मधेस प्रदेशमा निर्जीवन बिमाबाट दुई अर्ब १५ करोड सङ्कलन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
673
Shares
वीरगञ्ज (पर्सा)। नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालयले चालु आर्थिक वर्षको पहिलो नौ महिना (साउनदेखि चैतसम्म) मा निर्जीवन बिमातर्फ २ अर्ब १५ करोड ७६ लाख रुपैयाँ बिमा शुल्क सङ्कलन गरेको छ। सोही अवधिमा निर्जीवन बिमातर्फ जारी बिमालेखको सङ्ख्या २ लाख ५९ हजार ४७५ रहेको छ।
निर्जीवन बिमातर्फ ७ हजार १२४ वटा दाबीबाट १ अर्ब ६० करोड २६ लाख रुपैयाँ भुक्तानीको माग गरिएको थियो। जसमध्ये कार्यालयले ५ हजार ५८५ दाबीका लागि १ अर्ब ८ करोड ४३ लाख रुपैयाँ भुक्तानी गरिसकेको जनाएको छ।
नेपाल बिमा प्राधिकरण मधेस प्रदेश कार्यालय प्रमुख प्रीति देवले मधेस प्रदेशमा पर्याप्त जनचेतनाको अभावका कारण बिमाप्रति सर्वसाधारणको आकर्षण अपेक्षाकृत रूपमा बढ्न नसकेको गुनासो गरिन्। उनले भनिन्, “हामीले बिमासम्बन्धी साक्षरता अभियान सञ्चालन गर्दै आइरहेका छौँ। आगामी दिनमा बिमाको पहुँच अभिवृद्धि हुनेमा आशावादी रहेका छौँ।”
कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा जीवन बिमा शुल्कबापत ११ अर्ब १६ करोड ७९ लाख रुपैयाँ सङ्कलन गरेको छ। यस अवधिमा मधेस प्रदेशमा ८६ हजार ६ सय ७० वटा जीवन बिमालेख जारी भएका छन्।
जीवन बिमा शुल्क सङ्कलनमा मधेस प्रदेशको हिस्सा ९.२४ प्रतिशत रहेको छ। चैतसम्ममा जीवन बिमातर्फ १७ हजार २६८ दाबीबाट २ अर्ब ५४ करोड ६० लाख रुपैयाँ दाबी भुक्तानी गरिएको छ। गत आर्थिक वर्षभरिमा भने जीवन बिमातर्फ २१ हजार ९०४ दाबीबाट २ अर्ब ८७ करोड ७४ लाख रुपैयाँ भुक्तानी गरिएको थियो।