arrow

म्यानमारविरुद्ध उत्रँदै नेपाल

नेपाल पहिलो उपाधि जित्न आतुर [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
4-nation-final.jpg

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टोली पहिलो उपाधि जित्न आतुर रहेको छ ।  नेपाली राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले कम गल्ती गर्दै र प्रशिक्षकको योजनाअनुरूप खेल्न सके उपाधि जित्ने लक्ष्य पूरा हुने बताएकी छन् । नेपालले आज म्यानमारविरुद्ध अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ दशरथ रङ्गशालामा चुनौती प्रस्तुत गर्दै छ । 

फाइनलअगाडि मंगलवार भएको पत्रकार सम्मेलनमा नेपालकी कप्तान एञ्जिलाले एकै वर्षमा तीन फाइनल खेले पनि उपाधि चुक्नु परेको स्मरण गर्दै यसपल्ट खेर नफाल्ने विश्वास व्यक्त गरेकी हुन् । अहिलेसम्म रजत पदकमा नै खुम्चिनु परे पनि बुधबार स्वर्ण पदक जित्ने गरी प्रतिस्पर्धा गर्ने कप्तान एञ्जिला बताउँछिन् । उनले यतिका वर्षसम्म च्याम्पियन हुन नसक्दा आफूसँगै टिमका सदस्यका लागि पनि चुनौती बनेको उल्लेख गरेकी छन् ।

गोलकिपर तथा कप्तान एञ्जिालाले अनुशासित रूपमा टिम खेल्ने टिम नै सफल हुने भएकाले बुधवार आफ्नो टोली टिम गेम खेल्ने बताएकी छन् । उनले यसपल्ट कम गल्ती गर्ने र प्रशिक्षकको योजनाअनुरूप खेल्ने विश्वास व्यक्त गरेकी छन् । आफूहरू फाइनलमा उत्कृष्ट प्रदर्शन गर्न तयार रहेको कप्तान एञ्जिला बताउँछिन् । सबै खेलाडी क्षमतावान् रहेकाले टिममा जुनसुकै खेलाडीले पनि खेल्न सक्ने उनको बुझाइ छ । युरोपमा खेल्दा पाएको अनुभवी पनि टिमका लागि खर्चिएको उनी बताउँछिन् । चार देश सम्मिलित च्याम्पियनसिपको लिगमा शीर्ष दुई स्थानमा रहेर नेपाल र म्यानमार उपाधिका लागि खेल्न लागेको हो ।

लेबनान र किर्गिस्तानलाई हराउँदै दुवै टोलीले जित निकालेका थिए । तर एक अर्का बीचको प्रतिस्पर्धा भने नेपाल र म्यानमारबीच २–२ गोलको बराबरी भएको थियो । नेपालले आफूभन्दा ४८ औँ स्थान माथि रहेको म्यानमारलाई रोकेको हो । फाइनलअगाडि पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले म्यानमारसँगको पछिल्लो भेटमा प्रेस गरेर खेल्दा सफल भएको बताएका छन् । साथै म्यानमारसँगको खेलमा छुट्टै  रणनीतिक बनाएर खेल्दा सकारात्मक नतिजा प्राप्त भएको र फाइनलमा त्यो प्रयास रहने उनको भनाइ छ । उनले प्रेसिङ गेमका लागि युवा खेलाडीको भूमिका महत्त्वपूर्ण रहेको उनले उल्लेख गरे ।

पछिल्लो खेलमा आफ्नो पहिलो रोजाइमा आठ जना खेलाडी २५ वर्षभन्दा तलको रहेको र युवा खेलाडी हुँदा उनीहरूलाई दबाब दिन सफल भएको बताए । प्रशिक्षक राजेन्द्रले अहिले म्यानमारमा पनि युवा खेलाडी रहेको र त्यहीअनुरूप उनीहरूले पनि राम्रो गर्न सकेको उल्लेख गरे । उनले एकै वर्षमा तीन वटा फाइनल खेल्नु राम्रो पक्ष रहे पनि ट्रफी जित्न नसक्दा दुखी रहेको बताए । दुई फरवार्ड सावित्रा भण्डारी र रेखा पौडेलबीच तालमेला नमिले पनि अहिले त्यसमा सुधार आएको प्रशिक्षक राजेन्द्रको बुझाइ छ । प्रशिक्षक तामाङले डिफेन्समा भएको केही गल्ती सुधारका लागि प्रयास भएको बताए ।

म्यानमारका प्रशिक्षक तेत्सुरा युकीले घरेलु टोलीले राम्रो खेल्दै आएको र आफ्नो टोलीले पनि राम्रो तयारी गरेकाले फाइनलमा प्रतिस्पर्धात्मक फुटबल देख्न पाउने बताए । सन् १९८२ देखि अन्तर्राष्ट्रिय सहभागिता जनाएको नेपालले अहिलेसम्म उपाधि भने जित्न सकेको छैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ