काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा सार्वजनिक भिडियो सन्देशले वर्तमान राजनीतिक व्यवस्थाले मुलुकलाई निकास दिन नसकेको कारण राजसंस्था पुनः स्थापना गर्नुपर्ने आफूहरूको एजेन्डामा थप बल पुर्याएको बताएका छन् । उनले आफूहरू समयदेखि राजसंस्थाको पुनः स्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको मागसहित आन्दोलनमा नै रहेको उल्लेख गर्दै उक्त भिडियो सन्देशले थप उत्साहित भएको बताए ।
उनले राप्रापाले राजसंस्थाको पुनर्स्थापना, प्रदेश खारेजी, कार्यकारी प्रधानमन्त्री र हिन्दु राष्ट्रको एजेण्डासहति सात वटै प्रदेशमा सभाको आयोजना गर्ने समेत बताए । उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीसहितको राजसंस्था पुनः स्थापनको लागि सभामार्फत सबै राजनीतिक दलहरूलाई आह्वान गर्ने समेत बताए । उनले पूर्वराजा शाहद्वारा जारी भिडियो सन्देशले समान विचार भएका पार्टी र व्यक्तिहरूबिच सहकार्य र समन्वयको लागि बाटो खुला भएको समेत दाबी गरे ।
उनले भने, ‘हामी लामो समयदेखि नै नेपालमा अभिभावकीय संस्थाको रूपमा राजसंस्थाको पुनः स्थापना र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेशको खारेजी, हिन्दु राष्ट्र, सुशासनको विषयमा अभियान र आन्दोलनमै छौं । त्यो क्रममा अहिले हामी सात वटै प्रदेशमा भण्डाफोर सभाहरू गरिराखेका छौं । पर्सि फागुन ९ गते कास्कीको पोखरामा गण्डकी प्रदेशको सभा रहेको छ । स्वाभाविक रूपमा त्यो सभाभन्दा अगाडि राजाको यो सन्देश आउँदा हामी उत्साहित भएका छौं । त्यो सभा अझै सशक्त रूपमा हुन्छ । त्यस सभाबाट पनि हामी सबै राजनीतिक दलहरूलाई यसको लागि आह्वान समेत गर्छौँ । यसको प्रतिरोध र प्रतिवाद होला जस्तो मलाई लाग्दैन । राजाको आह्वानलाई व्यवहारमा लागु गर्ने दुई वटा बाटो छ । एउटा वार्ताको माध्यमबाट र अर्को आन्दोलनको बाटोबाट । राजाको आह्वानबाट समान विचार भएका अन्य व्यक्ति र दलहरूसँग सहकार्य र समन्वय गर्ने बाटो थप खुलेको छ जसको लागि हामी लामो समयदेखि प्रयास समेत गरिरहेका थियौँ ।’