भूकम्प पछिको पुनः निर्माणका लागि समन्वय सम्पर्क कार्यालय स्थापना हुने [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन १५ बिहिबार
549
Shares
काठमाडौँ । पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्याङ्कन र पुनः निर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ । बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण निर्देशक समितिको बैठकबाट उक्त निर्णय गरिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षतिको क्षति आङ्कलन गर्ने काम द्रुत गतिमा अगाडि बढेको दाबी गरे । उनले डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको डिडिए भइसकाको पुनः निर्माण अघि बढाउने र हुन बाँकीको डिडिए गर्न जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने बताए । सम्पर्क समन्वय कार्यालय यसै महिनाभित्र स्थापना गर्ने पनि बताए ।
उनले भने, ‘जाजरकोटमा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निजी घरहरूमा भएको क्षतिको क्षति आङ्कलन गर्ने काम द्रुत गतिमा अगाडि बढेको छ । त्यसपछि हामी पुनः निर्माण र पुनः स्थापनाको काम अगाडि बढाउँछौँ । यसरी नै डोटी र बझाङमा केन्द्रबिन्दु भएर गएको भूकम्पको पनि जतिको डिडिए भइसकेको छ त्यसको पुनः निर्माण अगाडि बढ्छ । डिडिए हुन नसकेको पनि डिडिए हुन्छ । यो कामका लाग जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गर्ने गरेर हामी यो महिनाभित्र नै कार्यालय स्थापना गर्छौँ । अब यो पुनः निर्माण र पुनः स्थापनाको काम द्रुत गतिले अघि बढ्छ ।’