राप्रपामा दुई धार, निम्त्यायो तीनकुने हिंसाले विवाद
राप्रपा बैठकमा आन्दोलनको स्वामित्व लिने कि नलिने भन्नेमा चर्को रुपमा विषय उठाउने, लिङ्देनलाई हटाउनेसम्मको तयारी
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १६ शनिबार
3.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । राजसंस्था पुनःस्थापित गर्ने मागलाई आफ्नो प्रमुख मुद्दा बनाएको संसदीय प्रणालीमा सक्रिय दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र दुई धार देखिएको छ । शुक्रबार राजावादीहरुले राजधानीको तीनकुनेमा हिंसा मच्याएपछि राप्रपामा विवाद देखिएको हो ।
आफ्ना पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जबरा सहितका नेता तथा कार्यकर्ता पक्राउ पर्दासमेत अध्यक्ष राजेन्द्र लिङ्देन भेट्न नगएको र आन्दोलन राप्रपाको होइन भन्ने अभिव्यक्ति दिएसँगै बाँकी पदाधिकारीहरूले आक्रोश व्यक्त गरेका हुन् ।
राप्रपाको बैठक दिउँसो ३ बजे बस्दैछ । उक्त बैठकमा आन्दोलनको स्वामित्व लिने कि नलिने भन्नेमा चर्को रुपमा विषय उठाउने बताइएको छ ।
स्वामित्व नलिने हो भने राप्रपामा बसिरहनुको कुनै अर्थ नरहेको भन्दै लिङ्देनलाई चर्को दबाब दिने तयारीमा नेताहरु देखिएका छन् ।
यद्यपि शुक्रबारको आन्दोलन त्यो मोडलमा तय भएको थिएन । एक्कासी हिंसात्मक शैलीमा कार्यकर्ताहरु उत्रिएपछि तनाव सिर्जना भएको हो ।
पूर्वराजाका समर्थकले तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिएका थिए । तर उक्त प्रदर्शनका क्रममा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत यातायातका सवारी साधनमाथि तोडफोड भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मानवीय र भौतिक क्षति भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै क्षतिको विवरणसमेत सार्वजनिक गरेको छ । तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको घोषणा गरिएको प्रहरीले जनाएको छ ।
तीनकुनेस्थित मार्बल हाउसमा सुरेश रजक मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सो घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका थिए ।
यसैगरी नौ वटा सरकारी सवारी साधन, छ वटा सरकारी वा निजी नखुलेका सवारी साधनमा आगजनी भएको छ ।
विभिन्न १४ स्थानमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक स्थानमा लुटपाट भएको जिल्ला प्रहरी परिसर प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।
एकाएक माहोल बिग्रिएपछि सुरक्षा संयन्त्रमाथि पनि प्रश्नचिन्ह खडा भएको थियो । स्थिति बिग्रिन सक्छ भन्ने अवस्था आँकलन नगरी खुला छाडिदिँदा अकालमा दुई जनाले ज्यान गुमाउनु परेको छ ।