arrow

नेपालमा पहिलोपटक फ्रिस्टाइल चेस च्याम्पियनशिप

logo
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २४ शनिबार
chess-championship-81-11-23.jpg

काठमाडौँ । चेसमा नयाँ प्रयोगको रुपमा नेपालमा पहिलोपटक फ्रिस्टाइल चेस प्रतियोगिता हुने भएको छ । हिमालयन चेस एकेडेमीले ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनशिप’ को रुपमा चैत १ गते आयोजना गर्न लागेको हो ।

एकेडेमीको वार्षिकोत्सवको अवसरमा फ्रिस्टाइल चेस च्याम्पियन आयोजना गर्न लागेको एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूले बताइन् । 

पूर्वविश्व च्याम्पियन अमेरिकी ग्रान्डमास्टर बबी फिसरले परम्परागत चेसलाई रोचक बनाउने प्रयासस्वरुप फ्रिस्टाइल चेस शुरु गरेका थिए । 

यसैको प्रतियोगिता आयोजना गर्दै हिमालयन चेस एकेडेमीले नेपालमा फ्रिस्टाइल चेसलाई भित्र्याउने पहल गरेको हो ।

‘परम्परागत चेस जेन जी (नयाँ पुस्ता) का लागि खासै रोचक भएन । सिद्धान्तअनुसार खेलिने चेसलाई नयाँपन दिँदै फ्रिस्टाइल चेसले रोचक बनाएको छ । त्यसैले हामीले पहिलोपल्ट नेपालमा फ्रिस्टाइल चेसको प्रतियोगिता आयोजना गर्न लागिएको हो ।’

च्याम्पियनशिपका चिफ आर्बिटर याइशाष यासिर खम्बूका अनुसार फ्रिस्टाइल चेस लिग कम नकआउटको आधारमा सञ्चालन गरिने छ । 

सहभागी खेलाडीलाई चार समूहमा विभाजन गरी समूह चरणका खेल एकेडेमीको थापाथलीस्थित चेस हलमा गरिनेछ । समूह विजेता चार खेलाडी फाइनल्समा प्रवेश गर्नेछन् । उनीहरूले नकआउटको आधारमा चैत १ गते होटल रोयल सिंगीमा हुने फाइनल्समा प्रतिस्पर्धा गर्नेछन् ।

एकेडेमीले आफ्नो बार्षिकोत्सव चैत १ गते शुक्रबार एकैसाथ दुई प्रतियोगिता आयोजना गर्दैछ । फ्रिस्टाइल च्याम्पियनसिपसँगै ‘हिमालयन ब्लिज कप’ आयोजना गर्न लागेको हो । 

फ्रिस्टाइलको शीर्ष चारमा स्थान बनाउन असफल खेलाडीसँगै अरु चेस खेलाडीले स्वीस प्रणालीको आधारमा हुने एक दिने ब्लिज कप खेल्नेछन् ।

दुई प्रतियोगिताको कुल पुरस्कार १ लाख २५ हजार रुपिया रहेको छ । फ्रिस्टाइलको विजेताले २५ हजार, उपविजेताले ९ हजार ६ सय तथा सेमिफाइनलमा पराजित हुने २ खेलाडीले जनही ६ हजार ४ सय पाउने छन् ।

१६ स्पर्धा समावेश ब्लिज कपको विजेताले १५ हजार, उपविजेताले ७ हजार ५ सय, तेस्रोले ६ हजार र चौथो हुनेले ४ हजार प्राप्त गर्नेछन् । 

ब्लिज कपमा शीर्ष १०, महिलासँगै गल्र्स र ब्वइजका यू ८, यू १०, यू १२, यू १४, यू १६ विजेता, एचसीए बेस्ट, ५० वर्षमाथिको भेट्रान, अनरेटेडतर्फका उत्कृष्ट, फिडे रेटिङ २००० र १७०० मुनिका उत्कृष्ट खेलाडीले पनि नगद पुरस्कार पाउने छन् ।

एकेडेमीले एक वर्षभित्र सात प्रतियोगिता आयोजना गर्न लागेको हो । यसअघि उसले एसईई कप, हिमालयन १०० फर गिनिज वल्र्ड रेकड्र्स, हिमालयन तीज चेस टोर्नी, प्याट्रिओटिक पन च्याम्पियनशिप र हिमालयन डुओ गरी ५ प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो ।

बौद्धिक खेलको रुपमा परिचित चेसलाई नेपालमा प्रवद्र्धन र विकास गर्ने उद्देष्यले स्थापित हिमालयन चेस एकेडेमीले फ्रेसर, बिगिनर्स, एड्भान्स बिगिनर्स, इन्टरमिडियट र एड्भान्स गरी ५ वटा कोर्समा १ सय बढीलाई काठमाडौँ महानगरपालिका ११, थापाथलीस्थित आफ्नै हलमा नियमित चेस ट्रेनिङ दिइरहेको छ । 

उसले गत पौषदेखि कौशलटारमा भक्तपुर शाखा सञ्चालनमा ल्याएको छ । भर्चुअल रुपमा अनलाइन कक्षा नियमित भइरहेको छ । प्रत्येक बुधबार महिलालाई निःशुल्क प्रशिक्षण दिइरहेको छ । स्कूल र समुदायमा कार्यशाला तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ