काठमाडौं । २५६९ औँ बुद्ध जयन्तीको अवसरमा आज देशभरका बौद्ध तीर्थस्थलहरूमा बिहानैदेखि दर्शनार्थीहरूको ठूलो भीड लागेको छ। काठमाडौं उपत्यकाका बौद्धनाथ, स्वयम्भूनाथ क्षेत्र लगायत देशभरका विभिन्न बौद्ध स्तुपाहरूमा भक्तजनहरूको उल्लेख्य उपस्थिति देखिएको छ। काठमाडौंका स्वयम्भू र बौद्ध जस्ता प्रमुख बौद्ध गुम्बाहरूमा पनि बिहानैदेखि दर्शनार्थीहरूको घुइँचो लागेको छ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाको दिन मनाइने बुद्ध जयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा, आराधना र प्रवचन गरी मनाइँदैछ। सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण गर्दै यो पर्व मनाउने गरिएको हो। बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाल लगायत विश्वभरका बौद्ध धर्मावलम्बीहरूले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्ति प्रकट गर्दै बुद्ध जयन्ती मनाउने गर्दछन्।
ईसापूर्व ५६३ अर्थात् आजभन्दा २५६९ वर्षअघि रुपन्देही जिल्लाको लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाको दिन सिद्धार्थ गौतमको जन्म भएको थियो।