हार्ने डरले तालिका च्यातेको सात विद्यार्थी संगठनको आरोप, नेविसंघले सार्वजनिक गर्यो ६४ पृष्ठ लामो प्रगति विवरण
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ३ आइतबार
2.8k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका अधिकांश क्याम्पसहरुमा चैत ५ गते मंगलबार स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुँदै गर्दा नेपाल ल क्याम्पस काठमाडौँमा भने चुनाव नहुने भएको छ ।
पहिलो पटक त्रिविले ठ्याक्कै दुई वर्षमा आवधिक चुनाव गराइरहँदा कानूनी पाठ पढाइ हुने क्याम्पसमा भने समयमै निर्वाचन नहुने भएको हो । यो चुनाव क्याम्पस प्रशासनका कारण नभइ विद्यार्थीहरुकै कारण नहुने भएको हो ।
सबै विद्यार्थी संगठन र क्याम्पस प्रशासनबीच पटक पटकको संवादपछि दल दर्ताको कार्यक्रम तय भए पनि एमाले निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले संशोधित निर्वाचन तालिका च्यातेर चुनाव भाँडेको सात विद्यार्थी संगठनले आरोप लगाएका छन् ।
उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै ‘त्रिविकिो सूचना बमोजिम मनोनयन दर्ता र निर्वाचनको मिति हेरफेर गर्न नसकिने बाध्यकारी अवस्थासमेत मनन नगरी विद्यार्थीहरुको संरक्षण गर्ने स्ववियु जस्तो संस्थाको निर्वाचन झिनो प्राविधिक कारण देखाइ अनिश्चिततातर्फ धकेल्ने यो कार्यले विद्यार्थी आन्दोलनको गतिशिलतालाई प्रभावित गर्ने निश्चित छ ।’
उम्मेदवारी मनोनयन दर्ता गर्ने समय फागुन २७ गते रहेकामा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, राप्रविसं, नयाँ शक्ति विद्यार्थी युनियन, अखिल समाजवादी र अखिल बहुमतले फागुन २६ गते नै विज्ञप्ति निकाली निर्वाचन प्रक्रियामा सहभागी हुन आग्रह गरेका थिए ।
तर चुनावमा हारिने भयका कारण अनेरास्ववियुले चुनाव भाँडेको उनीहरुको आरोप छ ।
निवर्तमान स्ववियुमा बहुमत सदस्यहरु अनेरास्ववियु रहेका थिए । यद्यपि नेतृत्व माओवादी निकटको विद्यार्थी संगठनले जितेको थियो ।
यता नेविसंघले आफूले दुई वर्षको अवधिमा क्याम्पसमा गरेका कामहरुको फेहरिस्त प्रगति विवरण सार्वजनिक गरेको छ ।
६४ पृष्ठ लामो उक्त प्रतिवेदन सार्वजनिक भएसँगै अनेरास्ववियु अझै कमजोर देखिएको दाबीसहित नेविसंघले हार्ने भयले नै अनेरास्ववियुले चुनाव भाँडेको आरोप लगाएको छ ।