‘हेरिटेज वाक वे’ को रूपमा विकास हुँदै नक्साल (तस्बिर)
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १३ बुधबार
962
Shares
तस्बिर : नेपाल फोटो लाइब्रेरी
काठमाडौँ। केही वर्षदेखि अस्तव्यस्त रहेको काठमाडौँ उपत्यका भित्रको ऐतिहासिक नगरी नक्सालको नाग पोखरी देखि भगवती बहालसम्म जाने सडक निर्माणको अन्तिम चरणमा पुगेको छ। कालोपत्रे सडक भत्काएर अहिले ढुङ्गा छापिएको यो सडक ठेक्का लागेको दुई वर्ष बितिसक्दा बल्ल निर्माण अन्तिम चरणमा पुगेको हो।
सो सडक निर्माणका क्रममा विभिन्न विवाद समेत सुरु भएको थियो। काठमाडौँ उपत्यका विकास प्राधिकरण मातहतको काठमाडौँ जिल्ला आयुक्तको कार्यालयले सो सडक भत्काएर त्यसमाथि ढुङ्गा छाप्नलाई प्रक्रिया अघि बढाएको थियो। कतिपय स्थानीय यो ठाउँमा ढुङ्गा बिछ्याउन नहुने र कालोपत्रे गर्नुपर्ने उनीहरूको माग रहेको थियो।
विशेष गरी ठूला गाडी र मालवाहक ट्रक प्रवेश नहुने भए पछि सो क्षेत्रको व्यापार–व्यवसाय गरिरहेका स्थानीयले कालोपत्रे गर्नु पर्ने माग राखेका थिए। लिच्छविकालीन नगरीको रूपमा रहेको नक्सालमा पुरातात्त्विक महत्वका सम्पदाहरू राजा मानदेवको पालाको सङ्कर कीर्ति बिहार छ। तीन सय वर्ष पुरानो नन्दी केशर मन्दिर र सात सय वर्ष पुराना घरहरू समेत रहेका छन्।
जस कारण सम्पदा संरक्षण अभियन्ता र सम्पदा प्रेमीहरूको पहलमा भगवती बहालदेखि नारायणचौरसम्मको ४१० मिटर र कमलपोखरीबाट सिंह दोबाटो जाने ४२२ मिटर लामो सडकमा ढुङ्गा बिछ्याउने काम अगाडि बढाएको हो।
प्राधिकरणले चार करोड ५१ लाख ६५ हजार ७०६ रुपैयाँ लागतमा निर्माण गरिरहेको यो सडक ‘हेरिटेज वाक वे’ अर्थात् सम्पदा पदमार्गका रूपमा निर्माण गरिँदै छ।