मध्यपहाडी लोकमार्ग अभियान राष्ट्रको अभियान -प्रचण्ड
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
584
Shares
दैलेख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दैलेखको भगवतीमाई गाउँपालिकालाई विशेष सम्मान प्रदान गरेका छन्।
७५३ स्थानीय तहमध्ये उत्कृष्ट ‘छ’ मा पर्न सफल भगवतीमाई गाउँपालिकाका प्रमुख गणेशबहादुर थापा र उपाध्यक्ष मीना थापालाई अध्यक्ष दाहालले कदरपत्रद्वारा सम्मानित गरेका हुन्। गाउँपालिका अध्यक्ष थापा माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् भने उपाध्यक्ष थापा नेपाली कांग्रेसबाट निर्वाचित भएकी हुन्।
यसैगरी, गाउँपालिकामा उल्लेखनीय कार्यसम्पादन गरेको भन्दै नायब सुब्बा (नासु) प्रेमबहादुर खड्कालाई पनि सो अवसरमा अध्यक्ष दाहालले सम्मान गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मध्यपहाडी लोकमार्ग अभियानको उद्देश्य, यसको राष्ट्रिय महत्त्व र अभियानको क्रममा देशभर प्राप्त भएको जनसमर्थनबारे चर्चा गरे। उनले भने, “यो अभियान अब कुनै एक पार्टीको मात्र नभई सिङ्गो राष्ट्रकै साझा अभियान बनिसकेको छ।”
उक्त सम्मान कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, कर्मचारी, नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।