देशले फेरि एक पटक अर्को आन्दोलन खोजेको हो त ? - प्रचण्ड [भिडियो]
प्रधानमन्त्री बन्न ओलीले संविधानको सैद्धान्तिक जामा पहिर्याए
हाम्रा कुरा
प्रकाशित २०८१ माघ २७ आइतबार
577
Shares
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधानसम्मत नरहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको नेतृत्वपंक्तिले संविधान मिच्ने काम गरिरहेको बताए । अहिलेको सरकार संविधान मिचेर बनेको आरोप लगाए । उनले पुनः एक पटक ठूलो आन्दोलनको आवश्यकता देशलाई परेको जिकिर गरे । उनले प्रदेशलाई अधिकार दिन र स्थानीय तहलाई बलियो बनाउन कसैले नमानेको बताए ।
प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन जरुरी रहेको बताए । उनले शान्ति सम्झौताका पक्षधर दलहरूले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याएर देशमा स्थायी शान्ति दिनुपर्ने बताए । उनले देशमा स्थायी शान्तिको स्थापना गर्न प्रमुख दलहरू मिलेर जानुको विकल्प नरहेको जिकिर गरे । ठूलो कामका लागि ठूला दल मिलेको हो भन्ने भ्रम दिने उद्देश्यले संविधान संशोधनको कुरा उठाएको बताए । उनले संविधान संशोधनको सैद्धान्तिक जामा पहिर्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पद र सरकार खोजेको आरोप लगाए ।
प्रचण्डले भने, ‘मैले कहिले कहीँ के सोच्ने गरेको छु भने नेपालमा एउटा ठूलो आन्दोलन फेरि आवश्यक भएको हो की क्या हो भन्ने मलाई पनि लाग्न थाल्यो भनेपछि । किनभने कसैले नि नमान्ने । प्रदेशलाई अधिकार दिन पनि नमान्ने । स्थानीय तहलाई बलियो बनाउन पनि नमान्ने । भनेपछि त के देशले फेरि एक पटक अर्को आन्दोलन खोजेको हो त ? जनतामा असन्तुष्टि बढेको बढ्यै छ । निराशा बढेको बढ्यै छ । एउटा अर्को विद्रोह आवश्यक भएको हो त ? भन्ने प्रश्न चाहिँ अब बिस्तारै मानिसहरूको मनमा आउँदै छ । हामी कसैले पनि के नसोचौँ भने, म त्यो विद्रोह गर्ने निष्कर्षमा पुगेँ भनेको अर्थ पनि नलागोस् । तर जनतामा देखिएको निराशा, असन्तुष्टि, युवाहरूमा देखिएको फ्रस्टेशन, नेतृत्वपंक्तिले यो सबै कुरालाई आत्मसाथ गर्नुभन्दा संविधान पनि मिच्ने । किनभने यो सरकार बनेको पनि मलाई संविधानसम्मत लागेकै छैन । मलाई संविधानसम्मत बिलकुलै लागेको छैन । यो संविधान मिचेर बनेको सरकार हो ।’