arrow

हलेसीमा खाना पकाउने ग्यासबाट सल्किएको आगो पाँच घण्टापछि नियन्त्रणमा, तीन घर जलायो 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन ५ सोमबार
fire-haleshi-bazar.jpg

खोटाङ । यहाँको त्रिधार्मिकस्थल हलेसी बजारमा आइतबार साँझ भएको आगलागी करिब पाँच घण्टापछि निभाइएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदम राईको भान्छा कोठाको ग्यास सिलिन्डरबाट साँझ ६ बजेतिर शुरु भएको आगो स्थानीयवासी र सुरक्षा निकायको संयुक्त प्रयासमा  राति करिब ११ बजे निभाइएको हो । 

आगलागीबाट स्थानीय पदम राईको घर तथा घरमा सञ्चालित हार्डवेयर पसल, निर्धन उत्थान लघुवित्तको कार्यालय, आइराज राई र प्रकाशचन्द्र गिरीको घरमा क्षति पुगेको छ । आगलागीका घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनमाल जलेर नष्ट भएको स्थानीयवासीले बताएका छन् ।  

सुक्खाग्रस्त क्षेत्र हलेसीमा भएको आगो निभाउन पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए । 

“आगलागीबाट दुईवटा घर पूर्ण तथा एउटामा आंशिक क्षति भएको छ । आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको छ”, उनले भने, “आगलागीबाट तीनवटा घर, एउटा लघुवित्तको कार्यालय, हार्डवेयर तथा ग्यास पसलमा क्षति भएको छ । सबैमा भएको क्षतिको विवरण हेर्दा करिब रु एक करोड बढीको क्षति भएको अनुमान गरिएको छ ।” 

आगो निभाउन जिल्लाबाट तीनवटै सुरक्षा निकायका टोली हलेसी पुगेको थियो । पदम राईको घरमा बेलुकाको खाना पकाउने क्रममा ग्यास सिलिण्डर लिक भएर  शुरु भएको आगो दमकल अभावमा तत्कालै निभाउन नसक्दा ठूलो क्षति भएको स्थानीय सयन्द्र राईले जानकारी दिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ