राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी - प्रचण्ड
सरकार ढाल्ने विषयमा आफ्नो पार्टीको कुनै रुचि छैन
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ४ बिहिबार
772
Shares
लुम्बिनी । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी रहेको बताएका छन् ।
पार्टीले सञ्चालन गरेको जागरण अभियानअन्तर्गत बुधबार बेलुका रुपन्देही आइपुगेका अध्यक्ष प्रचण्डले आज भैरहवामा प्रेस सेन्टर नेपाल, रुपन्देहीले आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपा (एमाले) र नेपाली कांग्रेसले सरकार गठनका बेला संविधान संशोधनको कुरा ल्याए पनि अहिले चासो नदिएको भनी चिन्ता व्यक्त गरे ।
“स्थिरताका लागि संविधान संशोधन जरुरी छ, १० वर्षमा समीक्षा गरेर संशोधन गरिनुपर्दछ”, उनले भने, “संविधान संशोधन जनताका अधिकार कुण्ठित बनाउन होइन अधिकार थप गर्नलाई हो, हामी त्यसमा प्रतिबद्ध छौँ ।”
उनले सरकार ढाल्ने विषयमा आफ्नो पार्टीको कुनै रुचि नरहेको स्पष्ट गर्दै जनताका अधिकार स्थापित गर्न र दुःख बुझ्न जागरण अभियान सञ्चालन गरेको बताए ।
उनले गत फागुन ११ गतेदेखि पूर्वको झापाबाट सुरु भएको तराई–मधेस जागरण अभियानअन्तर्गत हुलाकी मार्गको यात्राका क्रममा किसानका समस्या, सहिद–बेपत्ता परिवारका समस्या बुझ्ने मौका पाएको बताए ।