आज मलाई साहित्यकार स्व.कृष्णप्रसाद ज्ञवालीको सम्झना आयो अनि यसो कलम चलाउन मन लाग्यो। उहाँ नातासम्बन्धको दृष्टिकोणले पनि मेरो हजुरबुवाको भान्ज हुनुहुन्छ अर्थात् मेरो बाहुन बुबा । म उहाँको मावली भतिज हुँ भन्दा स्वभावैले छाती निकै उच्च हुन्छ र उहाँप्रति झुकाव र श्रद्धा प्रकटिन्छ ।
म नेपाली भाषा र साहित्यको विद्यार्थी भएको हुनाले पनि उहाँका बारेमा धेरै पटक पढ्ने सौभाग्य पाएँ। कृष्णप्रसाद ज्ञवालीको व्यक्तित्व र कृतित्व बारेमा चर्चा गर्दा केही मेरा निजी कुराहरू पनि यहाँ जोड्न चाहन्छु । म उहाँको मावली भए पनि उहाँको भौतिक शरीरलाईलाई देख्न भने पाइनँ। सायद उहाँ सानै उमेरदेखि शिलाङ नै बस्नुभएकोले र कहिलेकाहिँ थोर्गा आउँदा पनि मावली अलि टाढा भएको हुनाले त्यति आवतजावत भएन होला जस्तो लाग्छ।
उहाँले आफ्ना कविता र निबन्धहरूमा मामाघरतिरका पर्यटकीय तीर्थस्थलको वर्णन गर्नुभएको छ।उहाँको मावली हुनाले पनि उहाँको जीवनी व्यक्तित्वका बारेमा केही थोरै जानकारीहरू पाइरहेकै पनि थिएँ। तरआज अन्य थप सामग्रीसहित यसलाई लिपिबद्ध गर्ने जमर्को गर्दैछु।
उहाँका बारेमा केही लेख्दा म आफू पनि करिब चालीस वर्ष पहिलेको बाल्यकालीन समयलाई सम्झिदै छु। हाम्रो घरको दलानको माथिपट्टि लाइन लगाएर वरदेखिपरसम्म धेरै फोटाहरू टाँसिएका थिए।घरमा आएका जो कोही पाहुनाको पहिलो नजर तिनै फोटोमा पुग्थ्यो। तत्कालीन समयमा क्यामेराको सहजता नहुनाले मौका पाउँदा कहिँकतै गएको बेला वा घरमा कसैले क्यामेरा ल्याएर आएको बखतको मौका छोपेर घरपरिवार वा आफन्तका फोटाहरू खिचिन्थे र संग्रह गरिन्थ्यो।अहिले पनि गाउँघरमा घरको मूल ढोकामाथि र शहरमा लिभिङ रुपमा केही स्मरणीय पुराना र नयाँ फोटाहरू टाँस्ने प्रचलन रहेकै छ।
हाम्रो घरको दलानमा रहेका करिब बीसवटा जति फोटाका लाइनको केन्द्रमा स्व.राजा महेन्द्रले एक जना व्यक्तिलाई पदकले विभूषित गरिरहेको फोटो पनि थियो, धेरैको आँखा त्यसमा नै पुग्थे र आश्चर्य र कौतुहलतापूर्वक सोध्थे। प्रायः सबैले भन्थे-ए!कति ठूलो मान्छे, ओहो! राजाको बाहुलीबाट पदक पाउनुभएको,तपाईंहरूलाई कति गौरव लाग्छ होला है?तपाईंहरू कति धेरै भाग्यमानी भन्थे। बाल्यकालीन समयमा म खासै बुझ्दैनथेँ।को होला?,के भन्न खोजेको होला?,कविता प्रतियोगितामा प्रथम रे?राजाबाट पदक पाएको रे ? आदिआदि थुप्रै जिज्ञासाहरू उठ्थे ।
विस्तारै उमेर बढ्दै जाँदा विद्यालय र विश्वविद्यालयहरूमा पुस्तक र साहित्यक रचना पढ्दै जाँदा लेखक र साहित्यकारका बारेमा बुझ्दै गइयो। अनि बल्ल थाहा पाएँ,उहाँ त वि.सं.२०२४ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित कविता प्रतियोगितामा प्रथम हुनुभएका कवि कृष्णप्रसाद ज्ञवाली हुनुहुँदो रहेछ। उहाँका विद्यालय र विश्वविद्यालयका पाठ्यपुस्तकहरूमा कविता र निबन्धहरू पनि पढियो।
कहिलेकाहिँ मौका पाउँदा शिक्षक र साथीहरूसँग उहाँ त हाम्रो आफन्त हो नि भनेर गर्वका साथ भनियो पनि।विश्वविद्यालीय योग्यता उत्तीर्ण गर्नका लागि उहाँको पीपल छहारी निबन्ध संग्रह धेरै पटक पढियो।वास्तवमा त्यसबेला त्यो केवल परीक्षा उत्तीर्ण हुनको लागि मात्र पढिएको रहेछ भन्ने अहिले लाग्दैछ।अहिले आएर उहाँको जीवनी, व्यक्तित्व, निबन्धकारिता र कवित्वका बारेमा अझै धेरै बुझ्न,जान्न र त्यसलाई लिपिबद्द गर्न पनि मन लाग्यो र यो कलम चलाउँदै छु। यद्यपि उहाँका बारेमा नेपाल र भारतबाट धेरै अनुसन्धानमूलक पुस्तक र अन्य सामग्रीहरू प्रकाशित भएका छन्।
ज्ञवालीको जन्मभूमि गुल्मी जिल्लाको थोर्गादेखि हाम्रो घर गुल्मीकै भनभने गैराखर्क यातायातको सुविधा नहुँदाको समयमा हिँडेर दिनभरिको बाटोले पनि भ्याइँदैनथ्यो। साहित्यकारले कहिँकतै मावल जाँदाका सन्दर्भका केही प्रसङ्ग पनि आफ्ना रचनामा उठाउनु भएको छ। अहिले भने यातायात साधनको प्रयोगबाट थोर्गा र भनभनेको दूरी तीन चार घन्टामा साँघुरिएको छ।
मलाई वि.सं.२०५४ को जेठमा कृष्णप्रसादको जन्मभूमि थोर्गा पुग्ने सौभाग्य मिलेको थियो। मेरो हजुरबुबाकी साहिली दिदी अर्थात् कृष्ण प्रसादकी पूज्यनीय आमाको चौरासी पूजामा मेरो हजुरबुबा स्व. लोकनाथ पन्थी, काका कृष्ण र म गैराखर्कबाट दिनभरिको बाटो हिँडी बेलुका तम्घास बसी अर्कोदिन बसबाट थोर्गा पुगेका थियौँ। साहित्यकार कृष्णप्रसाद ज्ञवालीका रचनाहरू पढ्दा र उहाँले ती रचनाहरूमा कहिँकतै वर्णन गरेझैँ उहाँका घर वरिपरिका धेरै परिदृश्यहरू पनि मेरो मनमा अहिले पनि झल्झती आउँछन् ।
स्व.कृष्ण प्रसाद ज्ञवालीको जन्म ईसं.१८ नोभेम्बर १९३६ मा गुल्मी जिल्लाको थोर्गामा भएको थियो । उहाँ पिता पं.त्रिलोचन र माता भीमादेवीका साइला छोरा हुनुहुन्छ।दुई श्रीमती,चार छोरा र तीन छोरीका पिता ज्ञवालीको मृत्युु भने १० मार्च १९९९ मा भारतको शिलाङमा भएको थियो। १२/१३ वर्षको उमेरमा आफ्नो ठूलो दाजु नारायण प्रसाद ज्ञवालीसँग भारतको शिलाङमा पढ्न गएका ज्ञवालीले १७ बर्षको उमेरदेखि शिलाङकै बडा बजारमा भारती पुस्तकालय खोली पुस्तक पसल शुरुआत गर्नु भएको थियो ।
औपचारिक रूपमा मेट्रिक उत्तीर्ण गरेका उहाँ मृदुभाषी,नम्र हुनुहुन्थ्यो। प्रायः नेपाली पोशाक दौरा,सुरुवाल,काेट र टोपी पहिरिरहने ज्ञवालीले नेपाली साहित्यमा कविता र निबन्धहरू लेख्नु भएको छ। भारतको शिलाङमा बसे पनि उहाँको मनमुटु नेपालमा नै रहेको उहाँका कृतिहरूमा देख्न पाइन्छ। उहाँका पीपलको छ्हारी निबन्ध (विस.२०३६), कृष्ण प्रसाद ज्ञवालीका कविताहरू(ईस.२०००) र आसामको इतिहास, अब स्कुल पढ्न जाउँ, आदि विद्यालयस्तरीय पाठयपुस्तक र अन्य बाल रचनाहरू पनि प्रकाशित भएका छन्। बहुमुखी प्रतिभाका धनी व्यक्तित्त्व ज्ञवाली नेपाली साहित्यमा खासगरी कविता र निबन्धमा प्रसिद्ध हुनुहुन्छ।
उहाँ आत्मपरक र प्रकृतिवादी निबन्धकार हुनुहुन्छ। साझा प्रकाशनद्वारा २०३६ मा पीपलको छहारी भन्ने उहाँका १२ वटा निबन्धहरू सङ्ग्रहित पुस्तक प्रकाशित भएको थियो । वास्तवमा पुस्तकको नाममा जस्तै उहाँ निबन्धहरूमा पनि जीवन,दर्शन, कला र सौर्न्दर्यको छहारी पाइन्छ। पीपलको छहारीमा बस्दा जुन किसिमको आनन्द हुन्छ त्यस्तै आनन्द र मिठास उहाँका निबन्धहरूमा पाइन्छ। निबन्धहरूलाई शब्द र अलङ्कारहरूले निकै सजाइएका छन्।
संस्कृत शब्दहरूले प्रयोग धेरै नै गरिएको देखिन्छ। उहाँका निबन्धहरू अत्यन्तै मिठा र रसिला छन्।उहाँका निबन्धमा प्रकृतिको सम्पूर्णता नै झल्किन्छ। निबन्धहरूमा कौतूहलता, स्वाभाविकता र जीवन्तता पाइन्छ। प्रकृतिका विविध पक्ष खोला,नाला,वन,पाखा,उकाली, ओराली,भङ्ज्याङ र चौतारीको कलात्मक र चित्रात्मक प्रस्तुति भेटिन्छ। निबन्ध पढ्दा नै पाठक प्रकृतिमा हराएर रमाइरहेको अनुभूत हुन्छ।पाठक नै पनि निबन्धको रस्वादनले कोइलीको कुहुकुहुमा नाच्न सकिन्छ भने घँसिनीको भाकामा गाउन सकिन्छ।
उहाँका बारेमा गरिमा पत्रिकामा लेखिएको पनि छ-"लक्ष्मीप्रसाद देवकोटाको निबन्धमा पाइने कल्पनाको काव्यात्मक उडान, बालकृष्ण समको निबन्धमा पाइने तर्कपूर्ण अभिव्यक्ति र श्यामप्रसाद शर्माका निबन्धमा पाइने गुलियो र सरलता उनका निबन्धमा पाइन्छ।"
त्यस्तै नव सापकोटा लेख्छन् -"उनका आत्मपरक निबन्ध समुद्र झैं गहिरा,पहाडी खोला झैँ सङ्ला र बासन्ती मलय झैं आनन्ददायी छन् ।"
कृष्णप्रसाद ज्ञवालीका कविताहरूको एउटै संकलन नेपाली साहित्य कला निकेतन गुहाटीले सन् २००० मा कृष्ण प्रसाद ज्ञवालीका कविताहरू प्रकाशित गरेको छ। यस सङ्ग्रहमा उहाँका ६७ वटा कविताहरू सङ्ग्रहित छन्।उहाँका कवितामामा विविधता पाइन्छ ।
कवि ज्ञवालीले आफ्ना कवितामा कला,जीवन र दर्शनको संयोजन निकै सचेतताका साथ गरेको देखिन्छ। कालीगण्डकी गण्डकीको तीरमा,त्यो छहरामा पुग्दा,असगुना, उर्वशीप्रति,नव बसन्तको नव आह्वान,जून आदि जस्ता शीर्षक भएका कविताहरूमा प्रकृतिका विभिन्न रुप र दृश्यको कलात्मक वर्णन र चित्रण गरिएको छ।कतिपय ठाउँमा प्रकृतिलाई मानवीकरण गरिएको छ।
भानुभक्त,भानुको सम्झना र स्वदेशी भानु कवितामा आदिकवि भानुभक्त आचार्यको कवित्वको कदर,गुणगान र प्रशंसा गरिएको छ।माग्नेको वेदना,म यात्री हुँ, यो जोशको अन्त यही हुँदैन रे, जिन्दगीको गोरेटोमा,बुद्धप्रति, मानवीय मानवताको पथमा जस्ता शीर्षकका कविताहरूमा मानवीय संवेदना, जीवनका विभिन्न आयामको चित्रण गरिएका भावहरू पाइन्छन्। उहाँका कविताहरूमा गद्य र पद्य दुवै किसिमका छन्।
उहाँका कविताहरूमा विभिन्न किसिमका छ्न्द,अलङ्कार, बिम्ब,प्रतीक आदिको समूचित संयोजन र प्रयोग गरेको देखिन्छ।उहाँका कविताहरू छ्न्द र लयमा सललल बग्ने सलिल झैँ छन् ।
राष्ट्रियता,देशप्रेम, प्रकृतिप्रेम झल्किन्छ। उहाँका कविताहरूमा मानवतावाद, विश्वप्रेम,प्रकृतिप्रेम,राष्ट्रियता, भ्रातृत्त्व आदि जस्ता थुप्रै विशेषताहरू रहेका छन् । नेपाली साहित्यमा लेखनाथ पौड्याल, माधवप्रसाद घिमिरे अनि धरणीधर शर्माकै परिपाटीका कवि कृष्णप्रसाद ज्ञवाली हुनुहुन्थ्यो भनिन्छ।
क्रान्तिपछि शान्ति, रातपछि दिन, शिशिरपछि बसन्त र दु:खपछि सुख अवश्यमेव आउँछ भन्ने आशावादी भाव उहाँका कवितामा पाइन्छ। कृष्णप्रसाद ज्ञवालीले केही बाल कविताहरू रचना गर्नु भएको छ भने उषा र सुमन जस्ता साहित्यिक पत्रिकाको सम्पादन कार्य पनि गर्नु भएको थियो ।
समष्टिमा भन्नुपर्दा भारतीय भूमिमै रहेर पनि नेपाली साहित्यको श्रीवृद्धि गर्न स्व.कृष्ण प्रसाद ज्ञवालीको महत्त्वपूर्ण योगदान रहेको देखिन्छ।अन्त्यमा,आदरणीय कवि स्व.कृष्ण प्रसाद ज्ञवालीमा हार्दिक भावपूर्ण शब्द श्रद्धाञ्जली अर्पण गर्दछु। (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्मरत छन्)