हतकडीमा कसिएका कर्मशील पाखुरा
अगाडि कठोर प्रहरीका नीलो भ्यान
उमेरले बिस मात्र टेकेकी भए पनि
गरिबीले पिसिएर चालिसझैँ देखिने श्रीमती
सुकेनासग्रस्त दुधे बालक
पीडाले भरिएको तिनीहरुको रोदन ।
विशाल भवनको अर्ध अन्धकार कोठामा
काला कोटका अघिल्तिर,
पावरवाला चस्मा नाकको डाडीमा अडाएर
गज बसेको एउटा शरीर
अनि उसको
धम्कीयुक्त निर्देशन
कारबाही शुरु गरेस् ।
कालोकोटको लामो बहस
अनि उसको निष्कर्ष
श्रीमान् यो हत्यारा हो
कडा भन्दा कडा सजाय
दिइयोस् यस्लाई l
कालोकोटको याचिकाले
डर कठोर सजायको
र गहिरो पीडा ।
संगै बाँच्ने र मर्ने बाचा गरेकी
जीवन संगिनी
र
उसको काखको दुधे बालकको भविष्य
मानसपटलमा बज्रिदै गर्दा त्रासको घन l
अनयास कानमा ठोक्छ
जहानको कर्कस आवाज
के टोलाएर बसेको ?
ढिडो खाने बेला भएन ?
झसंग हुन्छु र हेर्छु
भल फुटाउदै शरीरमा पसिनाको
हातमा नांगो खुकुरी
खुकुरीमा रगतका टाटा,
अनि अगाडि मरिरहेको मुसा।
आफैसँग लज्जाबोध हुन्छ,
ङिच्च हाँस्छु,
अनि फाटेको मैलो टोपीले
पसिना पुछ्दै मनमनै भन्छु
"पंचायत, बहुदल, लोकतन्त्र, र गणतन्त्रमा”
निर्दोष हजारौं जनताको रगत बगाउनेले त
उन्मुक्ति पाइरहेका छन् यो देशमा
मैले मारेको त जाबो मुसा न हो !