पक्राउ परे लगत्तै पाँच दिनमै खोसियो रविको सभापतिको जिम्मेवारी
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २३ शनिबार
3.2k
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई दिएको छ । केन्द्रीय सचिवालयको बसेको बैठकले सो निर्णय गरेको हो । यसअघि पनि डीपीले नै कार्यवाहक सम्हालेका थिए ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासले सो पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार साँझ पक्राउ गरेको थियो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेत नेतृत्वको टोलीले नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिए ।
उनका अनुसार लामिछानेलाई काठमाडौँको बूढानीलकण्ठस्थित हेपाली हाइटबाट नियन्त्रणमा लिइएको हो ।
सभापति लामिछाने पक्राउ भए लगत्तै सो पार्टीको सचिवालय बैठक बसेको हो ।
बैठकले अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्दै अदालत, संविधान र कानूनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लागि अघि बढ्ने निर्णय गरेको छ ।
यस्तै आज शनिबार दिउँसो २ बजे चितवनको भरतपुरमा आयोजना हुन लागेको सभालाई शान्त र सौम्य बनाउन बैठकले निर्देशन दिएको छ ।
रविले गत सोमबार चैत १८ गते सभापतिको जिम्मेवारी लिएका थिए । जिम्मेवारी लिए लगत्तै उनले शीर्ष दलका नेताहरुलाई गाली गर्न थालेका थिए ।
उनले नेताहरुका फाइल खोल्ने धम्की दिँदै आफू नितान्त चोखो रहेको प्रमाण पेश गर्दै नेता कार्यकर्तालाई उरालेका थिए ।
उनले अहिलेको तन्त्रप्रतिसमेत असन्तुष्टि राखेका थिए । अहिलेको तन्त्रबाटै पार्टी गठन गरेर ०७९ को संसदीय निर्वाँचनमा भाग लिएर चौथो ठूलो दल भएको बिर्सेर रविले एकाएक शीर्ष दलहरुप्रति आक्रोश पोख्दै उनीहरुसँग बसेर फोटो खिच्ने रहर नभएको बताएका थिए ।
यसपालि रुपन्देहीको सुप्रिम सहकारी ठगी तथा संगठित अपराधमा उनलाई थुनामा पठाउने आदेश भएसँगै प्रहरीले शुक्रबार साँझै प्रक्राउ गरेको हो ।
उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई थुनामा पठाउने आदेश गरेको थियो ।
उक्त मुद्दामा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा हुने आदेश गरेको थियो । उच्च अदालतले उक्त मुद्दा बदर गर्दै रविलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो ।
जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई एक करोड धरौटीमा रिहा हुने आदेश दिएको थियो । तर सोही मुद्धामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
उक्त आदेशविरुद्ध उच्च अदालत गएपछि रविलाई धरौटीमा छोड्ने आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालतमा पुनरावेदनको निवेदन दिएको थियो ।
उक्त निवेदनपछि रविले पनि आफ्नोविरुद्ध धरौटीको आदेश बदर गरी साधारण तारेखमा राख्ने माग लिएर पुनरावेदन निवेदन दिएका थिए ।
रविलाई यसअघि चार ओटा सहकारी ठगीमा २ करोड ७९ लाख धरौती तिराएर साधारण तारेखमा छाडिएको थियो ।
रवि जेल गएसँगै रास्वपाभित्र फेरि विचलन आउने देखिएको छ ।
उनी यसअघि कार्तिक २ गते पक्राउ परेका थिए । गत कार्तिक २ गते काठमाडौँमा पक्राउ परेपछि उनी सांसदबाट निलम्बित भएका थिए ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरण मुद्दा लागेपछि सङ्घीय संसद् सचिवालयले गत पुस ८ गते सूचना निकालेर सांसद पद निलम्बन गरेको थियो ।
कुर्सीमा रहन नपाएको साढे पाँच महिनापछि रवि गत १८ गते पुनः सभापतिको कुर्सीमा बसेका थिए । उच्च अदालतको आदेशपछि पक्राउ परेका रवि अब भने सहजै उम्किने अवस्था देखिँदैन ।