हेमराज पहारी स्मृति पुरस्कार सिर्जना साहित्य सदनलाई
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १ बिहिबार
734
Shares
पोखरा । हेमराज पहारी स्मृति पुरस्कार-२०८१ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकस्थित सिर्जना साहित्य सदनलाई प्रदान गरिने भएको छ ।
हेमराज पहारी स्मृति प्रतिष्ठान पोखराको सोमबार बसेको बैठकले सिर्जना साहित्य सदनलाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि एक लाख रुपैयाँ नगद र ताम्रपत्र छ ।
प्रतिष्ठान सल्लाहकार एवं अग्रज पत्रकार कृष्णप्रसाद बास्तोला संयोजक, हरिदेवी कोइराला, दुर्गाबहादुर शाह बाबा सदस्य तथा प्रतिष्ठानकी अध्यक्ष रीता न्यौपाने पहारी र सचिव महेन्द्र अधिकारी पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई प्रतिष्ठानको कार्यसमिति बैठकले अनुमोदन गर्दै सिर्जना साहित्य सदनलाई पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।
२०६७ सालमा स्थापित प्रतिष्ठानले सिर्जनालाई प्रदान गर्न लागेको यो पुरस्कार आठौँ हो । प्रतिष्ठानले यसअघि संस्कृतिविद् सत्यमोहन जोशी, राप्ती साहित्य परिषद् दाङ, विमल गुरुङ स्मृति पुस्तकालय धरान, पोखरास्थित लोककवि अली मियाँ (मरणोपरान्त), झरना साहित्य परिवार मकवानपुर, साहित्य सन्ध्या काठमाडौँ, साहित्यकार सरुभक्तलाई पुरस्कार अर्पण गरेको थियो ।
यही फागुन १६ गते सिर्जना साहित्य सदनको लाहाचोकस्थित भवनमै एक कार्यक्रम आयोजना गरी पुरस्कार अर्पण गरिने संस्थाकी अध्यक्ष रीता न्यौपाने पहारीले जानकारी दिइन् ।
साहित्यकार हेमराज पहारीको २०६६ फागुन १७ गते सडक दुर्घटनामा निधन भएको थियो । पहारीकै स्मृतिमा स्थापित प्रतिष्ठानले हरेक दुई वर्षमा पुरस्कार अर्पण गर्दै आइरहेको छ ।
पहारीको गीत सञ्चयन ‘हेमराज पहारीका गीतहरू’, नियात्रा सञ्चयन ‘उत्तरी गोलार्द्धको एक फन्को’ र कविता सञ्चयन ‘देशको अभिभारा’ प्रकाशित छन् ।
प्रतिष्ठानले पहारीका बाँकी सिर्जना प्रकाशन, उनका योगदान र सिर्जनाको प्रवर्द्धन एवं नेपाली साहित्यको उत्थानका लागि काम गर्दै आइरहेकाे छ ।
कास्कीको सिर्जना साहित्य सदन २०५४ देखि निरन्तर क्रियाशील छ । नेपाली भाषा, साहित्य, कला र संस्कृतिको उत्थानसहित विभिन्न साहित्यिक गतिविधि गर्दै आएको सदनले हरेक वर्ष मुखपत्र ‘सिर्जना’ प्रकाशन गर्दै आइरहेको छ ।