सुबिधामा विभेद गरेको भन्दै अपर तामाकोशीका कर्मचारी आन्दोलित
हाम्रा कुरा
प्रकाशित २०८१ चैत ७ बिहिबार
2.1k
Shares
तस्बिर – फाइल ।
दोलखा । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका कर्मचारीहरू आन्दोलनमा होमिने भएका छन् । विगत केही वर्षदेखि यस कम्पनीमा कार्यरत दोलखा जिल्लाबासी कर्मचारीहरू र अन्य जिल्लाका कर्मचारीहरूबीच सेवा सुबिधामा विभेद रहेको भन्दै उक्त सेवा सुबिधा समान गर्ने सहमतिको पालना नभएको भन्दै कर्मचारीहरूले आन्दोलन गर्ने घोषणा गरेका हुन् ।
उक्त सहमति गत असोज ६ गते भई गत माघ मसान्तसम्म समान कायम गर्ने भनिए पनि उक्त सहमति कार्यान्वयन नभएपछि पीडित कर्मचारीहरूले माग पूरा गर्नका लागि आन्दोलन थाल्ने भएका हुन् ।
दोलखा जिल्लाबासी करार कर्मचारी संघर्ष समिति अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका संयोजक रामबहादुर खड्काले प्रेस विज्ञप्ति जारी गरी सहमति कार्यान्वयन नगरेसम्म आगामी चैत १० गतेदेखि आन्दोलन गर्ने जनाएका हुन् ।
१० गतेदेखि सहमति कार्यान्वयन नगरेसम्म शान्तिपूर्ण विरोध सभा गर्ने, कम्पनीको सवारी साधन सञ्चालनमा रोक, गोकणेश्वरस्थित कार्यालयको कामकाज ठप्प पार्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।
तर गोंगरस्थित पावर प्लान्ट सञ्चालनमा कुनै अवरोध नगर्ने निर्णय पनि आन्दोलित पीडित कर्मचारीहरूले जनाएका छन् ।