तीनकुनेमा आगजनी र तोडफोड गर्ने माओवादी कार्यकर्ता भएको आरोप [भिडियो]
झुटा मुद्दाहरू तत्काल फिर्ता गरियोस्
हाम्रा कुरा
प्रकाशित २०८१ चैत २६ मंगलबार
740
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गत चैत १५ गते सार्वजनिक तथा निजी सम्पत्तिमाथि आगजनी र तोडफोड गर्ने माओवादीका कार्यकर्ता भएको आरोप लगाएका छन् । मंगलबार राप्रपाले बल्खुमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले तोडफोड गर्न कार्यकर्ता पठाएर झुटा मुद्दामा राप्रपा नेताहरू धवल शमशेर राणा, रवीन्द्र मिश्र र पशुपति खड्कालाई थुनिएको बताए ।
पक्राउ गरिएका राप्रपा नेता कार्यकर्ताहरूलाई नछोडिए जनताले गणतन्त्रवादी नेताहरुको घर घेर्ने दिन आउने उनको चेतावनी छ । उनले जनताले घर घेरे भागेर कहाँ जान्छौं ? भन्दै गणतन्त्रवादी नेताहरूलाई प्रश्न समेत गरे ।
प्रमुख सचेतक शाहीले भने, ‘अहिले प्रमाणित भयो । सरकार सम्पत्ति तोडफोड गर्ने, जडीबुटीमा आगो लाउने माओवादीको कार्यकर्ता भएको आज पुष्टि भएको छ । त्यस्ता भिजलान्तेहरु प्रयोग गरेर, झुटा मुद्दा लगाएर हाम्रा साथीहरूलाई थुनिएको छ । पार्टी उपाध्यक्ष रवीन्द्र मिश्र र माननीय सांसद धवल शमशेर राणा, पशुपति खड्का लगायत राष्ट्रवादी साथिहरुलाई थुनिएको छ । म सरकारलाई अपिल र अनुरोध गर्न चाहन्छु झुटा मुद्दा लगाएर थुन्ने कोसिस नगरियोस् । यदि थुन्ने कोसिस गरियो भने भोलि हजारौँ जनताले तिमीहरूको घर घेर्नेछन् । त्यो दिन भागेर तिमीहरू कहाँ जाने ? यी झुटा मुद्दाहरू तत्काल फिर्ता गरियोस् । ’