arrow

शुक्रबारे हिंसात्मक घटनाबारे पूर्वराजाको धारणा के हो ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ चैत १६ शनिबार
kp-sitaula-81-12-16.jpg

काठमाडौँ । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले शुक्रबार भएको अराजकतावादी आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको धारणा मागेका छन् । शनिबार बीपी चिन्तन प्रतिष्ठानले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सिटौलाले शुक्रबारको घटनाबारे पूर्वराजाको धारणा माग गरेका हुन् ।

‘हिजो काठमाडौँको कोटेश्वर आसपासमा राजावादीहरुले जे हिंसात्मक र दुःखद घटना घटाए त्यसप्रति मेरो खेद छ, घटनाको म भत्सर्ना गर्दछु । घटना पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा घटेको हो वा होइन ? हो भने उहाँले जिम्मेवारी लिनुपर्छ, होइन भने त्यसको जवाफ दिनुपर्छ’, सिटौलाले भने ।

सिटौलाले पूर्वराजालाई सरकारले दिएको सम्मान र सुरक्षाको ख्याल गर्नुपर्नेसमेत बताए । उनले अघि भने, ‘पूर्व राजा ज्ञानेन्द्र पोखराबाट फर्कँदै गर्दा, एयरपोर्टबाट गौशाला हुँदै निर्मलनिवास जाँदै गर्दा जुनजुन कुराहरु उठान भएका छन, त्यसको उपज हिजोको घटना हो भन्ने बुझिन्छ, उहाँको निवासमा प्रदर्शनको संचालन र तयारीबारे केही बैठक र छलफल भएका कुरा पनि बाहिर आएका छन् ।’

उनले पूर्वराजा ज्ञानेन्द्रलाई राजा हुँदा जस्तै व्यवहार नदेखाउन आग्रहसमेत गरे। ‘राजा हुँदा पनि जनतामाथि आतंक, अन्तिम राजा भएका बेलामा पनि जनतामाथि आतंक ?’ सिटौलाको प्रश्न थियो।

राजाहरूको पटक पटकको लोकतन्त्रमाथिको अतिक्रमणपछि गणतन्त्र आएको बताउँदै सिटौलाले गणतन्त्र नउल्टिने पनि बताए।

‘गणतन्त्र अहिलेको महान् उपलब्धि हो, राजाहरूको पटक पटकको लोकतन्त्रमाथिको अतिक्रमणपछि गणतन्त्र आएको हो, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी र संघीयता आजको महान् उपलब्धि हो, यी उल्टिदैनन् ।’

उनले संविधान संशोधनका कुरा उठिरहेको भन्दै संविधान संशोधन हुनै नसक्ने जड वस्तु नभएको बताए । पहिले संविधान कार्यान्वयन र राज्य संचालनको समीक्षा गरिनु पर्ने भन्दै सिटौलाले जनता र राष्ट्रको हितमा संविधान संशोधन गर्दै राज्य संचालनमा पनि सुधार गर्न राजनीतिक दलहरु एक भएर अघि बढ्नु पर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ