जलेश्वर भन्सारद्वारा आठ महिनामा दुई अर्ब राजस्व सङ्कलन
हाम्रा कुरा
प्रकाशित २०८१ फागुन २७ मंगलबार
680
Shares
जनकपुर । जलेश्वर भन्सार कार्यालय भिठ्ठामोडले चालु आर्थिक वर्षको आठ महिनामा रु दुई अर्ब १५ करोड ५० लाख ७४ हजार राजस्व सङ्कलन गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनाको हालसम्ममा ८३दशमलव८९ प्रतिशत राजस्व सङ्कलन भएको जलेश्वर भन्सार कार्यालयका सूचना अधिकारी रामकुमार विकले जानकारी दिए ।
चालु आर्थिक वर्षमा वार्षिक रु चार अर्ब ५३ करोड ६२ लाख ९० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य थियो । तर कार्यालयले सो लक्ष्यको ४७दशमलव४१ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।
कार्यालयकाबाट प्राप्त विवरणअनुसार चालु आवको साउनमा ९२दशमलव१६, भदौमा ८३दशमलव८७, असोजमा ८७दशमलव५४, कात्तिकमा ७४दशमलव०२, मङ्सिरमा ८३दशमलव३६, पुसमा ७५दशमलव१४, माघमा ७४दशमलव७५ र फागुनको हालसम्ममा ८०दशमलव४४ प्रतिशत राजस्व सङ्कलन गरेको सूचना अधिकारी विकले बताए।
जलेश्वर भन्सार कार्यालय भिठ्ठामोड नाकाबाट आयात हुने सामग्रीमा कुल राजस्वमध्ये पेट्रोलियम पदार्थको योगदान ४९दशमलव१४ प्रतिशत रहेको छ ।
भारतको विहार राज्यको मोतिहारी र अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालमनमा आएपछि जलेश्वर भिठ्ठामोडबाट आयात गरिने पेट्रोलियम पदार्थमा कमी आउँदा राजस्वको लक्ष्यमा कमी आएको उनले बताए ।
कार्यालयका अनुसार गत वर्षको तुलनामा चालु आवमा पेट्रोलियम पदार्थ, कोइला, आलु र चुना आयातमा कमी आएको छ ।
जलेश्वर भन्सार कार्यालयबाट मुख्य आयात हुने सामग्रीमा पेट्रोलियम पदार्थ, कोइला, आलु, चामल, गहुँ, दलहन, तरकारी, फलफूललगायत रहेका सूचना अधिकारी विकले बताए । रासस