राजा फर्काउने इच्छा पूर्वराजाकै होइन रहेछ - माधव नेपाल [भिडियो]
गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौँ, प्रचण्डजी पछि आउनुभएको हो
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २४ आइतबार
789
Shares
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजा फर्काउने इच्छा पूर्वराजा ज्ञानेन्द्र शाहकै नभएको बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा उनले पूर्वराजा शाहका सचिवले अहिले राजा फर्काउने कुरा नभएको र राजाको इच्छा पनि नरहेको कुरा भनेको आफूले सुनेको भन्दै धन्यवाद ज्ञापन गरे ।
पूर्वराजाको इच्छा नगरेको कुरापछि बाहिर हल्ला मात्रै रहेको र त्यसले मन शान्त भएको उनको भनाइ छ । पूर्वराजाको नाम लिएर अरूले फाइदा उठाउन खोजेको भन्दै राजनीति गर्ने भए पार्टी खोलेर चुनावमा आउन पूर्वराजालाई चुनौती दिए । उनले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर आएको बताए।
अध्यक्ष नेपालले भने, ‘एउटा राम्रो कुरा मैले सुनेँ । राम्रो कुरा के हो भने त्यो उनको पूर्वराजाको सचिव एक जनाले बोलेको कुरा सही हो भने, मलाई थाहा छैन । अहिले राजा फर्काउने कुरा छैन, राजाको इच्छा पनि होइन । पूर्वराजाको इच्छा पनि होइन । बाहिरको हल्ला मात्रै हो भने पनि अलिकति मन शान्त भएको छ । अरूले पनि फाइदा उठाउन खोजेका रहेछन् । यदि त्यो हो भने म पूर्वराजा ज्ञानेन्द्रलाई धन्यवाद दिन चाहन्छु । राजनीति गर्नु छ भने पार्टी खोल्नुस् । राजनीतिक मैदानमा आउनुस् । जनताको बीचमा जानुस् । चुनावमा जितेर बहुमत ल्याउनुस् । देश र जनताको कल्याण गर्नुहुन्छ भने खुशीकै कुरो । हामीले त केपी ओलीलाई राम्रो बन्नुस् भनिरहेका छौँ । हाम्रो सासै गन्हाउने मान्छे, अनुहार नै मन नपराउने मान्छे त्यही पनि राम्रो गरिदिनुस् भनिरहेका छौँ । कसैसँग आग्रह पाल्ने, पूर्वाग्रह राखेका छैनौँ । ज्ञानेन्द्रले पनि उहिले छोडिसकेको हो । यी जम्मै कुराहरू गर्ने हामी तीन जना नेता हौँ । एउटा गिरिजाप्रसाद कोइराला, दोस्रो म र त्यसपछि ज्ञानेन्द्र । पछि मात्रै हुन् प्रचण्ड जी । पछि मात्रै हो उहाँहरु आएको भनेको त जनयुद्धको जुन इलाकाबाट पछि आएको मात्रै हो । मङ्सिर महिनामा हामीले सहमति गरिसकेपछि मात्रै आएको हो । हाम्रो पार्टीले गणतन्त्र ल्याउने निर्णय हामीले गरेको साउन महिनामा हो । बसेर सहमति गरेको २०६३ सालको वैशाखको ११ गते हो । ११ गते बस्दा म र गिरिजाबाबु थियौँ । हामीले सबै सहमति गरेर कागज तयार गरेका हौँ । सबै अधिकार जनतालाई त्यही बेलामा सुम्पिएको हो ।’
अध्यक्ष नेपालले राजाहरूले विगतमा के काम गरेर अहिले राजा फर्काउने भन्दै प्रश्न गरे । उनले जनताले रोजेको व्यक्ति भन्दा वंशको शासनले देशको भलो गर्न नसक्ने बताए । वंशको शासन कहिले पनि राम्रो नहुने उनको भनाइ छ । पूर्वराजालाई फर्काउनुको पछाडि कुनै देश बनाउने, विकास गर्ने योजना छ ? भन्दै प्रश्न गरे ।