राजसंस्था पुनर्स्थापनाका लागि अनिश्चितकालीन जनआन्दोलन घोषणा [भिडियो]
आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन शुरु
हाम्रा कुरा
प्रकाशित २०८२ वैशाख २५ बिहिबार
667
Shares
काठमाडौँ । राजसंस्था पुनर्स्थपनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले अनिश्चिकालिन जनआन्दोलनको घोषणा गरेको छ । बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा समितिका संयोजक नवराज सुवेदीले आगामी जेठ १५ गतेदेखि अनिश्चितकालिन जनआन्दोलन शुरु गर्ने बताए । उनले आन्दोलन शान्तिपूर्ण हुने बताए । भद्रअवज्ञा र सत्यग्रह आन्दोलनको स्वरुप हुने उनको भनाइ छ ।
उनले देश महाशक्ति राष्ट्रहरुको रणनीतिको प्रतिस्पर्धा बन्न लागेको भन्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयता गुम्दै गएको जिकिर गरे । उनले देशमा भ्रष्ट व्यवस्था र भ्रष्टहरुको शासन रहेकाले त्यसबाट देश र जनतालाई मुक्त गर्नु आन्दोलनको कार्यभार रहेको बताए । उनले संविधानले दिएको अधिकार प्रयोग गर्दै व्यवस्था परिवर्तनका लागि दबाब सिर्जना गर्न समितिमा आवद्ध दल तथा समूहहरु आन्दोलनमा उत्रिने बताए । आन्दोलन सरकार वा दलको विरुद्धमा नभएको उनको भनाइ छ ।
उनले भने, ‘नेपालको राजनीतिमा वाह्य शक्तिहरुको दबाब र प्रभाव तिब्र रुपले बढिरहेको छ । नेपाल अन्तर्राष्ट्रिय महाशक्तिहरुको रणनैतिक प्रतिस्पर्धा बन्न सक्ने टड्कारो खतरा देखिदै आएको छ । नेपाली जनताको सार्वभौम निर्णायकत्व संकुचित हुँदैछ । अन्तर्राष्ट्रिय जगतमा नेपालको विश्वसनीयतामा ठूलो ह्रास आएको छ ।
यो पृष्ठभूमिका विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकमाथि देश र जनतालाई मुक्त गराउनु वर्तमानको मुख्य अविभारा हो । जनताको अवस्था परिवर्तन गर्न व्यवस्था परिवर्तन अनिवार्य हुन गएको छ । संविधान प्रदत्त अधिकार प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिका लागि सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालिन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ ।
हामी सबै दलहरु र समूहहरु संयुक्तरुपमा जनआन्दोलन समितिमा आवद्ध रही आन्दोलन सफल पार्छौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हुने छ । भद्र अवज्ञा र सत्याग्रह आन्दोलनको स्वरुप हुने छ । हाम्रो आन्दोलन दल वा सरकारको विरुद्ध होइन, निरञ्कुशता र सर्वसत्तावादको अन्त्य गरी जनतामा निहित सार्वभौमसत्ता र जनताको निर्णायकत्वलाई थप सुदृढ बनाइ जनतालाई व्यवहारिक रुपमा देशको मालिक भएको अनुभुति दिलाउन आन्दोलनको मुख्य उद्देश्य हुनेछ ।’