तीनकुने घटनामा राज्यले मानव अधिकार उल्लङ्घन गरेको पुष्टि भइसक्यो - ज्ञानेन्द्र शाही [भिडियो]
तीनकुनेमा भएको घटनामा विभिन्न मानव अधिकारसम्बन्धी सङ्घ सङ्गठनहरूले राज्यले मानव अधिकारको गम्भीर र ठाडो उल्लङ्घन गरेको भनेर पुष्टि समेत गरिसकेको छ
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २२ सोमबार
605
Shares
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर ज्ञानेन्द्र शाहीले तीनकुने घटनामा सरकारले मानव अधिकारको उल्लङ्घन गरेको पुष्टि भएको भन्दै न्यायिक छानबिन समिति गठनको माग गरेका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै सांसद शाहीले ४० दिनदेखि रवीन्द्र मिश्रसहितका व्यक्तिहरू थुनामा रहेको उल्लेख गर्दै राज्यले अत्यधिक दमन गरिरहेको आरोप लगाए । उनले पोखरामा बेलुन पड्किँदा न्यायिक छानबिन समिति बनाउने सरकारले सविन महर्जनको गोली हानेर मारिँदा समेत मौन बसेको भन्दै आपत्ति जनाए ।
उनले भने, ‘सरकारले राज्य आतङ्क अत्यधिक ज्यादा गरेको छ । ४० दिनदेखि रवीन्द्र मिश्र लगायतका साथीहरू आज पनि थुनामा छन् । तीनकुनेमा भएको घटनामा विभिन्न मानव अधिकारसम्बन्धी सङ्घ सङ्गठनहरूले राज्यले मानव अधिकारको गम्भीर र ठाडो उल्लङ्घन गरेको भनेर पुष्टि समेत गरिसकेको छ । तर राज्य थुनिराखेको छ । राज्यलाई म सोध्न चाहन्छु, पोखरामा बेलुन पड्किँदासम्म तिमीहरू न्यायिक छानबिन समिति बनाउनेले दिनदहाडै सविन महर्जनलाई टाउकोमा गोली हानेर हत्या गर्नेलाई किन न्यायिक छानबिन समिति बनाउँदैन ? न्यायिक छानबिन समिति आवश्यक छ ।’