गृहमन्त्री लेखकको चुनौती: 'एउटा अनियमितता प्रमाणित भए राजनीति छाड्छु' [भिडियो]
आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले झूटो प्रचारबाजी भइरहेको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
718
Shares
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध एउटा मात्रै आर्थिक अनियमितता प्रमाणित भए राजनीतिबाटै राजीनामा दिने घोषणा गरेका छन्। सिंहदरबारमा शनिबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले झूटो प्रचारबाजी भइरहेको दाबी गरे।
उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्र नभई आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा कहिल्यै कुनै आर्थिक अनियमितता नगरेको स्पष्ट पारे। यदि कसैले एउटा मात्रै पनि आर्थिक अनियमितता प्रमाणित गर्न सकेमा आफू पदबाट मात्र नभई राजनीतिबाटै राजीनामा दिने उनले बताए।
गृहमन्त्री लेखकले आफूमाथि उठेका प्रश्नबारे १३ गते प्रतिनिधिसभामा समय मागेको र सोही बेला विस्तृत जानकारी गराउने बताए। उनले गृह मन्त्रालयमा लाखौं कर्मचारी रहेको र कर्मचारीमाथि प्रश्न उठ्दैमा मन्त्रीहरूले राजीनामा दिँदै जानु सम्भव नहुने पनि स्पष्ट पारे।
उनले भने, "मेरा विरुद्धमा नियोजित र षड्यन्त्रमूलक ढंगले झूटो प्रचारबाजी भइरहेको छ। म सबैलाई के आग्रह गर्न चाहन्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको भिजिट भिसाको विषय मात्रै होइन। मेरो सार्वजनिक जीवनमा, राजनीतिक जीवनमा यदि एउटा मात्रै पनि मैले आर्थिक अनियमितता गरेको कसैले प्रमाणित गर्यो भने, प्रमाणित भयो भने म पदबाट होइन, राजनीतिबाट राजीनामा दिन्छु।"
उनले आफूविरुद्ध राजनीतिक, नियोजित र षड्यन्त्रमूलक ढंगले झूटो प्रचारबाजी भइरहेको दोहोर्याए।