प्रथम समावेशी खुला पारा टेबुलटेनिस प्रतियोगिता सम्पन्न
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख ७ आइतबार
12.5k
Shares
काठमाडौं । राष्ट्रिय शारीरिक अपाङ्ग टेबलुटेनिस संघ नेपालले अन्तर्राष्ट्रिय टेबुल टेनिस फाउण्डेशनको सहयोगमा प्रथम समावेशी खुला पारा टेबुलटेनिस खेल प्रतियोगिता गराएको छ ।
जोरपाटी खगेन्द्र सामुदायिक भवन जोरपाटीमा संघले अपाङ्गता भएका र अपाङ्गता नभएका व्यक्तिहरुबीच खुला टेबुलटेनिस प्रतिस्पर्धा गराएको हो ।
उक्त प्रतिस्पर्धामा राजीव छिकाबंजरले उपाधि जित्न सफल भएका छन् । फाइनल खेलमा उनले रक्त चन्द्र मानन्धरलाई पराजित गर्दै उपाधि आफ्नो पक्षमा पार्न सफल भएका हुन् ।
फाइनल खेल निकै प्रतिस्पर्धात्मक रह्यो । राजीवले १४–११, ११–९,१३–११ को सेट स्कोरमा मानन्धरलाई हराएका थिए । धर्मराज थापाले भने तेस्रो स्थान हासिल गरेका छन् ।
यसअघि सेमिफाइनलमा मानन्धरले थापालाई १४–११, ११–१३, १६–१५ को कडा प्रतिस्पर्धामा पराजित गर्दै फाइनल प्रवेश गरेका थिए ।
प्रतियोगिताले सबै उमेर समूह र भिन्न–भिन्न पृष्ठभूमिका खेलाडीहरूलाई एउटै मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गरेको आयोजक संघले जनाएको छ ।
समावेशीतालाई प्राथमिकता दिँदै आयोजना गरिएको प्रतियोगिताले खेलकुदमा समावेशी मूल्य–मान्यतालाई प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरिएको छ ।
विजेता खेलाडीहरूलाइ प्रमाणपत्र, नगद पुरस्कार र मेडल वितरण वितरण गर्दै प्रमुख अतिथि बागमती प्रदेशसभा सदस्य लक्ष्मी घिमिरेले अपांगता भएका र नभएका खेलाडीहरूको प्रतिस्पर्धाबाट अपांगता भएका खेलाडीहरूले धेरै कुरा सिक्न सक्ने बताउँदै अबका दिनमा पारा टेबुलटेनिस खेलको विकाशका लागि आफूले प्रदेश सरकारबाट बजेट विनियोजन गर्न सक्दो प्रयास गर्न बताए ।
त्यसैगरी कार्यक्रमका विशिष्ठ अतिथि तथा खेलकुद परिषद, खेलकूद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले अपांगता भएका र नभएका खेलाडीहरूको प्रतिस्पर्धा आयोजना गरेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पारा खेलाडीहरूलाइ आफ्नो व्यक्तिगत प्रयास र राष्ट्रिय खेलकूद परिषदको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
अपांगता भएका खेलाडीहरूलाई हौसला बढाउन समावेशी खुल्ला पारा टेबुलटेनिस खेल सञ्चालन गरिएको राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस संघ नेपालका अध्यक्ष गणेश केसीले बताए ।
उनले अपाङ्गता भएका व्यक्ति र अरुसँग पनि प्रतिस्पर्धा गरेर कस्तो खालको खेल खेल्नुपर्ने रहेछ, आफूलाई कसरी सुर्धानुपर्ने रहेछ, आफू आफूबीचको खेलले भन्दा अरुसँगको प्रतिस्पर्धामा आफूलाई अब्बल बनाउन र खेलका टेक्निक र तरिकाहरु कसरी सुर्धान सकिन्छ भन्ने ज्ञान प्राप्त होस भन्ने उद्देश्यले समावेशी खेलकुद आयोजना गरिएको जानकारी दिए ।
उनले भने, ‘अपांगता भएकाहरु जो घरभित्र रहनुहुन्छ उहाँहरुलाई खेलकुदबाट उत्साह जोगाउने, शसक्तिकरण गराउने र क्षमतालाई बाहिर ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरेका हौं । विगतमा अपाङ्गता भएका व्यक्तिहरुबीच मात्रै खेल खेलाएर उहाँहरुलाई प्रथम, दोस्रो र तेस्रो घोषणा गर्ने गरेका थियौं । तर यस पटक अपाङ्गता भएका व्यक्ति र अरुसँग पनि प्रतिस्पर्धा गराएर नयाँ सन्देश दिन खोजेका हौं ।’