arrow

भोजपुरको कैलाश पर्वत र हरित पहाड पर्यटकीय गन्तव्य बन्दै, संरक्षण थालियो

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ६ मंगलबार
kailash-harit.jpg

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारमा अवस्थित सुन्दर पर्यटकीय क्षेत्र ‘कैलाश पर्वत र हरित हिल’ को संरक्षण तथा विकास थालिएको छ। यी रमणीय स्थललाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले स्थानीय स्तरमा काम अघि बढाइएको हो।

वडाध्यक्ष कुमार थापाका अनुसार कैलाश पर्वत र हरित हिललाई प्रमुख पर्यटकीय आकर्षण बनाउने योजनाअनुरुप काम भइरहेको छ। कैलाश डाँडाको संरक्षणका लागि पदमार्ग निर्माणसँगै आवश्यक पूर्वाधारहरू तयार गरिँदै छन्। यसैगरी, कैलाश डाँडाबाट नजिकै रहेको हरित हिलसम्म पुग्न सहज होस् भनेर पदमार्ग निर्माण कार्य जारी छ। प्रदेश सरकारबाट प्राप्त पाँच लाख रुपैयाँ बजेटबाट कैलाश पर्वतसम्म पुग्ने पदमार्ग निर्माण भइरहेको वडाध्यक्ष थापाले जानकारी दिए।

स्थानीय कैलाश पर्वत, हरित हिल, गौरीशङ्कर मन्दिर र सिंहदेवी मन्दिरलाई एकीकृत गरी एउटै पर्यटकीय क्षेत्र बनाउने लक्ष्य राखिएको छ। पर्यटकहरूलाई आकर्षित गर्न वडा कार्यालय नजिकै १० लाख रुपैयाँको लागतमा बाल उद्यान समेत निर्माण गरिएको छ।

स्थानीयवासी टेकबहादुर बस्नेतले वडा कार्यालयले कैलाश पर्वत र हरित हिललाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न थालेको कामले आफूहरू उत्साहित भएको बताए। कैलाश पर्वतसँगै गौरीशङ्कर र सिंहदेवी मन्दिर रहेकाले यस ठाउँको धार्मिक तथा प्राकृतिक महत्व उच्च रहेको उनको भनाइ छ। "स्थानीय सरकारले गरिरहेको काम साँच्चै राम्रो छ," उनले भने, "कसैको ध्यान नपुग्दा यी ऐतिहासिक ठाउँहरू संरक्षणविहीन थिए। अब यी क्षेत्रको विकासपछि यहाँ आन्तरिक र बाह्य पर्यटकको चहलपहल बढ्ने आशा गरेका छौँ।"

बस्नेतका अनुसार कैलाश पर्वत र गौरीशङ्कर मन्दिरमा वर्षको एक पटक ठूलो मेला लाग्छ, जहाँ स्थानीयका साथै छिमेकी जिल्लाबाट पनि दर्शनार्थीहरू आउने गर्छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ