कुनैपनि धर्मलाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्नु हुँदैन- गृहमन्त्री लेखक [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ५ सोमबार
510
Shares
काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि धर्मलाई आफ्नो राजनीतिक उद्देश्य पूरा गर्नका लागि प्रयोग गर्न नहुने स्पष्ट पारेका छन्।
प्रतिनिधि सभामा सांसदहरूले उठाएका जिज्ञासाहरूको जवाफ दिँदै गृहमन्त्री लेखकले धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका लागि प्रयोग गर्न नमिल्ने बताए। उनले धार्मिक आडमा आपराधिक गतिविधि र राजनीतिक स्वार्थ पूरा गर्ने कार्य अस्वीकार्य हुने धारणा व्यक्त गरे। कुनै पनि धर्म उत्कृष्ट वा अनुत्कृष्ट नहुने भन्दै उनले हालै तीनकुनेमा भएको आगजनी र हिंसा जस्ता आपराधिक कार्यलाई कुनै पनि धर्म वा आस्थासँग जोडेर हेर्न नमिल्ने बताए। हिन्दू धर्मले अहिंसा, शान्ति र बन्धुत्वमा विश्वास गर्ने उल्लेख गर्दै तीनकुने घटनामा त्यो आदर्श र दर्शन नदेखिएको उनको भनाइ थियो।
गृहमन्त्री लेखकले भने, ‘कुनै पनि धर्मलाई आफ्नो राजनीतिक अभिष्ट पूरा गर्नका लागि प्रयोग गर्नु हुँदैन। कुनै पनि धर्मलाई असहिष्णु, अराजक र अपराधजन्य कार्यका निमित्त प्रयोग गर्नु हुँदैन। धार्मिक आवरणमा अपराधजन्य काम र राजनीतिक अभिष्ट पूरा गर्ने काम गर्नु हुँदैन। कुनै पनि हिंसात्मक घटनालाई धर्मको आवरणमा उन्मुक्ति दिन मिल्दैन। कुनै धर्म उत्कृष्ट र कुनै धर्म अनुत्कृष्ट भन्ने होइन। तीनकुने घटनामा भएको आगजनी र हिंसा अपराध कर्म भएकाले उक्त कार्यलाई कुनै धर्म र आस्थासँग जोडेर हेर्न मिल्दैन। हिन्दू धर्मले अहिंसा, शान्ति र बन्धुत्वमा विश्वास गर्दछ। त्यो दर्शन र आदर्श तीनकुनेमा देखिएन। हिंसालाई धर्मसँग जोड्न सकिँदैन। तीनकुनेमा गरिएको राजतन्त्र वकालतको विषय नेपालको संविधान विपरीत छ। जसलाई कुनै पनि विषयमा उचित मान्न सकिँदैन।’
गृहमन्त्री लेखकले तीनकुनेमा भएको राजतन्त्रको वकालत नेपालको संविधान विपरीत भएकोले कुनै पनि हालतमा स्वीकार्य नहुने बताए।