arrow

शक्ति सञ्चय बिनाको राजावादी आन्दोलन 

logo
खेमराज तिम्सिना,
प्रकाशित २०८२ जेठ ३ शनिबार
khemraj-timsina-82-2-3.jpg

नेपालमा राजतन्त्र फर्काउने भन्दै गरिएका पछिल्ला गतिविधिहरुलाई सूक्ष्मरुपले दृष्टिगत गर्दा पछिल्लो घटनाक्रम अनुरुप गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्रबाट जारी  शुभकामना सन्देश पश्चात नेपाली राजनीतिमा निक्कै ठूला घटनाक्रमहरू चलिरहेका छन्  । 

यस्तै घटनाक्रमको परिवेश अनुरुप अवसरको अगेनुमा स्वार्थको रोटी सेक्नेहरुको कमी पनि छैन । यस्तै ब्यक्तिहरुको भीडमा आफूलाई  राजावादी कहलाउनेहरुको  मनोबल बढ्नु स्वभाविकै हो । परिवेश अनुरुप राजाको विश्वासपात्र बन्न तँछाडमछाडको स्थिति पैदा भएको परिवेशले प्रमाणित गरिदिएको छ ।

रातारात समितिहरू बन्नुले मानौँ भोलि बिहानै जन्ति लिएर बेहुला आउँदै गर्दा बेहुलाको स्वागतमा अगाडि को  जाने भन्ने रस्साकस्सी नै नचलेको पनि  होइन । राजावादीका नाममा ढोल बजाउनेहरू राजा आउँछन् कि क्याहो भन्दै आफैँ अग्रसर हुनु र  उता राजनीतिक दलकै रूपमा स्थापित बन्न खोजिरहेको राजेन्द्र लिङ्देनको राप्रपाले सबै राजावादीहरूलाई एकढिक्का बनाएर अगाडि बढ्नुपर्ने जिम्मेवारी राप्रपाको हो भन्ने जनताको भावना थियो ।

तर राप्रपा पनि राजा आए भने भाग खोज्न  म नै अध्यक्ष हुँ  म नै नेतृत्व गर्छु भन्दै लिङ्देन अगाडि सरेका छन् । शक्ति सञ्चय गर्दै शक्तिलाई संघर्ष र आन्दोलनबाट श्री  प्राप्ति गर्नुपर्ने बेलामा गणतन्त्रवादीको निशानामा परेका मेडिकल ब्यवसायी दुर्गा प्रसाईको कार्यक्रम गणतन्त्रवादीहरूले एक हदसम्म दबाउन सफल भए ।

सो कार्यक्रम केही हदसम्म सफल भएपछि पुन: राप्रपामा उत्साह जागेको छ । देशमा ब्याप्त भ्रष्टाचार, अन्याय, अत्याचार, बेथिति र  विसंगति जस्ता विषयले सीमा नाघेपछि आक्रान्त बनेका जनताहरू सयौँ राजा भन्दा एक राजा नै ठीक भनेर आन्दोलन कसले गर्ने भन्दा पनि वितृष्णाका आवाजहरुले सडकमा साथ दिइरहेका छन् । देशको वर्तमान अवस्थामा दुई धार (राजावादी र गणतन्त्रवादीहरु) छुट्टिनु अपरिहार्य भैसकेको छ ।

तर पनि ०६२/६३ को आन्दोलनमा स्थापित गणतन्त्र सँगसँगै राजावादीको रूपमा स्थापना भएको राप्रपाबाट राजसंस्था स्थापना गर्ने आन्दोलन निष्कर्षसम्म पुग्ला त ? प्रश्न यहाँनेर  अडिएको छ । अर्कोतर्फ  राप्रपाले अन्य राजावादी ब्यक्ति तथा संघ संगठनहरूको अस्तित्व स्वीकार नगर्नु, राजावादी एजेन्डा आफ्नो मात्र ठान्नु, प्रहरीको दवावसँग प्रतिकार गर्ने हिम्मत नभएपछि निषेधित क्षेत्र तोड्छौँ भन्ने कार्यकर्ता सडकमा पठाएर आफूहरु  सिंहदरबारमा प्रहरी  बोलाएर  गिरफ्तारीको नाटक गर्नु जस्ता कारणले राप्रपा साँच्चै आफ्ना  एजेन्डाहरु  स्थापित गर्न चाहन्छ कि जनताको भावनालाई सडकमा चटक देखाएर ८४ को निर्वाचनमा मत बटुलेर यही राज्यसत्ता भित्र रहेर शक्ति सञ्चय गर्दै सत्ताको स्वादमा रमाउन चाहेको त होइन ?

राप्रपाको इतिहास हेर्ने हो भने जस्तोसुकै सम्झौता गरेर वा पार्टी नै फुटाएर भए पनि गणतन्त्रवादी शक्तिहरुसँग मिलेर चुनाव लडेको र सत्ता साझेदार रहेको कुरा नेपाली जनतालाई सुनाइरहनु नपर्ला ।
 
 चैत १५ गतेको दुर्गा प्रसाईंको सभा विथोल्न सरकार सफल भएपछि राप्रपा खुशीले गदगद छन् । राजसंस्था स्थापनाको लागि संघर्षरत एउटा ठूलो सहयात्री शक्तिका प्रमुख दुर्गा प्रसाईं पक्राउको विषयमा राप्रपाले जुन भुमिका खेल्नु पर्थ्यो त्यो किन गर्दैन ? 

अहिले भन्दैछन् राजसंस्था स्थापना गर्न राप्रपामा जौडिनुस् भन्ने राप्रपाको आह्वानबाट राप्रपामाथि नेपाली जनताले शंकाको घेरामा हेरिरहेका छन् । 

राप्रपाभित्र पंचायतकालदेखि अरूको अस्तित्व स्वीकार गर्न नसक्ने मण्डले प्रवृत्तिले जरा गाडेर बसेको छ ।

जसका कारण स्थापना कालदेखि अहिलेसम्म आइपुग्दा पनि देशभर सँगठन निर्माण गर्न सकेको छैन । नेपाली जनता राप्रपाप्रति आकर्षित नभएका भने होइनन् ।

जो आउँछ ऊ  पाहुना जस्तो आउँछ टिक्न सक्दैन र जान्छ ।

तपाईंले आफ्नो  गाउँघरतिर हेर्नुभएकै होला, राप्रपामा कति मान्छेहरू पार्टी प्रवेश गरे  तर पनि पाहुना जस्तो आउँछ्न् जान्छ्न् ।

राप्रपामा जो छन् स्थापना कालदेखि त्यहीँ छन् । किन यस विषयमा पार्टीले जिम्मेवारीका साथ सोचेकै छैन । 
 
बरू अझ भोलिका दिनमा नेतृत्व लिएर आफ्ना एजेन्डाहरु स्थापित गर्न सक्ने नेतृत्वलाई पाखा लगाउने वातावरण सृजना गरिँदैछ । जसको ज्वलन्त उदाहरण हो केही समय अगाडि केन्द्रीय समितिको बैठकमा धनबहादुर बुढाले धवलशम्शेर राणालाई हिजो कुन पार्टीबाट आउनु भएको हो भनी सोधेको प्रश्न कोशी प्रदेश सभामा राप्रपा सभासदले राजसंस्थाको विषय उठान गर्नसाथ गणतन्त्रवादीले विरोध जनाए पश्चात् पश्चातकै नेता सभामुख रहँदा पनि दुई मिनेटमै उक्त भनाइ रेकर्डबाट हटाउन लगाउनु जस्ता कुराले प्रष्ट हुन्छ ।

के राप्रपामा अन्य पार्टीबाट आउनै नपाउने, आए नेतृत्वमा बस्नै नहुने, विचार र दृष्टिकोण लिएर आउन नहुने, मतदाता मात्र भएर आउनु  पर्ने हो ?
 
यस्तो चरित्र बोकेका मान्छे राप्रपामा रहेपछि यो व्यवस्था विरोधी राजावादीहरूमा अन्योलपूर्ण वातावरण सृजना भएको छ । यस्तो अवस्था रहेता पनि राप्रपाले राजसंस्था स्थापनाका साथै गणतन्त्रको अन्त्य गर्न आइपर्ने समस्यामाथि जुध्न सक्छ ?  उत्तर जटिल छ ।
 
भोलिका दिनमा आइपर्ने समस्याहरू, गणतन्त्र स्थापना गर्न र गरिसकेपछि दातृ राष्ट्रहरूले गर्दै आएका सहयोगहरू रोकिने संकेत देख्दै हुनुहुन्छ । जसका कारण अब यी गणतन्त्रवादीहरू कमजोर हुन्छन् भन्ने हामीमा भ्रम सृजना हुँदैछ । त्यो केवल हामीभित्र उब्जिएको भ्रम मात्र हो । 

अहिले हाम्रो देशमा भाषा, धर्म, संस्कृति र परम्परामाथि भइरहेको प्रहार भने रोकिन्न जसको आडमा नेपालमाथि ठूल्ठूला चलखेलहरू भइरहेका छन् । मानव सभ्यताकै इतिहास बोकेको हिन्दू सभ्यता समाप्त पारेर आफ्नो  धर्म स्थापित गर्नका लागि विश्वका शक्ति राष्ट्रहरू लागेका छन् । राजावादीहरूको आन्दोलन  बढ्दै गएको खण्डमा  हिजो माओवादीको आन्दोलनताका देशमा भएका जातीय, वर्गीय, धार्मिक, क्षेत्रीय, भाषीय समुदायहरू र अहिले रहेका गणतन्त्रवादी दलहरू सबै विदेशीको विश्वासिलो पात्रका रूपमा हतियारसहित राजावादीहरूमा खनिने सम्भावना देखिन्छ ।

यस्तो परिस्थिति सृजना हुने अवस्थामा सबै राजावादीहरूलाई पाखा लगाएर राप्रपाले के एक्लै आन्दोलन सफल बनाउन सक्ला ? जसले ३३ वर्षको राजनीतिक यात्रामा देशभर दर्विलो संगठन निर्माण गर्न सकेको छैन । 

बारम्बार नेपाली जनताले राप्रपालाई सहयोग गर्न नखोजेका पनि  होइनन् । आफ्नै कारण राप्रपा अलिक शक्तिशाली बन्न खोज्दै गर्दा बारम्बार पार्टी फुटाएर टुक्रा-टुक्रा भएका इतिहास हामीले छर्लङ्ग देखेका छौँ ।

त्यसैको परिणाम हो अहिले सबै राजावादीहरूलाई एकै ठाउँ नसमेटी हतारमा आन्दोलन घोषणा गर्नु । राप्रपाले सबै किसिमका राजावादीहरूलाई एक ढिक्का बनाउन नचाहनु, अर्कोतर्फ राप्रपा एक्लैले आन्दोलन गर्छु भन्दै अगाडि सर्नुले राप्रपालाई शंका गर्ने प्रशस्त ठाउँहरू छन् । 

के अब सबै राजावादीहरू र गणतन्त्र विरोधीहरू राप्रपाले उनीहरूको दक्षताका आधारमा प्लेटफार्म नदेखाए पश्चात् राप्रपाले देखाएको चौरीमा बसेर पार्टीको झण्डासँगै ताली पड्काउन सामेल होलान् त ?
 
अवस्था परिवर्तन गर्न  जति सहज हुन्छ तर ब्यवस्था परिवर्तन गर्ने विषय त्यति सहज होइन । राजावादीहरूले व्यवस्था परिवर्तनलाई सहज रूपमा हेरेको जस्तो देखिन्छ । उनीहरूको भित्री तयारी पनि खासै देखिन्न । 

२०४६ सालमा कांग्रेस कम्युनिस्ट एक भएर सफलता हात पार्न, ०६२/६३ मा कांग्रेस र एमाले मिलेर आतंककारी घोषणा गरेको माओवादीलाई साथमालिएर आन्दोलन सफल पार्न, आफ्नो उद्धेश्य प्राप्तिका लागि जस्तोसुकै सम्झौता र सहमति गर्न सक्नुपर्छ भन्ने कुरा राजावादीहरूले बुझ्न नसक्नु उनीहरूका लागि त घातक सिद्ध हुन्छ नै यसका अलाबा देशको अवस्थासमेत अझ जटिल बन्दै अस्तित्व नै संकटमा नपर्ला भन्न सकिन्न ।

यदि व्यवस्था  परिवर्तन गर्ने हो भने महाकुम्भमा भेला हुने साधु जस्तो कार्यकर्ता होइन, दौडका लागि मैदानमा उतारिएका घोडा अथवा बन्दुकको नालबाट निस्किएको गोलीको रफ्तार भएका कार्यकर्ता जन्माउनु पर्दछ । जसले आ-आफ्नो ठाउँबाट पूर्ण निपूर्णताका साथ आफ्नो जिम्मेवारी पूरा गर्न सकुन् ।
 
यस्तो परिस्थितिमा पनि आफूलाई सच्चा राजावादी र राजावादीको एजेन्डा आफ्नो निजी एजेन्डा सम्झने राप्रपामाथि शंका उब्जन थालेका छन् । के राप्रपाले उठाएका एजेन्डालाई   राप्रपाले स्थापित गर्न चाहन्छ ? कि गणतन्त्रवादीको कार्यशैलीबाट असन्तुष्ट पक्षहरू जतासुकै छताछुल्ल देखिन थालेपछि उनीहरूको भावनालाई पोख्ने वातावरण निर्माण गर्दै भोलिका  निर्वाचनमा असन्तुष्ट पक्षहरूको मतलाई आफूले लिएर यही व्यवस्थाभित्र एउटा दरिलो राजनीतिक शक्ति स्थापना गर्दै यही व्यवस्थाभित्र रमाउन खोजेको आभाष राप्रपाले गरेका क्रियाकलापबाट शंका गर्न सकिन्छ ।

सबै राजावादीहरूलाई पाखा लगाएर आन्दोलनको नाम दिने अनि भोलि व्यवस्था परिवर्तन सम्भव नभए हामीले प्रयत्न गरेकै हो तपाईंहरूले साथ दिनु भएन भन्दै यही व्यवस्थामा मुठ्ठी भरका मान्छेहरू रमाउने प्रयत्न कतै राप्रपाको दाउपेच त होइन ?

देश र जनताले परिवर्तन अवश्य खोजेका छन्, परिवर्तन संभव छ । तर अन्याय, अत्याचार, वेथिति, विसंगति, भ्रष्टाचार, व्यवस्था परिवर्तन नगरी देश र जनताको अवस्था परिवर्तन संभव छैन भन्ने शक्तिहरूलाई एक ढिक्का बनाएर देशभर व्यवस्था परिवर्तनका लागि नागरिक जागरण अभियान सञ्चालन हुन जरूरी छ । 

काठमाडौँमा ५-१० हजार मानिस भेला भएरमात्र परिवर्तन सम्भव छैन । त्यसैले उपत्यका केन्द्रित कार्यक्रम गर्दा कम्तीमा १० लाख नागरिकहरु सडकमा आउन सकुन् र गाउँगाउँमा सँगसँगै व्यवस्था विरोधी आन्दोलन सञ्चालन गर्न सकियोस् । 

यसका लागि नेपाली जनतालाई विश्वास लाग्ने अहिले देखिएका स्वतन्त्र रहेका र पार्टी भित्र रहेका जो सामाजिक संजालमा छरपस्ट रुपमा प्रस्तुत हुनेहरु सबै मिलेर भनेजस्तै देश बनाउन एक ढिक्का हुनुपर्छ ।
 
नत्र सस्तो लोकप्रियताका लागि सामाजिक सञ्जालमा बोल्नुको कुनै अर्थ छैन । समृद्ध राष्ट्र बनाउन एउटा टिम बनाउनु पर्छ । शक्ति सञ्चय नगरी गरिने कुनै पनि आन्दोलन निर्णायक हुँदैनन् ।

यदि देश बचाउने हो भने पार्टी छोडेर सबै जना राष्ट्रिय झण्डा मुनि गोलबन्द हुनु पर्दछ । स्वाधिनताको रक्षा, स्थिर सरकार, रोजगारीको अवसर, भ्रष्टाचारमुक्त देश, स्वतन्त्र न्यायपालिका, शिक्षा, स्वास्थ्यमा सामान्य नागरिकको पहुँच जस्ता संवेदनशील विषयमा जनताप्रति उत्तरदायी बन्न नसक्दा राजनीतिक दलको रूपमा रहनु र नरहनुको कुनै औचित्य  रहँदैन । (तिम्सिना राष्ट्रिय प्रजातन्त्र पार्टी कोशी प्रदेश झापा क्षेत्र नं ५ का  निवर्तमान क्षेत्रीय उपाध्यक्ष हुन्)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ