निबन्धः वासनाले आँधी पनि ल्याउन सक्दछ । मेरो कान्छो भाइको टीकाटालोको कार्यक्रममा जाँदाखेरी थाहा पाएको हुँ । वासनाको वशमा परेकाहरू आफूलाई नियन्त्रण गर्न सक्दा रहेनछन् । रातिको १ बजेको थियो । एक्कासी निद्रा कचल्टियो ।
मेरो यौनाङ्ग कसैले मुसारिरहेको महसुस गरेँ । उठेर हेर्छु त बास बसेको घरको तरुनी छोरी थर थर काप्दै मसँग वासनाको आँधी साम्य पार्न आग्रह गरिरहेकी छे । ‘.....मेरो आग्रह नटाल्नुस् ?’ यो के ! फुसफुसाएको आवाज मेरो कानमा पर्यो ।
‘हुन्छ’ मैले भन्नै पर्यो र भने । स्थिति बडो जटिल थियो । म काठै काठले बनेको घरको बार्दलीमा सुतेको थिएँ । भर्याङ पल्तिरको कोठामा ती केटीको आमा सुतेकी थिइन् भने पूर्वतर्फको कोठामा ठूलो दाजु र तलतिर चाहिँ माहिलो दाजु भाउजू सुतेका थिए ।
ती तरुनी केटी, म सुतेको बार्दलीको छेउँकै पश्चिमको स्यानो कोठामा सुतेकी थिइन् । करिब २१ बर्षकी हुँदी हो, क्या आपत आइलाग्यो भने । त्यो गाउँमा सम्बन्ध जोड्न आएको हुँदा धेरैथरीका मानिसको राति अबेलासम्म जमघट थियो । नेपालमा पहिलो पटक भरखर कम्युनिष्टको अल्पमतको सरकार बनाको थियो, प्रधानमन्त्री मनमोहन अधिकारी सोही क्षेत्रबाट विजयी भएको हुँदा त्यस विषयमा पनि कुराकानी भएथ्यो ।
गाउँले मैत्रीपूर्ण वातावरण पाउँदा सुखद अनुभव गरेको थिए । किनभने गाउँलेहरू दिनभरी चर्को श्रम गर्ने हुँदा थाकेर लखतरान परेकाहरू सम्साँझैं सुत्छन्् भन्ने सुनेको थिएँ ।
गाउँमा संस्कृति र संस्कार मनोरन्जनको नाममा जीवित रहेको हुन्छ । बजारमा आएको दोहोरी गीत— पैसा कमाउने होडमा, संस्कृति र संस्कारलाई कुरुप बनाउँदै फोहरी गीतमा परिणत भएको छ ।
ग्रामीण संस्कृति व्यवसायवादीले बेरूपको बनाएका छन् । तर पनि गाउँ स्वच्छन्द पवित्र छ त्यहाँका संस्कृति मौलिक हुन्छ— केही बेरको कुराकानीमा मैले थाहा पाएको थिएँ ।
शौहार्दपूर्ण वातावरणमा रात छिपिउन्जेल गफगाफ भएको थियो । तर बिछौनामा गएपछि— एकातिर घरको मान्छे उठ्लान् भन्ने डर, अर्कोतिर घाँटीमा नचाहिँदो पासो, के गर्ने ? परिस्थितिसँग सम्झौता त गर्नै पर्यो र गरियो । यो घटना घटेको वर्षौं भइसक्यो तर पनि म त्यो भयावह स्थिति भुल्न सकिरहेको छैन ।
किन ती युवती यौन तृप्तिको लागि आक्रामक बनिन् ? सोमबहादुरकी तीन वटी स्वास्नीमा नीरजा देवीकी छोरी हुन् ती कामातुर युवती । प्रायः लोग्नेलाई कान्छी स्वास्नीले रिझाएको पाइन्छ तर नीरजा देवीले भने रिझाउन नसके पनि गाउँका धेरैलाई रिझाएकी थिइन् ।
मलाई थाहा छैन कि सो घटना आज यतिका दिनपछि लेख्नु हुन्थ्यो या हुँदैनथ्यो । आरोप आउन सक्छ सस्तो यौनको बारेमा लेखियो भनेर । संसारमा जे छ, सम्पूर्णसँग कुनै न कुनै रूपमा यौन जोडिएकै छ, आवरणमा या छाडापनमा, धेरै र थोरै, यस्ता कुराहरू पनि प्रश्नको रूपमा मनमा उठेको हो ।
व्यवसायी र साहित्यकार आज यसको अलग अलग स्थान छ । व्यवसायी मनोरन्जनको नाममा यौनलाई बजारको वस्तु बनाउँछ, यी दुवैको सोचमा ठूलो अन्तर छ ।
मलाई लाग्यो साहित्यलाई माया गर्ने नाताले यौन व्यापार बनाउनु हुँदैन र उच्छ«ङ्खल त बन्नदिनु हुँदै हुँदैन । क्षणिक आनन्दको कल्पनामा पौडिएर व्यवहारमा लागू गर्नेहरू यथार्थमा हाम्रै वरिपरि प्रसस्त छन् । यौनको बारेमा गहन अध्यन गरिनुपर्छ, समग्रमा अध्ययन गरिनुपर्छ, तबमात्र परिपूर्ण नागरिक बन्न सकिन्छ ।
तर यो सिद्धान्तको कुरामात्र हुन् भन्नेहरूको जमात धेरै छ । प्रश्न नीरजा देवीको हो, जो लोग्नेबाट भिन्न भै यस गाउँमा बस्दै आएकी थिइन् । छोरा, छोरी र बुहारीमा एकछत्र शासन चलाइराखेकी थिइन् ।
माइलो र कान्छो छोरा आमाकै पदचिन्ह पछ्याइरहेका थिए भने बहिनी त आमाभन्दा पनि एक पाइला अगाडि थिइन् । यसो त यहाँ धेरै लेख्नु आवश्यक छैन तर कुरोको चुरो पत्ता लगाउनको लागि अलिकति व्याख्याले सहयोग दिन्छ ।
व्यक्तिको आनीबानी, व्यवहार क्षण कालको विन्दु हो जसमा परिणामको ख्याल गरिँदैन । ज्यामितीको बिन्दुमा लम्वाई र चौडाई सर्वथा हुन नै सक्दैन ।
यतिमात्र नभएर त्यो विन्दु कल्पनामा बाहेक अन्यत्र हुन सक्दैन । कागजमा हुने बित्तिकै त्यो अ–विन्दु बन्दछ । यही अवस्था वासनाको हो । वासनाको प्रभावबाट धर्म, राजनीति, इतिहास, काव्य, साहित्य कुनै अछुतो छैन । यानि वासनाको प्रभाव सबैमा छ । नकार्न सकिन्न । यस किसिमबाट सर्वोच्च बन्न पुगेको वासनालाई हेर्ने र व्यवहारमा लागू गर्ने प्रश्न नै सही साहित्य हो यस्तो लाग्न थालेको छ ।
स्वच्छ साहित्यको यही नै आशय हो । यस आशयसँग शब्द प्रयाप्त छ । जस्तो अद्भूत, विचित्र, अनौठो, निराला आदि । यी शब्दहरूमा मर्यादाको ध्वनि धेरै छ । वासना निरर्थक हो यो दावा गर्ने काम अग्रगामी होइन, मर्यादा नाघ्यो भने वासनाले दावानल ल्याउँछ ।
साँच्चै भन्ने हो भने जेठो छोरो बाहिर नोकरी गर्ने गथ्र्यो, श्राीमती पनि सँगै राख्थ्यो— मेरो कान्छो भाइको सहपाठी भएको र विवाहको लमि पनि बनेको हुँदा— त्यो रात हाम्रो बास त्यहाँ परेको हो । बरालिएको बहिनीलाई उसले नसम्झाएको होइन, त्यो वातावरणमा ‘एक्लो वृहस्पति’ न ठहरियो ऊ ।
आफ्नो शासनमा हस्तक्षेप भएको नीरजा देवी सहन्थिनन् । माहिलो काठमाडौँ पढ्न बसेको थियो, यता घरमा कान्छोले माइली भाउजूको भुँडी बोकाइदिएको रहेछ । आत्मीयता त्यस घरमा थिएन, थियो त वासनाको खेल कसले कति सफाइका साथ खेल्न सक्छ ।
त्यो घरको परम्परा जो मेरा लागि एकदम नवीन थियो । त्यसो भएको हुँदा धेरै वर्ष बिते पनि महत्वको साथमा अतीतको कडीलाई जोड्ने प्रयत्न गर्दैछु ।
मलाई नवीन लागे पनि यौवनको प्रश्न नवीन होइन, एकदम पुरातन हो । यसमा बहकिएकाहरूलाई गतिछाडा भनिन्छ ।
गतिछाडाहरू हरेक युगमा हरेक देशमा हुन्छन्, तिनीहरू आफैलाई महत्व दिने हुँदा दिलचस्पीको कारण पनि रहन्छन् । तर कहिल्यै यस्ता गतिछाडाहरूको महत्व भएन, पानीका फोका झैं बने जो देखा पर्छ र केही समयमै बिलाउँछ ।
समयको गतिमा डुबेर यस्ताहरू बिलाउन पुग्छन् । यिनीहरू दीर्घजीवी हुँदैनन् । क्षणिकको लागि बाँच्दछन् । यस किसिमबाट समाजका श्रमजीवी, व्यवहारिक मानिसहरूबाट यस्ता पृथक हुन्छन् र आफैँमा मस्त रहन्छन् । मस्त रहेको त्यस घरमा हामी पुग्दा कान्छो छोरा र माहिली बुहारी थिएनन् । तर माहिलो छोराले भने अर्की श्रीमती ल्याइसकेको थियो ।
बहिनीसँग छाडा किसिमले माहिलो दाइ जिस्किएको देख्दा नराम्रो लाग्यो । गाउँका अल्लारे केटाहरू कोही माइजू, काकी, दिदी, बैनी, भाउजूको नाता जोडी नाताको सीमा उल्लंघन गरेको मैले पाएँ । यो लेखन सत्य हो र सो को अभिव्यक्ति हो ।
हरेक ठाउँमा मानिस छन्, उमेरगत क्रममा जवान सबै हुन्छन् । जवानीको जोशमा होश राख्न सकिएन भने गहिरो खाल्डोमा खसिन्छ । मन परेकाहरूसँग लहसिनु कुनै आइतबार पर्खनु पर्दैनथ्यो त्यो घरमा । जेठो दाजुको स्वभाव फरक प्रकृतिको भएको हुँदा आँखाको कसिङ्गर बनेको थियो— सबैको ।
रजनीको जेठो दाजु र मेरो कान्छो भाइ सहपाठी थिए क्याम्पसमा पढ्दादेखिकै । वासनाको क्षेत्रमा मेरो पहिलो प्रत्यक्ष सम्पर्क थियो, प्रत्यक्ष शब्द म जुन समाजमा जन्मी हुर्किएको थिएँ यस्तो खुलापन थिएन ।
एकै घरमा हुर्किएकाहरू बीच पनि ठूलो भिन्नता थियो । वासनाको आँधीमा डुबुल्की लगाउनु पर्छ, वासनाको आँधीलाई वशमा राख्नु पर्छ भन्ने मान्यता राख्नेबीच एकता थिएन ।
संयोगले अनुभव बटुल्न म त्यो घरमा बास बस्न पुगँे । आफूले भोगेको, देखेको, सुनेको, महसुस गरी कल्पना गरेको कुरो न लेख्ने हो साहित्यमा ।
जीवनको भोगाई साहित्य हो । कसैले भोगलाई धेरै महत्व दिन्छ । त्यसै भएको हुँदा साहित्यको स्वाद पनि फरक फरक हुन्छ ! यस्तो साहित्यमा पाइन्छ, त्यसै भएको हुँदा साहित्य रसिलो हुन्छ, अकृत्रिम हुन्छ ।
आज वासनाको चर्चा छ चारैतिर । चारैतिर छ, यानि वासनालाई नकार्न सकिन्न यथार्थमा यो व्याप्त छ । यो वासनालाई अतिरञ्जित बनाउनेको कृपा हो । विशेष गरेर नारी यौवनलाई खेलौना ठान्ने विचारको ।
यो वर्तमानको मात्र कुरो हैन, स्वयं परमपिता बनेका ब्रह्माले आफ्नै छोरी सरस्वतीलाई पत्नी बनाउन पुगे । यतिमात्र हैन तिनै सरस्वतीकी कान्छी बहिनी इडा त पिंगला नै बनिन् ।
यसकारण वासनाको वशमा पर्ने कि वशमा राख्ने यो कुरोको टुङ्गो व्यक्तिको व्यवहारले लगाउँछ । कतिपय नैतिकताको पाठ सिकाउने महात्माहरू कम्मल ओढेर घ्यू पिउने गरेको पोल समय समयमा उदाङ्गिने गरेको पाइन्छ ।
उमेरको साथ साथै बढ्ने यौनेच्छालाई सामाजिक मान्यतामा नराख्नेहरूलाई नै चरित्रहीन भन्ने गरेको भान भयो मलाई । स्पष्ट छ यौवनको कारणले नै समाजमा चरित्रवान र चरित्रहीन संज्ञा बन्यो ।
यौवन यथार्थमा कसी हो सामाजिक मर्यादाको । मर्यादाको नामका केही कुण्ठित हुन पुगेको पनि पाइएको छ ।
यौवनको आँधीले उडाउँदा कतिपयले आत्महत्याको बाटो रोजेको पाइन्छ । यसको आँधीले बिग्रह ल्याउँछ, विभत्स निम्त्याउँछ ।
भाइको टीकाटालो निमित्त जाँदा बाध्यतावश त्यो घरमा बास बसिएको थियो । रातिपख कुराकानी हुँदा, आँखा र कान सजग हुँदा मैले लगाएको अनुमानलाई रजनीको झम्टाइले पुष्टि गरिदियो ।
त्यो परिवार वासनाको आँधीमा पूर्णत डुब्नुमा नीरजा देवीको हात छ । यसो भनौं अभिभावकले गति छाड्यो भने बालबच्चाहरू मुस्किलले सप्रिन्छ ।
वासना नूतन होइन सनातन हो । यसको वशमा परेकाहरू सामाजिक मान्यतामा चरित्रहीनको स्थानमा पर्छन् । केही कुख्याती नाम औँलामा गनाइन्छ । जो क्षणाधीन थिए, तिनीहरू चरित्रवानको रूपमा पर्नै सक्दैनन् ।