arrow

हुम्लाको लिमी उपत्यकाको तील गाउँ हिम पहिरोको उच्च जोखिममा, दुई हिमताल फुटेको आशंका

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ४ आइतबार
District-61-Humlat-hamrakura.jpg.jpeg

हुम्ला। हुम्लाको लिमी उपत्यका अन्तर्गत पर्ने तील गाउँ हिम पहिरोको उच्च जोखिममा परेको छ। बुधबार रातिको बाढीको कारण पत्ता लगाउन माथिल्लो तटीय क्षेत्रमा पुगेका सुरक्षाकर्मीसहित स्थानीय टोलीले सिरानमा रहेका दुई हिम पोखरी फुटेको आशंका गरेका हुन्।

केन्द्र र स्थानीय सरकारले चार दिनसम्म बाढीको कारण पत्ता लगाउन चासो नदिएपछि नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्चोर तामाङ केही स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा थाक्रा पुगेका थिए। अध्यक्षसहितको टोली पहिरोको कारण खोज्दै ८ घण्टा पैदल दूरी पार गर्दै ५ हजार ३ सय मिटरको उचाइमा रहेको थाक्रा पुगेको हो। हिल्सास्थित सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका १० जनासहित स्थानीय उच्च स्थानमा रहेको थाक्रा पुगेका हुन्। लिमीमा कुनै पनि सुरक्षा निकायको स्थायी उपस्थिति छैन। उनीहरू दक्ष प्राविधिक टोली र उपकरणबिना नै उच्च स्थानमा पुगेका हुन्।

पहिरोका कारण गाउँ पुग्ने सबै संरचना तहसनहस भएको छ। बाढीले गाउँलाई तीनतिरबाट कटान गरिरहेको छ। १९ घरपरिवारका ३३ जना बसोवास गर्दै आएको तील गाउँमा बुधबार राति लेदोसहितको बाढी आएको थियो। पहिरोले हाल्जी र हिल्सातर्फको बाटो र पुल भत्काएको छ। सेखाङलुङबा खोलामा आएको बाढीले बस्तीतर्फ र तिल्जुङ्गखोलामा आएको बाढीले विद्युतीय पावरहाउस भत्काउनुका साथै हिल्सा जाने बाटो भत्काएको छ। त्यस वरपरका अन्य संरचना पनि भत्किएका छन्। पहिरोले बाटो भत्काएर पोखरी जस्तो दह बनाएको वडा नम्बर ६ का पाल्जोर तामाङले जानकारी दिए।

उनले भने, ‘जोखिम बढेको छ। केन्द्रीय सरकारले समयमा उद्धार गरेन भने जे पनि हुन सक्छ।’

वडानम्बर ६ स्थित थाक्रामा रहेका दुईवटा चर्किएको जस्तो देखिने तालको संरचना देखाउँदै तील गाउँका स्थानीयवासी कुञ्जोक फुर्बु लामा भन्छन्, ‘हामी ५ जना माथि यो तालसम्म आएका छौं। घटनास्थल तील गाउँबाट यहाँ आइपुग्न ८ घण्टा लाग्यो। अहिले हामी ५ हजार ३ सय उचाइमा छौं। यहाँ दुईवटा हिमताल रहेछन्। माथि बरफ (हिउँ) को तल पानी रहेछ। त्यो पानी जमिनमुनिबाट निस्केर तल गएको देखियो। त्यही पानीले घटना गराएको रहेछ भन्ने हामीलाई लागेको छ।’

हुम्लाको नाम्खा गाउँपालिकाभित्र लिमी उपत्यकामा पर्ने तील गाउँ सबैभन्दा विकट गाउँ हो। यो गाउँमा समय समयमा यसअघि पनि हिउँ पहिरो आउने गरेको थियो। मनसुनपूर्वको यो बाढी र कटानले गाउँ नै बगेर जाने जोखिम देखिएको छ



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ