arrow

धुले सडकले धुलिखेलमा घटे पर्यटक, व्यवसायी चिन्तित [भिडियो]

logo
सरोजश्री अधिकारी,
प्रकाशित २०८१ चैत २२ शुक्रबार
dhulikhel-rods-.jpg

काभ्रेपलाञ्चोक । सूर्यविनायक-धुलिखेल सडक विस्तारमा भएको ढिलाईले सर्वसाधारणलाई निराश पारेको छ । वरिपरिका स्थानीयलाई बिमार पारेको छ । त्यतिमात्र होइन धुलिखेलका होटल व्यवसायी पनि मर्कामा परेका छन् ।  होटल व्यवसायीहरु भन्छन् – सडकको दुर्दशाका कारण ग्राहक आउनै छाडे ।

करिब दुई वर्षदेखि निर्माण भइरहेको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको काम निर्धारित समयमा नसकिने निर्माणको जिम्मा लिएको लामा कन्ट्रक्सन कम्पनीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले बिहीबार साँगा–धुलिखेल सडक, धुलिखेल–खावा सडक र धुलिखेल–नेपालथोक सडकको वर्तमान अवस्था बारेमा सरोकारवालाहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा कम्पनीले यस्तो बताएको हो । 

निर्माणका क्रममा विभिन्न ठाउँमा अवरोध आएको, विद्युतका पोलहरु सार्न समय लागेको र घरटहरा तथा ढल व्यवस्थापनका काममा समय लागेका कारण निर्धारित समयमा काम नसकिने भएको सो कम्पनीका म्यानेजर रविन्द्र श्रेष्ठले बताए । 

उनले आफूहरुसँग पर्याप्त जनशक्ति र निर्माण उपकरणहरु भए पनि केही ठाउँमा अवरोध आएका कारण सडक निर्माणमा केही बिलम्ब हुन गएको र धेरै ठाउँमा यस्ता समस्या समाधान भइसकेकाले जतिसक्दो छिटो काम सक्ने गरी कम्पनी लागिरहेको जानकारी दिए । 

कार्यक्रममा सूर्य विनायक–धुलिखेल सडक आयोजना, भक्तपुरका सिनियर डिभिजनल इन्जिनियर सजना अधिकारीले कार्यपत्र प्रस्तुत गर्दै यस वर्ष विनियोजित १ अर्ब १२ करोड ६ लाख बजेटमध्ये ७६ करोड ७६ लाख अर्थात ६८.४९ प्रतिशत खर्च भएको जानकारी दिए । 

उनका अनुसार हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ । १५.७ किलोमिटरको उक्त सडक ६ लेनमा विस्तार गर्न भन्दै ०७९ मंसिरमा ३ वर्षभित्र काम सक्ने गरी सम्झौता भएको थियो ।

यसैगरी धुलिखेल–खावा खण्डको ४ किलोमिटर सडकमा यसअघि निर्माण जिम्मा लिएको कम्पनीले समयमा काम नसकेको भन्दै सरकारले ठेक्का सम्झौता खारेज गरेको छ । 

यहाँ अब नयाँ ठेक्का लगाउने प्रक्रियामा रहेको डिभिजन सडक कार्यालय, भक्तपुरका प्रमुख सुमन योगेशले जानकारी दिए । स्रोत सहमति लिनुपर्ने कानूनी बाध्यताले केही ढिला भएको बताउँदै उनले आगामी बर्खायाम अघि काम सक्ने गरी छिट्टै निर्माण शुरु गरिने जानकारी दिए । 

उता बीपी राजमार्गको कामलाई पनि बर्खायाममा अवरोध नहुने गरी निर्माण शुरु गरिसकिएको पनि उनले बताए । 

पर्यटन व्यवसायी ज्योत्सना सैंजु,  स्याम महत, प्रेमकण्ठ माकजूले अव्यवस्थित सडकका कारण धुलिखेल आउने पर्यटकको संख्यामासमेत कमी आएको भन्दै चिन्ता व्यक्त गरे ।  सडक समयमै सम्पन्न नहुँदा पर्यटन क्षेत्रमा संकट निम्तने उनीहरुको गुनासो थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ