तस्बिर – पद्मकन्या बहुमुखी क्याम्पसमा धुपी रोप्ने क्रममा कविता ।
काठमाडौँ । कविता गौतम साहित्य जगतकी एक उदाउँदो कवि हुन् । उनले लेखेका कविताले जीवन, सङ्घर्ष , देश र प्रेमको संदेश बोकेको हुन्छ। उनले लेखेका कविता साँच्चिकै सधैं सुनिरहुँ र पढिरहुँ लाग्ने खालका छन् ।
उनको परिचय केवल कविको रूपमा मात्र सीमित छैन। २१ औँ वसन्त टेक्न लागेकी कवितामा युवामा हुनुपर्ने भरपुर जोश र जाँगर देखिन्छ । उनी स्नातक तहकी विद्यार्थी हुन् । पद्मकन्या बहुमुखी क्याम्पसमा स्नातक तेस्रो वर्षमा अध्ययनरत कविता हालै स्ववियुको चुनावबाट सहायक सचिवमा निर्वाचितसमेत भएकी छिन् ।
उनले केही समय अगाडि पत्रकारितासमेत गरेकी थिइन् । पत्रकारिता गर्दै गर्दा उनले धेरै कुराको ज्ञान तथा अनुभव बटुल्ने अवसर आफूले पाएको बताएकी छिन् । कलिलै उमेरमा उनले आफ्नो क्षमतालाई प्रस्तुत गरिरहेकी हुन्छिन् ।
उनले आफ्नो फुर्सदको समयमा आफ्नो पसलमा मोडलिङ पनि गर्ने गर्छिन् । बहुप्रतिभाकी धनी कवितालाई जुनसुकै क्षेत्रमा पनि अगाडि देख्न सकिन्छ ।
उनको जन्म रामेछाप जिल्लामा भएको हो । उनी सामान्य परिवारमा हुर्किए पनि उसको प्रतिभा देखेर मोहित नहुने सायदै होलान् । उनले कविता दैनिक रूपमा लेख्ने गरेको बताएकी छिन् ।
उनी अहिले मात्र होइन नौ वर्षको उमेरदेखि कविता लेख्ने गर्थिन् र कविता प्रतियोगिता हुँदा जहिले प्रथम स्थान हासिल गर्थिन् । कविता सुनाउँदै गर्दा उनलाई छुट्टै खालको शक्ति पैदा हुने गरेको उनी बताउँछिन् ।
कविता भन्दै गर्दा आफ्नी आमा, दिदीहरु, शिक्षकहरु, साथीहरूबाट प्रेरित हुने गर्थिन् । उनी कवितामा मात्र होइन पढाइमा समेत अब्बल छिन् । उनलाई पढ्न , उनले विद्यालय स्तरीय, पालिका स्तरीय कविता प्रतियोगिता हुँदा सधैं प्रथम स्थान हासिल गर्दै आएकी हुन् ।
उनलाई कविता मात्र नभई राजनीतिमा पनि खुब चासो छ । राजनीति गर्नु उनको मात्र चासो नभएर उनले आफ्नो बुबाको सपना रहेको बताएकी छिन् । बुबाको सपना पूरा गर्ने प्रण पनि गरेकी छिन् ।
कविताले हारदेखि डर नमान्ने बताएकी छिन् । जीवनमा जतिसुकै दु:ख कष्ट आए पनि त्यसलाई झेलेर अघि बढ्ने बताउँछिन् । दु:खलाई एउटा पाठका रूपमा लिई आफू जसरी पनि अघि बढ्नु पर्ने कुरामा जोड दिन्छिन् ।
कविताले हाम्राकुरामा साप्ताहिक रुपमा कविता पठाउने गर्छिन् । उनले लेखेका कविता पाठकको रोजाइमासमेत परेको छ । उनी आफ्नो भोलिको भविस्य कविता र राजनीतिमा रहेको बताउँछिन् ।
कविता लेख्ने समयबारे उनी भन्छिन्, 'बेलुका जहिले पनि कविता लेख्छु ।' उनले 'मेरो जित' नामक पुस्तक पनि लेखेकी छिन् । पुस्तकमा जीवनको दु:ख, सुख सङ्घर्ष का कथादेखि कवितासमेत रहेको बताएकी छिन् ।
अडिग स्वभावकी गौतम परिवारकै कान्छी उनी दु:ख सुखलाई परैबाट नियालेको र बुबाको र आफ्नो सपना पूरा गर्नको लागि दिनरात मेहनत गर्नमा पछि नहट्ने बताउँछिन् । उनी आमा र दिदीको आशा र भरोसाको केन्द्र आफू रहेकाले आफू एकदमै बलियो भएको र रहनु पर्ने पनि बताउँछिन् ।