको अन्धतामिश्र हो । पञ्चपर्वा नामक अविद्याका पाँच भेदमध्ये मृत्यु पनि एक हो भनी भागवतको ३१२०÷१८ मा उल्लेख गरिएको छ । बाँच्ने आशा (जिजीविषा) प्राणीमात्रको स्वभाव हो, प्रकृति हो ।
मरणधर्मा, प्रत्येक प्राणी (प्राणधारण गर्ने जीव) बाँचिरहने इच्छा गर्छ । यसको पनि कारण छ, त्यो के हो भने ऊ परब्रह्म परमात्माको एक अभिन्न अङ्ग भएको हुनाले मर्न चाहँदैन– अमर भएको हुनाले नित्य र मुक्त भएको ठान्दछ ।
अनि परमात्मस्वरूप नै भएको हुनाले मर्न नचाहेको, नमर्न चाहेको हो । करले नै धारण गरे तापनि सय वर्षसम्म बाँच्ने इच्छा गरोस् भनेर श्रुतिले सन्देश, आदेश दिएको छ । सय वर्षसम्म बाँच्नु त स्वाभाविक हो–
पश्येम शरद् शतम् ।
जिजीविषेच्छतं समाः (ईशावास्योपनिषद् २)
सय वर्षसम्म किन बाँच्ने त भन्दा अब कहिल्यै नमर्नका लागि अथवा केटी नजन्मनका लागि । उपनिषद्को उद्घोषको आशय हो– ज्ञानार्जन गरी आफ्नो स्वरूपभूत आत्मामा प्राप्त होऊन् मनुष्य भनेर, त्यसका लागि पुरुषार्थ गरून् भनेर भनिएको हो । ।
कर्मको अनुष्ठानले मृत्युलाई पार गरेर, ज्ञानको अभ्यासले अमृतत्व प्राप्त गर्दछन् । कर्मद्वारा चित्त शुद्ध गरी ज्ञानद्वारा मोक्ष प्राप्त गर्नु– हाम्रो पुरुषार्थ हो । मृत्युको एउटै कारण अज्ञान हो । आफू शरीर होइन भनी निष्कामकर्म सम्पादन गर्ने र आफू त ब्रह्म हो भनी ज्ञानाभ्यास गर्ने, ब्रह्मनिष्ठामा रहने हो भने मृत्युले छुन सक्दैन । यति भए मृत्युलाई जितिन्छ र मोक्षलाभ गरिन्छ ।
न कर्मणा न प्रजया धनेन त्यागेनैके अमृतत्वमानशुः (कैवल्योपनिषद् २)
कर्मले, सन्तानले, धनले होइन बरू त्यागले नै अमृतत्त्व प्राप्त हुन्छ ।
विभिन्न प्रकारका कर्महरूको अनुष्ठान गरेर, सन्तानहरू बढाएर अथवा खुब धन–सम्पत्ति जम्मा गरेर पनि अज्ञानको नाश हुँदैन, केवल ब्रह्मज्ञानले मात्र अज्ञान नाश गर्छ । अज्ञान नष्ट भए मृत्युको भय समाप्त हुन्छ ।
न तस्य रोगो न जरा न मृत्युः प्राप्तस्य योगाग्निमयं शरीरम् ।। (श्वेताश्वतरोपनिषद् २।१२)
योगाग्निमय शरीरलाई प्राप्त गर्ने साधकलाई न त रोगले सताउँछ, न त उसलाई बुढ्याइँले चिन्तित बनाउँछ, न त त्यस्ता साधकको मृत्यु नै हुन्छ । अतः चाहे ज्ञानाग्निले शरीर जलाऊ चाहे योगाग्निले शरीरलाई भस्म बनाऊ – मूल कुरो हो शरीरदेखि भिन्न रूपमा आफूलाई स्वीकार गर्नुपर्छ । शरीर अर्कै हो, आफू आफैं हो– यही बुझ्नुपर्ने कुरो हो । बुझ्यो कि रोग, बुढ्याइँ र मृत्युलाई जित्न सकिन्छ ।
तमेव विदित्वाति मृत्युमेति नान्यः पन्था विद्यतेऽयनाय ।। (श्वेताश्वतरोपनिषद् ३।८; ६।१५)
ब्रह्मवस्तुलाई जानेपछि नै मृत्युलाई उल्लङ्घन गर्दछन् । परमपद प्राप्त गर्नका लागि अर्को बाटो छैन ।
ज्ञात्वा देवं मुच्यते सर्वपाशैः । (श्वेताश्वतरोपनिषद् ६।१३)
परब्रह्म परमात्मालाई जानेर ज्ञानवान् मनुष्य सम्पूर्ण (मृत्यु र जन्मरूप) बन्धनबाट मुक्त हुन्छन् ।
यी सबै प्रमाणहरूबाट के सिद्ध हुन्छ भने जसले ज्ञानद्वारा आफ्नो स्वरूपको साक्षात्कार गरिसकेका छन् त्यस्ता ज्ञानवान्ले नै जन्म र मृत्यु जितेका हुन्छन् । मृत्युलाई जित्नका लागि यो भन्दा अर्को बाटो छैन ।
हामी वेदादि शास्त्रमा पूर्ण विश्वास र श्रद्धा गर्ने हुनाले हामी विश्वासपूर्वक भन्दछौँ– हाम्राले देखेरै लेखेका हुन् अनि लेखेकै हुनाले देखेका हुन् । जन्म र मृत्यु शरीरको धर्म हो, आत्माको होइन । आफू शरीर कदापि होइन । शरीरको धर्म आत्मामा आरोप गरेर आफू (आत्मा) लाई मरणधर्मा मान्नु महामूर्खता हो ।
अतः आफू न त मर्छ न त आत्माले कसैलाई मार्छ । यसै सत्य र तथ्यलाई स्पष्ट पार्दै भगवान् श्रीकृष्ण अर्जुनलाई उपदेश दिने अनुक्रममा श्रीमद्भगवद्गीतामा भन्नुहुन्छ–
मृत्युलाई अत्यन्त नजिकबाट चिन्नेहरू मृत्युबाट डराउँदैनन् । हामीले सुनेका छौं नेपाली (गोर्खाली)हरूमध्ये कोही कोही कतिसम्म वीर थिए, योद्धा थिए, लडाका थिए, सुरा थिए रे भने एकजना लडाका वीर गोर्खालीले आफ्नो धडबाट शिर छुट्टिएर भुइँमा (लडाइँको मैदानमा) गिरिसकेपछि पनि आफ्नो हातको खुकुरीले २।४ जना शत्रुलाई छिनालेपछि मात्र धड भुइँमा धड्याम्म लडेको रे । यो पनि मृत्युको चमत्कारी घटना हो ।
जसरी पुराना लुगाहरू त्यागेर मानिसले जस्तो नयाँ लुगाहरू फेर्छ त्यस्तै जीवात्माले पुराना शरीरहरूलाई त्यागेर नयाँ शरीर प्राप्त गर्छ । त्यसै बदलिने शरीर हो आत्मा अर्थात् ब्रहम होइन ।
यसरी मृत्युलाई सहजरूपमा लिन सके बाँचुञ्जेल शान्तिमय, अभयपूर्ण परिस्थिति सिर्जना गर्न सकिन्छ । यसका लागि अत्यन्त सरल साधन हो भगवद्भक्ति वा भागवतधर्मको परिपालन । रातदिन भगवान्को चिन्तन, कथन, श्रवण, पूजन, कीर्तन, पठन–पाठन, भजन, नामस्मरण, जप, तप, स्तुति, ध्यान, समाधि आदि र सत्सङ्ग, आत्मानुसन्धान भइरह्यो र चित्त आत्मा र परमात्मादेखि भिन्न क्षणिक् नाशवान् विषयादिमा पटक्कै गएन भने मृत्युको भयदेखि मुक्त बन्न सकिन्छ ।
जीवन र मृत्युको दोसाँध हो मरणावस्था (मरणासन्नावस्था) यसैलाई मृत्युसैय्या पनि भनिन्छ– म्रियमाणावस्था वा मुमूर्षुको अवस्था भनेको पनि यही अवस्था हो । मरिसकेको छैन तर मर्ने पक्का भइसकेको छ । घाटमा लगेको स्थिति, डाक्टरले समेत अब बाँच्ने संभावना छैन भनेको अवस्थालाई मृत्युको सन्निकट मान्न सकिन्छ ।
मृत्युको भयबाट मुक्त भए नै जीवनको सुखानुभूति हुन्छ । हामी दुर्गासप्तशतीमा पाठ गर्दछौँ–
भयेभ्यस्त्राहि नो देवि दुर्गे देवि नमोस्तुते । (११।२४)
मृत्युलाई वरण गर्नु भनेको पटक्कै होइन । मृत्युलाई समग्रतामा जानेर, बुझेर यसको रहस्यलाई आत्मसात् गरेर यसैको मित्र भएर जीवनको भव्य मन्दिरमा बसेमा जीवनको मर्म बुझिन्छ र जीवन सहज, सरल, स्वच्छन्द, आनन्दमय र शान्तिमय बन्दछ । मृत्युबाट मुक्ति पाउनु नै जीवनको मुक्ति हो ।
हाम्रा मोक्षपरक शास्त्रहरूले हामीलाई यही नै मुक्ति हो भनेर सिकाएका छन् । अर्जुनले गीता सुनिसकेपछि ’नष्टये मोहः’, ‘गतसन्देहः’ भन्नुमा र परीक्षित राजाले ’मृत्युभ्यो न विभेम्यहम्’, ’अज्ञानं च निरस्तं मे’ भन्नुको तात्पर्य हो मृत्युबाट मुक्त हुनु । नमर्ने भएर मर्नुलाई वा नजन्मने भई जन्मनुलाई मुक्ति भनेको छ ।
भगवान् राम, कृष्ण आदि कारक पुरुषहरू, अवतारी पुरुषोत्तमहरू अजन्मा भएर जन्मन्छन् । शङ्कराचार्य आदि जीवन्मुक्त ज्ञानवान्हरू नमर्ने भएर मर्दछन् । शरीरको आउनु–जानु (जन्म र मृत्यु) त सृष्टिको नियम नै हो । यसमा अपवाद छैन, विवाद छैन, यसमा शङ्का पनि छैन । संसारका सम्पूर्ण प्राणीले जन्मेदेखि नै जानेर आएको सबभन्दा सजिलो भाषा, सजिलो सत्य, सजिलो व्यवहार, सजिलो भनाइ यही नै हो । यति बुझ्नका लागि केही पढ्नु पर्दैन, कसैसँग सिक्नु, तालिम लिनु पर्दैन, अरूको देखेर पनि जान्न सकिन्छ । फेरि यति कुरा त कसैसँग नसोधेरै भन्न सकिन्छ । यति हुँदा हुँदै पनि कसैले पनि नबुझेको भाषा यही नै रहेछ । कसैले हृदयतः स्वीकार नगरेको तथ्य र सत्य पनि यही नै रहेछ । जन्म र मृत्युको कथा अनि सबैले व्यहोर्नै पर्ने पीडा हुनुभन्दा अगाडिको असह्य पीडाको व्यथा मृत्यु हो !
प्राणत्याग गर्नु’ भन्ने अर्थ बुझाउने ‘मृङ’ धातुमा ’त्युक्’ प्रत्ययको संयोजन भएपछि बन्ने मृत्यु शब्दको अर्थ प्राणत्याग वा मरण भन्ने हुन्छ । भौतिक शरीरलाई छोडेर प्राण निस्कने भएकाले मृत्यु हुनुलाई देहावसान पनि भनिएको छ । त्यस्तै निधन शब्दले पनि मृत्युलाई नै बुझाएको छ । यसरी जन्मको अभिप्राय भौतिक शरीर, चैतन्यको मृत्युको अभिधार्थ भौतिक शरीरसित जोडिएको छ । मृत्यु वा निधन चैतन्यको वियोग–संयोग भएकाले जन्म–मृत्यु जीवन–मरण विपरीतार्थक शब्दका रूपमा आएका हुन्छन् । यही मृत्युको अवश्यम्भावी भन्ने कुरा सचेत सबै मानिसलाई थाहा छ तर पनि मानिको जीवनको भन्दा मृत्युको कम चर्चा गर्न सक्छ । सुन्न पनि कम चाहन्छ । सायद यो मृत्युभयबाट जीवनको आक्रान्त हुनुको परिणति पनि हुन सक्छ । भय सम्पूर्ण प्राणीमा हुने साझा अभिलक्षण हो ।
जीवनका आधारभूत अभिलक्षणमध्ये खानु, सुत्नु, डराउनु, सन्तान उत्पत्ति गराएर आफ्नो वंशलाई विस्तार गर्नु चार मुख्य हुन् । यी चार सम्पूर्ण जीवजन्तु, प्राणीमा हुने साझा अभिलक्षण हुन् । यीमध्ये मृत्यु अन्य अभिलक्षणभन्दा पृथक् प्रकृतिको तथा अनिवार्य भएकाले समग्र प्राणीलाई साझा विशेषण दिने गरिन्छ– मरणधर्मा जीव । यसरी मरणधर्मा समग्र प्राणीकै साझा विशेषण भए पनि मृत्युभयबाट बढी चिन्तित हुने प्राणीमा मानिस पहिलो स्थानमा पर्छ । मानिस अन्य प्राणीभन्दा बडी मृत्युभयाक्रान्त हुनुमा उसभित्र रहेको चिन्तन शक्ति नै प्रमुख कारक बनेको देखिन्छ र यही शक्तिकै कारण ऊ अन्य पशुभन्दा फरक दर्जामा उभिएको छ ।
मानिसले मृत्युका बारे जति सोचे पनि, मृत्युलाई टार्न जति नै प्रयास गरे पनि कालले मानिसलाई छोड्दैन् भन्ने सत्य कवि लेखनाथले भनेझै ‘आयो टप्प टिप्यो लाग्यो मिति पुग्यो टारेर टर्दैन त्यो’ भएको छ । मृत्युले कुनै पनि प्राणीलाई छोडेको छैन र छोड्दैन पनि । यस सन्दर्भमा भन्नैपर्ने एउटा अर्को कुरा चाहिँ के हो भने चिन्तन शक्तिकै कारण मानिस मृत्युभयबाट जति आक्रान्त छ, त्यति नै त्यसको भयबाट मुक्त हुने कुरामा पनि ऊ नै अग्रणी छ । मरिने जीवनबारेको चिन्तनभन्दा अनिश्चित मृत्युभयबाट जति आक्रान्त छ, त्यति न यसैले जीवनबारेको चिन्तनभन्दा अपेक्षाकृत कम भए पनि संसारका अधिकांश दार्शनिकले मृत्युचिन्तन गरेकै छन् ।
मृत्यु शाश्वत सत्य भएकाले दार्शनिकले मात्र नभई हरेक सचेत व्यक्तिले जीवनको कुनै न कुनै क्षणविशेषणमा मृत्यु चिन्तन गरेकै हुन्छ । चाहे मृत्युको नजिक पर्दा होस्, चाहे जीवन चिन्तन गर्दा होस् वा अरूको मृत्यु देख्दा होस् मानिसले मर्नुपर्छ भनेर मृत्युचिन्तन गरेकै हुन्छ । प्रायः सबै सचेत व्यक्तिबाट मृत्युचिन्तन भए पनि त्यसलाई अभिलेखीकरण गर्ने कार्य भने अत्यन्त न्यून मात्रामा मात्र भएको पाइन्छ । पौरस्त्य दर्शनमा मृत्युचिन्तन गरिएका उपजीव्य ग्रन्थ उपनिषद् हुन् ।
उपनिषद्हरूमा पनि कठ उपनिषद् मृत्युचिन्तन सूक्ष्मताका साथ भएको छ । कठोपनिषद्ले शरीर, आत्मा, पुनर्जन्म र मुक्तिका सन्दर्भबाट प्रशस्त चिन्तन गरेको छ । नेपाली वाङ्मय र साहित्य परम्परामा पनि अध्यात्मवादी र भौतिकवादी दार्शनिक दृष्टिबाट गरिएका मृत्युचिन्तन भेटिन्छन् । विशेष गरी वि.सं. २०७२ को भूकम्प र २०७६ को कोरोना भाइरसको सङ्क्रमणपछि मृत्युको नजिकै पुग्दाका क्षणमा भएका अनुभव (मृत्युचिन्तन) विभिन्न विद्युतीय सञ्चार माध्यम र साहित्यिक कृतिमा प्रकाशित भएका छन् ।
भूकम्पमा थिचिएर मरेका आफन्तका पीडा भन्दा पनि सास फेर्नै नसकेर , छातिमा नचलेको मुटुले मृत्यु वरण गर्न पुगेका आफन्त, अग्रज, गुरु वर्गको मृत्यु पीडामा निकै रन्थनिए साथीहरू । सामान्य रूपमा लिइएको रुघाखोकीको कडा भाइरस शरीरमा पसेपछि नमारी छोडेन र मर्नुको विकल्प रहेन । मानिस मानिसबिच अछुतको उपमा भिराएर मान्छेले मान्छेलाई गरेको उपेक्षासँगै मृत्यु भोगेर, अन्तिम संस्कारसमेत गर्न नसकिएको पीडाले मृत्युको प्रकारका बारेमा सोच्न बाध्य बनायो । मर्न त मरिन्छ थाहा छ मर्नुको पनि त प्रक्रिया छ, सहजता र असहजताको उपमा छ त्यसैले सहज जीवन मात्र होइन सहज मृत्यु भोगेकाहरूका समयावस्थाको चिन्तनसँगै यस कृतिमा मृत्युलाई विश्लेषण गरिएको छ । (साहित्यकार ढकालको हालै प्रकाशित पुस्तक ‘साहित्यमा मृत्यु चिन्तन’ को पुस्तक अंश ।)