जोडीको प्रेमविवाहले निम्त्यायो गम्भीर स्थिति, झडपमा २० जना घाइते, प्रहरीकै गाडीमा आगजनी
रबिन्द्र यादव,
प्रकाशित २०८१ फागुन १३ मंगलबार
804
Shares
पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं ३ बेलासपुरमा दुई समूहबीच झडप भएको छ । स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र छोटकी कुस्माका केही व्यक्तिबीच झडप भएको प्रहरीले जनाएको छ ।
हिजो केटा पक्षका एक जनालाई केटी पक्षका समूहले कुटपिट गरेपछि केटा पक्षकाले सोधपुछ गर्न केटी पक्षका घरमा आएर सोधपुछ गरेपछि विवाद शुरु भई आगजनीको प्रयास गरेपछि झडप भएको प्रहरीले बताएको छ ।
स्थिति नियन्त्रण लिन ५ राउण्ड अश्रु ग्याँस र ३ राउण्ड हवाई फायर गरेको सूचना अधिकारी थापाले बताए । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय महेशपुरको एउटा गाडीमा पनि आगजनी गरेका छन् ।
झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी २० जना व्यक्ति घाइते भएका हुन् । घाइतेमध्ये केटा पक्षका विजय धवलको अवस्था चिन्ताजनक रहेको छ । केटापक्षकै ४५ वर्षीय बैजनाथ प्रसाद लोनियाको अवस्था पनि गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।
उनीहरुको भैरहवा सिटी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । स्थिति नियन्त्रणमा आइसकेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले बताए । अहिले घटनास्थलमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।