arrow

निसानद्वारा कर्मचारीका लागि शीघ्र अवकाश योजना घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
nissan_logo.jpg

काठमाडौँ । जापानको प्रमुख अटोमोबाइल कम्पनी निसान मोटरले जापानमा कार्यरत प्रशासनिक कर्मचारीहरूका लागि आगामी जुलाई महिनादेखि शीघ्र अवकाश योजना लागू गर्ने भएको छ।

स्थानीय सञ्चार माध्यमहरूले आइतबार जनाएअनुसार कम्पनीले विश्वव्यापी रूपमा करिब २० हजार कर्मचारी कटौती गर्ने बृहत् योजना अन्तर्गत यो कदम चालेको हो। यस योजनामा अवकाश लिन इच्छुक कर्मचारीहरूलाई आफ्नो नाम दर्ता गर्न आह्वान गरिनेछ।

जापानी अटोमेकर निसानले यसअघि नै बिक्री र लेखा विभागमा कार्यरत लक्षित कर्मचारीहरूलाई प्रारम्भिक सेवानिवृत्ति प्याकेजहरूबारे जानकारी गराइसकेको छ। क्योदो न्यूजले यस विषयमा जानकार स्रोतलाई उद्धृत गर्दै भनेको छ, “यो योजना मुख्यतया बिक्री र लेखामा कार्यरत कर्मचारीहरूलाई लक्षित हुनेछ भने विकास र उत्पादन विभागका कर्मचारीहरूका लागि यो योजना त्यति आकर्षक नहुन सक्छ।”

कम्पनीले ४५ देखि ६४ वर्ष उमेर समूहका कर्मचारीहरूलाई समेट्ने यो योजना आगामी जुलाई र अगस्ट महिनामा उपलब्ध गराउने जनाएको छ। तर, कति संख्यामा अवकाशका लागि आवेदन स्वीकार गरिनेछ भन्ने बारेमा भने कम्पनीले कुनै जानकारी दिएको छैन।

हाल कमजोर बिक्रीको सामना गरिरहेको जापानको तेस्रो ठूलो अटोमेकर निसानले गत मंगलबार आर्थिक वर्ष २०२४ मा ६ खर्ब ७० अर्ब ८० करोड येन (करिब ४ अर्ब ५४ करोड अमेरिकी डलर) को ठूलो खुद घाटा बेहोरेको प्रतिवेदन सार्वजनिक गर्दै पुनर्संरचनाका उपायहरू घोषणा गरेको थियो।

आर्थिक वर्ष २०२७ सम्ममा आफ्नो विश्वव्यापी कर्मचारी संख्यामा करिब १५ प्रतिशतले कटौती गर्ने लक्ष्य लिएको योकोहामास्थित अटोमेकरले सोही अवधिमा विश्वभर रहेका आफ्ना सवारी उत्पादन प्लान्टहरूलाई १७ बाट १० मा झार्ने योजना पनि सार्वजनिक गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ