काठमाडौँ । एपेक नेपालले २६औँ वार्षिकोत्सवको अवसर पारेर दुई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
सोमबार एपेकले आयोजना गरेको कार्यक्रममा ‘विश्व–ज्योति काव्य सम्मान—२०८१’ साहित्यकार उषा शेरचनलाई र ‘विश्व–ज्योति पाण्डुलिपि पुरस्कार—२०८१’ कवि हेमन्त शिशिरलाई प्रदान गरियो ।
कार्यक्रममा सम्मानकासाथ नगद राशि ५१ हजार रुपैयाँ प्रदान गरियो भने हेमन्त शिशिर लिखित पुरस्कृत पाण्डुलिपि ‘बन्द कोठाको झ्याल’ पुस्तकका रूपमा प्रकाशित गरियो । उक्त कविताकृतिको लोकार्पण समेत गरियो ।
कार्यक्रमका विशेष अतिथि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले सर्जकहरूलाई सम्मानित गर्दै एपेकले नेपाली कला र साहित्यलाई समाजसँग जोड्दै गरेको काम उल्लेखनीय भएको बताए ।
सम्मानित साहित्यकार उषा शेरचनले अक्षरको खेती गर्नु आफ्नो धर्म र कर्म भएको बताउँदै यस पुरस्कारले आफूमाथि थप जिम्मेवारी थपिएको उल्लेख गरिन् । पुरस्कृत कवि हेमन्त शिशिरले कविता वाचन गरेका थिए ।
एपेकका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठले एपेकले साहित्य, कला र रंगमंचलाई सधैँ जोड्दै आएको बताउँदै उषा शेरचनलाई सम्मान गर्द पाउँदा संस्था आफैं सम्मानित भएको अनुभूत भएको बताए ।
उनले पाण्डुलिपि पुरस्कारका लागि ४६ वटा कविताका पाण्डुलिपि प्राप्त भएको र त्यसमा विभिन्न चरण पार गर्दै हेमन्तको कृति छनौट भएको चर्चा गरे ।
एपेकका कार्यक्रम संयोजक कवि राजेन्द्र शलभले कवि विश्वविमोहनकि धर्मपत्नी ज्योति श्रेष्ठको स्मृतिमा यस वर्षदेखि विश्व ज्योति काव्य सम्मान र विश्व ज्योति पाण्डुलिपि पुरस्कारको व्यवस्था गरिएको जानकारी गराए ।
कार्यक्रममा डा. रजनी ढकालले सम्मानित तथा पुरस्कृत साहित्यकारहरूको परिचय प्रस्तुत गरेकी थिइन् ।
उक्त अवसरमा एपेकले आयोजना गरेको काव्यचित्र सिर्जना शिविरमा सहभागि कवि र चित्रकारहरूलाई प्रमाणपत्र प्रदान गरियो ।
कार्यक्रमको अन्तिममा रंगकर्मी वीरेन्द्र हमालको निर्देशनमा कविहरू उषा शेरचन, लक्ष्मी माली, विश्वविमोहन श्रेष्ठ, राजेन्द्र शलभ, विधान आचार्य, बाबु त्रिपाठी र प्रज्वल अधिकारीका सात कविता एम आर्ट थिएटरका कलाकारहरूले मञ्चन गरेका थिए ।