रसुवा । पवित्र तीर्थस्थल गोसाइँकुण्डमा गंगा दशहरा पर्वको अवसरमा लाग्ने विशेष मेलाका लागि भक्तजनको आगमन शुरु भएको छ। जेठ १३ गतेदेखि शुरु हुने यो मेला जेठ २४ गते एकादशीसम्म चल्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ। यस वर्षको दशहरा पर्वमा करिब पाँच हजार भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने अपेक्षा गरिएको छ।
समुद्र सतहबाट ४,३८० मिटर उचाइमा अवस्थित यस कुण्डमा पुग्नका लागि काठमाडौँदेखि धुञ्चेसम्म मोटर यात्रा गरेपछि तिवारी बगर, खन्ति, देउराली, डिम्सा, चोलाङपाटी हुँदै पैदल यात्रा गर्नुपर्ने हुन्छ।
नेपाल प्रहरीका अनुसार, पतञ्जली योग समितिमार्फत आएका २५० भन्दा बढी भक्तजन आज बिहानै गोसाइँकुण्डतर्फ प्रस्थान गरिसकेका छन्। धार्मिक मान्यताअनुसार जीवनमा एकपटक पुग्नैपर्ने पवित्र तीर्थस्थल भएकाले भक्तजनहरू यहाँ आउने गर्छन्।
गोसाइँकुण्डमा वर्षको १५ दिन विशेष मेला लाग्ने गर्दछ, जसमा गंगा दशहरा पर्वमा १० दिन र जनैपूर्णिमा पर्वमा पाँच दिन मेला लाग्छ। बाह्रै महिना भक्तजनको आवतजावत भने निरन्तर रहन्छ। यात्रुहरूको बासस्थानका लागि ठाउँठाउँमा होटलहरू सञ्चालनमा छन्। कृषि वैज्ञानिक डा. ताराबहादुर घिमिरेका अनुसार, अनुपम प्राकृतिक छटाका कारण कुण्डमा जान सहज भएको छ।