arrow

नेपाल–बंगलादेशबीच साहित्यिक आदानप्रदान 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १४ बुधबार
nep-bang-literature-81-11-1.jpg

ढाका । नेपाल–बंगलादेशबीच साहित्यिक आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । बंगलादेशको ढाकास्थित नेपाली दूतावास तथा बंगलादेश -नेपाल फ्रेण्डशिप सोसाइटीको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
 
कार्यक्रम बंगलादेशका सांस्कृतिक (मन्त्री) मुस्तफा सरवार फारोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो  । मन्तव्य सुनाउँदै प्रमुख अतिथि फारोकीले दुई देशबीचको सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यले सार्वजनिक कूटनीतिको दूतावासको प्रयासको प्रशंसा गरे। 

उनले नेपाल-बंगलादेश मित्रताको मूलमा रहेको बलियो भाषिक, साहित्यिक र सांस्कृतिक समानताहरूमा पनि प्रकाश पारे।

कार्यक्रममा बोल्दै राजदूत घनश्याम भण्डारीले नेपाल र बंगलादेशबीचको सांस्कृतिक सम्बन्धलाई प्रकाश पार्दै जनता-जनताबीचको सम्पर्कलाई अझ सुदृढ पार्न साहित्यिक आदानप्रदानको महत्त्वमा जोड दिए। 

उनले विद्यार्थीहरूको कलाकृतिको पनि प्रशंसा गरे । उनीहरूको रचनात्मक कृतिहरूले अन्तर-सांस्कृतिक समझदारीलाई बढावा दिन र दुई देशविचका सम्बन्ध जोड्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

नेपाल स्रस्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले  ‘वर्तमान नेपाली साहित्य र संस्कृति’ विषयमा कार्यपत्र प्रस्तुत गरे । यसैगरी बंगला एकेडेमीका मुजफ्फर हुसेनले ‘बंगलादेशको साहित्य: संघर्ष र रचनात्मकताको प्रतीक’ विषयमा कार्यपत्र प्रस्तुत गरे। 

नेपालका तर्फबाट नेपाल स्रस्टा समाजका संरक्षक पवन  आलोक ,जयदेव भट्टराई, प्रधुम्न जोशी र प्रदीप सापकोटा तथा बंगलादेशका तर्फबाट सलिम सुलेरी र उस्मान गोनीले आफ्ना सिर्जनाहरु सुनाए । 

यसअघि बंगलादेश-नेपाल फ्रेण्ड्शिप सोसाइटीका अध्यक्ष लायन  मोशिउर अहमद हुसैनले द्विपक्षीय सम्बन्धलाई अझ प्रवर्द्धन गर्न विद्यार्थी र साहित्यिक विद्वानहरूलाई संलग्न गराउनुको महत्त्वमा जोड दिँदै स्वागत मन्तव्य व्यक्त गरे ।
 
यसै कार्यक्रममा चित्रकला प्रतियोगिताबाट छनोट गरिएका बीस कलाकृतिहरू समावेश गर्ने विशेष प्रकाशनको विमोचन  गरियो।

 दूतावास तथा बंगलादेश-नेपाल फ्रेन्डशिप सोसाइटीद्वारा २४ जनवरी २०२५ मा ‘नेपाल मेरो आँखाबाट’ भन्ने विषयवस्तु अन्तर्गत आयोजित विभिन्न उमेर समूहका विद्यालयहरुका बालबालिकाबीच सम्पन्न  ‘चित्रकला प्रतियोगिता-२०२५’ का विजेताहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रमुख अतिथि, राजदूत लगायतले वितरण गरे । 

  फागुन १३ गते भएको उक्त कार्यक्रमको सञ्चालन योजना बमजनले गरेकी थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ